Advertisement Banner
Advertisement Banner

०९ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

जनयुद्ध–धनयुद्ध, जनआन्दोलन धन–आन्दोलन

बैकुण्ठ भण्डारी

०८ मंगलबार , फाल्गुण २०८०९ महिना अगाडि

जनयुद्ध–धनयुद्ध, जनआन्दोलन धन–आन्दोलन

जनयुद्ध धनयुद्ध, जनआन्दोलन धनआन्दोलन रहेछ । दुबै युद्धले देखिएको मार्ग भनेको धनयुद्धको बाटो रहेछ ।
तीनकुनेबाट दक्षिण तर्फ देखिने  ढिस्को, आजकल त्यसलाई फ्रान्सको राजधानी पेरिस डाँडा भन्दारहेछन् ।
जनयुद्धमा जंगलको बास हुँदा सामन्तहरू भन्दै धेरैका हातखुट्टा भाँच्दै र गर्धन छप्काउँदै हिडेका ठूल्दाई अहिले सकी नसकी ठूल्भाउजुको सहाराले पेरिस जान नपाएपछि दिनकै पेरिस डाँडा धाईरहेका छन् । खल्च्याङ्ग खल्च्याङ्ग गर्दै ठूल्भाउजुको हात समाएर हिँडेको देख्दा कतिपय दयालुहरूले त बीस पचास रूपैयाँ पनि दिने गरेका छन् माग्ने ठानेर । 
तर, ठूल्दाई केका माग्ने हुन्थे र ? उनी त २ सय ४० बर्षिय शाहबंशीय राजतन्त्र ढाल्ने हिँडेका लडाकु पो हुन् ? आजकल पेरिस डाँडामा उपचारको खर्च खोज्दै आधुनिक सामन्तको पाउँ पर्न हिँडेको अरे भाउजुले भनेको । 
‘जंगलमासँगै बास भएका सहकर्मीहरू अहिले त्यही फान्सको डाँडामा चिल्ला मोटरगाडी चढेर आउँछन्, तर यी बुढालाई देखेर पनि नदेखेको जस्तै गर्छन्’ । ठूल्भाउजु आक्रोश पोख्छिन् । हेर्नुन मट्याङ्ग्रा बाबु, ‘यी बुढालाई नजाऊ न भो ती आधुनिक सामन्तहरूको अनुहार हेर्न भन्यो पटक्कै मान्ने होइन !’  यिनले हाम्रा लागि केही पनि माखो मार्ने छैनन ? हामीले  पो यिनका लागि रगत बगाउन खोज्यो त, बुढाको दाईने खुट्टा देखाउँदै भाउजु रन्किन्छन् यी यस्तो हालतमा हिड्नु प¥या छ । तीन वटा गाली अहिलेसम्म तिघ्रामा गढेको छ । 
ठूल्भाउजुको कुरा सुनेर ठूल्दाई अलि रिसाएको  पारामा भन्छन् । ‘नकरा तँ बढी जान्ने हुँदी रैछ, अब आफ्नै भाग्य खोटो भएपनि अरूलाई दोष लगाएर हुन्छ ?’ विद्युतको पोलमा अडेस लगाएर उभिएका ठूल्दाई अझै ठूलै काम गरे जस्तो गर्व गर्छन् । ‘हामीले नै गर्दा राजतन्त्र ढल्यो ।’ ठूल्दाईको गर्वमा भाउजु विमती जनाउँछिन्, हेर्नाेस बाबु, यि बुढाले जेसुकै भनुन्, एउटा सामन्त राजा फालेर टोलै पिच्छे आधुनिक सामन्त राजा भित्रेका छन् । यस्ताबाट के आशा गर्नु ? 
१७ बर्ष भो, परिवर्तन भाको ।  सत्र हजार मान्छे मारेको आरोप लागेको छ । त्यही युद्धमा होमिएकाको हालत यस्तो छ ! यस्तो नि परिवर्तन हुन्छ । ल हो कि होइन भन्नुस् त ? म जिल्ल पर्छु । हो भन्दा पनि अनुचित होइन भन्दा पनि अनुचित उ मौन बस्छ छ । 
कत्ति दिनदेखि नधोएको मैलो न मैलो ज्याकेट लगाएका ठूल्दाई पेरिस डाँडा दैनिक आवत जावत गर्दा रैछन् । उनीसँग एउटै कमाण्डमा हिँडेर जनयुद्ध लडेका साथी अहिले मन्त्री छन् । तर उनले भेट्नै पाएका छैनन् रे ? भेट्ने र तिघ्राको गोली निकाल्न अस्पतालका लागि लाग्ने खर्चको जोहो गर्न पेरिस डाँडा धाउँदा धाउँदा दिक्कै भईसके खै साथीहरूसँग भेट नै हुँदैन भाई कत्ति धेरै व्यस्त भाका ठूल्दाईले बल्ल मुख खोले । 
आँखाभरी आँशु पार्दै ठूल्दाईले बह पोख्खन्, श्रीमतीलाई देखाउँदै, यसले त नआउँ भन्छे । तर मनले मान्दैन एक पटक जाऊ साथीहरूले केही गर्छन् की भन्ने आशा हँुदो रहेछ । हेर भाई यो काठमाडौंमा बाटोमा हिडेको समेत पैसा लाग्ने भईसक्यो । म केही बोल्न सकिन । ठूल्दाईलाई सान्त्वना दिँदै भन्छु । हरेक खानु हुँदैन दाई लाग्नुस् न । केही न केही त गर्लान् नि । 
