अधिवक्ता शिवप्रसाद सिग्देल -
राजेन्द्र महतो लाठीपछि बन्दुक उठाउने चेतावनी दिन थालेका छन्। गृहमन्त्री शक्ति बस्नेत नपड्काउने हो भने बन्दुक किन दिने? भनेर धम्क्याउन थालेका छन्।
सत्तापक्ष र सडकपक्ष दुबैतिरबाट मुखले आगो ओकल्ने काम सुरु भएको छ। त्यसैपनि मधेसतिर १ सय ८ मध्ये अधिकांश भूमिगत सशस्त्र समूहहरु अहिले पनि क्रियाशील नै छन्। नाकावन्दीको मौका छोपेर तिनले पेट्रोलियम पदार्थको तस्करी गरेर कमाउनुसम्म कमाएका छन्। त्यो धन बम, बन्दुक, मर्ने र मार्ने काममा लगाउने निश्चित छ। अर्थात् अव असली गृहयुद्धको आगो बल्ने संकेतहरु देखिएका छन्। त्यसो त आततायीहरुको सत्ता वा सडकमा कुनै कमी छैन।
संघीय समाजवादी फोरम नेपालका सभासद डा.वीरेन्द्र महतोले पनि अब बन्दुकले मधेसका हक र हितलाई संबोधन गराउनेछ भनेर धमास दिएका छन्। सिरहाबाट सभासदले र अस्पतालको बेडबाट नेता राजेन्द्र महताले बन्दुक उठाउने कुरा गर्नु र सिंहदरवारको गृहमन्त्रालयबाट गृहमन्त्री र प्रधानमन्त्रीले अव सहेर बसिन्न, बन्दुक पड्काउनैका लागि हो भनेपछि रक्तपातको खतरा देखिएको हो।
मधेसी नेताहरु हजारौं मधेसी अधिकारका लागि मर्न तैयार छन् भन्छन्। यही आन्दोलनबाट मधेस सर्वशक्तिमान हुने तिनको ठहर रहेको छ। सिंहदरवारबाट संविधानमा मधेसलाई शक्तिशाली बनाइएको, कुनै बिभेद नगरेको बखान जारी छ भने मधेसमा मधेसी नेताहरु मधेसी जनतालाई दोस्रो दर्जाका नागरिकको व्यवहार गरिएको हल्ला पिटाएर जनतालाई आक्रोसित पारिरहेका छन्। कुनै पनि तरिकाको बदनाम गराउने षडयन्त्र सफल हुनेछैन भन्छन् मधेसीहरु।
प्रधानमन्त्री केपी ओलीको बिकल्प दिन नसकेको असफलताको सिकार मुलुक भइरहेको छ। गत असोज २४ गते देशको ३८औं प्रधानमन्त्री बनेका केपी ओलीले त्यसपछिका दिनमा देशका संकटलाई टार्न र जनजीविकालाई सहज पार्न कुनै वैकल्पिक बुद्धि झिक्न सकेनन्। मानौं ओली हुटिट्याउँ हुन्, मात्र प्यार प्यार बोलिरहेका छन्। आकाश थामेको गफ गर्न यिनलाई कसैले सिकाउनु पर्दैन। ओली नेपालको इतिहासमै सबैभन्दा निर्लज्ज, संवेदनहीन र असफल प्रधानमन्त्री देखिए।
ओली प्रधानमन्त्री निर्वाचित भएको आज ९७ दिन भएको छ। यस अवधिमा आन्दोलनकारी ५६ जना मारिएका छन् भने भूकम्पपीडित चिसोको ठिहीले त्यत्तिकै संख्याभन्दा बढी मरिसकेका छन्। गठन भएको पुननिर्माण प्राधिकरणलाई बिघटन गराएर पुन जन्माउने काम भयो र यो प्राधिकरणले अझै काम थाल्न सकेको छैन। युद्धस्तरमा काम थाल्नुपर्ने सरकार आफ्नो मान्छे भर्ति गर्ने र राज्यको दोहन गर्नमै समय बिताइरहेको छ। पाँडे गाली गरेर उर्जा खर्च गर्ने ओली सरकारले लोकलाई कसरी राहत दिने, तिनको उद्धार गर्ने, देशको बिग्रदो अर्थतन्त्रमा सुधार गर्ने भन्ने कुनै सोच नै देखाउन सकेन। रित्तो दिमाग भएका ओली देशका २० हजारभन्दा बढी उद्योग बन्द हुँदा र तीनदोब्बर मूल्यबृद्धि भइसक्दा पनि नियमन र निगरानी गर्न सकिरहेको छैन। राज्यका संयन्त्र नै कालोबजारी गर्न उद्दत देखिनु र सरकार नामको बुख्याँचा सिंहदरवारमा उभिरहनु देशको लागि सराप बनेको छ।
ओली तीखो र तीतो कुरा गर्ने नेता हुन्। बिज्रो चपाउँदैनन्, देखेको कुरा बोल्छन्। सही नेता हुन् भन्ने आम जनतामा प्रभाव परेको थियो। हुन पनि १४ वर्ष जेल बसेको नेता देशका लागि खारिएको हुनुपर्ने हो। देशका लागि केही गरौं भन्ने उनीभित्र तीर्खा लागेको हुनुपर्ने हो। यो जनविश्वासमा घात गरेका छन् ओलीले। केपी ओली आलु सरकार चलाइरहेका छन्। उनकै पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले समेत आलोचना गर्नुपर्ने र उनलाई सत्तामा टिकाइराख्ने प्रचण्डले सरकार प्रभावकारी भएन भनेर सरकारबाट फिर्ता हुने कि यो सरकारलाई टिकाइराख्ने भनेर छलफल गर्नुपर्ने दिन सय दिन नपुग्दै आएको देखियो। यसबाट पनि थाहा हुन्छ कि केपी ओलीको प्रभाव शून्य छ। यही सब असन्तुष्टिले मधेस र सिंहदरवार दुबैतिरबाट बन्दुक उठाउने झर्कोफर्को देखिन थाल्यो। लौन केही गरौं।


