बालकुमारी घटनाको छानबिन प्रतिवेदन अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
आजको प्रतिनिधिसभाको बैठकमा एमाले र रास्वपाका सांसदले बालकुमारी घटनामा दुई युवा मारिएको विषयमा छानबिन समितिले दोषी देखाएका मन्त्री प्रकाश ज्वाला बर्खास्त गर्न माग गरेका थिए । उनीहरुलाई जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले छानबिन समितिको प्रतिवेदन आफुले नहेरेको गृहले प्रीतवेदन भर्खरै बुझाएकाले हेरेर कारबाही प्रक्रिया अगाडी बढ्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारले मृतकको परिवारलाई १० लाख दिएर चुप लागेर बसेको कुरा तथ्यहीन भएको बताउदै छानबिन समिति सरकारले नै बनाएको र छानबिन प्रतिवेदन गृहमन्त्रालयबाट आज बुझेकोले प्रतिवेदनको अध्यययन गरेपछि आवश्यक कारबाही गरिने उल्लेख गरेका छन् ।
सरकारले उक्त घटनालाई गम्भीर र विशेष रुपमा लिएकाले १० लाख दिएर सरकार चुप लाग्यो भन्ने कुरा सही नभएको बताए । उक्त घटना विशेष भएकै कारण सरकारले परिवारका सदस्यलाई राहत स्वरुप १० लाख दिएको र परिवारका एक–एक जनालाई रोजगारी दिने निर्णय गरेको समेत स्पष्ट पारेका छन् ।