‘केही गर्दैनन् बाबु आफ्ना सन्तानलाई सात पुस्ता पुग्ने गरी धनार्जन गरीसके, हामी जनयुद्ध लडेकालाई के मतलव अव लड्नुपर्दैन क्यार ? ’ भाउजुले जवाफ दिईहालिन् । 
पेरिस डाँडा जाने चिल्लोबाटोमा मेलम्ची खानेपानीले पाईप विछ्याउन खनेको सानो माटाको डिस्को छेउ रहेको विद्युतको पोलमा अलिकति घाम पार्दै उभिएका ठूल्दाईलाई भित्रभित्रै जनयुद्ध लडेकोमा दुखि देखिन्छन् । मुखले बोल्न नसकेपछि मनले धिक्कार्दै गरेको मट्याङ्ग्राले अनुभव गरिरहेको छ । 
मट्याङ्ग्रोले ठूल्दाईको भावना बुझेर पनि के काम ? पहिले नै स्कूल पढ्दा पढ्दै नजाऊँ दाई जंगलको बास भन्दा मानेका थिएनन् । अहिले एउटा खुट्टा कामै नलाग्ने हुँदा पनि हिजो संघर्ष गरेको दल आज सत्तामा हुँदा पनि केही नै गर्दिएको छैन । एउटा सामन्तलाई फालेर आफै आधुनिक सामन्त बनिरहेका छन् । अनि भाउजु ? बाबु के गर्दैछन् त ? छोरी के गर्छिन् ? मैले कुरा मोड्न खोजे, उसले कुरा मोड्दै गर्दा चिल्लो गाडी झण्डा हल्लाउँदै पेरिस डाँडातिर धुलो उडाउँदै हुँइकियो । 
ठूल्दाईले गाडी भित्रका मान्छे चिनीहाले । के गर्ने मट्याङग्रा भाई शक्ति नभएपछि सवैले हेप्छन् भन्ने कुरा बल्ल पो थाहा पाउँदै छु । गाडीतिर देखाउँदै, यी साथी र मसँगै लड्न हिँडेका हौ, मेरै कारणले उ जोगियो मेरो यो हालत ।  
अँ साँच्चि, छोरो त कतार गाको छ भाई । जंगलमै जन्मिएको त्यो । जंगलमै हुर्कियो । हामीलाई गाली गर्दै कतार गाको पनि ७ वर्ष पो पुग्न लाग्यो त ? ठूल्दाईले नढाँटीकन भने । 
भाउजुले थप्दै भनिन्, ‘नगएर पनि के गरोस् त साम्यवाद ल्याउँछु भन्दै जंगल गएका बाउ आमा आधुनिक सामन्ती वोकेर हिँड्नु प¥यो । बाउको तिघ्राको गोली निकाल्न कतारबाट कमाएर पठाउँछु भनेको छ । ’ त्यसले पठाको पैसाले पनि नपुग्ने भो के बाबु पेरिस डाँडा धाउन थालेको । 
बहिनी चाहि पनि कुवेतमा छ । यहाँको मान्छे बेच्ने दलालले भनेको जति तलव नै दिएन । पैसै पठाउन नसक्ने पो भएको छु भनेकी छे ! के गर्ने खाउँ भने दिनभरको सिकार नखाउँ भने कान्छा बाउको अनुहार जस्तै भाको छौ बाबु हामी जोईपोइ? महिनौ वितिसक्यो धाउँदा धाउँदा कतारबाट छोराले उपचार गर्न पठाको पैसा पनि सकिन लागिसक्यो !
ए ! जे हुनु भईगो क्यार । ‘अव मैले गर्ने सक्ने सहयोग गरिहाल्छु दाजु ।’ खल्तीबाट मैले पाँच हजार झिकेर ठूल्भाउजुलाई दिएँ । ‘यो लिनुस् आउ जाउ गर्न काम लाग्छ, म पनि अफिस हिँडेको दाई भाउजुलाई अल्मलाईदिएँ ।’ दाईलाई गाह्रो होला विस्तारै जानुस् । 
पाँच हजार लिँदै भाउजुले भन्छिन्, धन्य छ बाबु खासमा भन्ने हो भने हामीले दुई दिन भो केही खाएकै छैन । यति भएपनि नाईटबसमा गाउँमा छिर्नु पर्ला ।  उपचार गर्नुपर्ला ।
जनयुद्ध लडेर आमूल परिवर्तन गर्नेहरू आफै परिवर्तन भएर धनयुद्ध तिरलागे । गोली र छर्राबाट बाँचेकाहरू समुद्रपारी खाडीतिर वाध्य भएर भागे । मै जस्ता केही नसक्ने घिटघिटेहरू यसैगरी वल्लो तिर र पल्लो तिर गर्दै पेरिस दरबार धाउँदा धाउँदै अस्ताउने नै भईयो । 
ठूल्दाई भन्छन्, बल्ल पो थाहा पाएँ जनयुद्धले जनताका लागि होइन आफ्नै लागि धनयुद्धको बाटो खोलेको रहेछ । ल भाई नमरी बाँचे कालले साँचे भेटौला है ! दायाँ हात मुठ्ठी कसेर ठूल्दाई र ठूल्भाउजु पेरिस डाँडा तिर लागे ।