Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

आजदेखि माओवादीको विधान सम्मेलन सुरु

०१ मंगलबार , फाल्गुण २०८०५ महिना अगाडि

आजदेखि माओवादीको विधान सम्मेलन सुरु

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ । माओवादी केन्द्रले सम्मेलनको सम्पूर्ण तयारी पूरा गर्दै आज बिहान ११ बजेदेखि सम्मेलन सुरु गर्न लागेको हो ।

सत्ताको नेतृत्व समेत गरिरहेको नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि तीन दिनसम्म सञ्चालन हुनेछ । आजदेखि सुरु हुने सम्मेलनको उदघाटन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् भने सम्मेलनमा १ हजार २ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताएका छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहनेछ । विधान सम्मेलन मार्फत पार्टीलाई व्यवस्थित बनाएर सञ्चालन गर्नका लागि आवश्यक विधान निर्माण गरिने छ भने स्थायी समितिले तयार पारेको विधान संशोधन मस्यौदामा माओवादीका तल्लो कमिटीबाट संकलन गरिएको सुझावसहित सम्मेलनमा प्रस्तुत गरिने बताईएको छ ।

यसअघि पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । उक्त मस्यौदा समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य सदस्य रहेका  थिए । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष प्रचण्डलाई विधानको मस्यौदा बुझाएको थियो ।