Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

भारतबाटै विद्युत आउदैछ

२० सोमबार , पौष २०७२११ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ-
भारतले नाकावन्दी गरेर बित्यास पारिदियो। हामीलाई दिनुसम्मको हण्डर दियो, सरकारले त्यही भारतबाट थप ९० मेगावाट विद्युत माघ १५ गतेभित्रै ल्याउने तैयारी सुरु गरेको छ। भारतले महगो मूल्यमा विद्युत दिन मञ्जुरी जनाएको छ।
यो विद्युत आयात गर्न नेपाल वाध्य छ। भारतले विद्युत दिएन भने अहिलेको हप्ताको ७७ घण्टाको लोडसेडिङ बढेर दैनिक १३ घण्टा पुग्नेछ। जसको चर्को दबाब थेग्न ओली सरकारका लागि सम्भव हुनेछैन। यहीकारण टेलिफोन वार्तामा समेत केपी ओलीले मोदीको पाउमा छाँद हालेजस्तो गरेको सुनियो। आत्मसम्मान लेसमात्र पनि रहेनछ ओलीसँग। यिनै ओली भन्छन्– एकवर्षमा लोडसेडिङ मुक्त पार्छु देशलाई।
सरकार चलाउने ढाडमा हाड नभएर ४० जनाको जम्बो मन्त्रिमण्डल बनाउने ओलीले आफै संविधान उल्लंघन गर्न पुगे। र भन्छन्, संविधान कार्यान्वयन गरेर देखाउँछु। सरकार ढले ढल्छ, जतिदिन सरकारमा बस्छु, जमेर काम गर्छु। ओलीको काम भनेको जनता मरेको हेर्नु, जनताको बिजोगमा मजा लिनु र हेलिकोप्टरमा सयर गर्नुमात्र हो। पीडितलाई राहत दिन नसक्ने प्रधानमन्त्री राज्यकोष उडाइरहेका छन्। सय दिनको ओलीको कार्यकाल भनेको देशका लागि दुर्भाग्यबाहेक केही भएन।
अहिले भारतबाट २ सय ३५ मेगावाट विद्युत आयात भइरहेको छ। नेपालको अनुरोधलाई भारतले स्वीकार गरेकाले थप ९० मेगावाट विद्युत भारतबाट आयात गर्न लागिएको छ। यसका लागि प्रशारण लाइन निर्माणमा समेत भारतले नै सहायता गरेको छ। भारतबाट यो विद्युत आयात भएपछि अहिलेको हप्ताको ८६ घण्टाको लोडसेडिङ बढ्नबाट रोक्नमात्र सकिनेछ। विद्युतको माग दिनदिनै बढेर गएको छ। माग र आपूर्तिको सन्तुलन मिलाउन सरकारले कुनै बिकल्प सोचिरहेको देखिदैन।
विद्युत विभागका अनुसार नेपालमा अहिलेको माग भनेको १३ सय मेगावाट हो। नेपालले ७ सय ८० मेगावट उत्पादन गरिरहेको छ। न्यून हुने विद्युत भनेकै आयात गर्नु अथवा आयात गर्न नसक्दा लोडसेडिङ गर्नु हो। निर्माणाधी आयोजनाहरु सम्पन्न गर्नेतिर भारतकै नाकावन्दी र इन्धन अभाव तथा आन्तरिक श्रमिकको समस्याले बाधा गरिरहेको छ। यसमाथि राजनीतिक कार्यकर्ता, नेता, गुण्डा, टे्रेड युनियनहरुले चन्दा उठाउने र लुट्ने प्रवृत्ति पनि थप समस्याका रुपमा रहेका छन्।
यसैवीच तामाकोसी ३ बाट नर्वेली कम्पनी स्ट्याटक्राफ्टले हात झिकेको छ। तामाकोसी ३ भनेको ६ सय ५० मेगावाटको आयोजना हो। भूकम्पको जोखिम, क्षति, श्रमिक समस्या, राजनीतिक अस्थिरता र अनिश्चयका कारण नर्वेली कम्पनीले तामाकोसी ३ नबनाउने निर्णयमा पुगेको जनाएको छ। नर्वेली कम्पनीको थप आरोप छ– आफूले उत्पादन गर्ने सबै विजुली भारतलाई बेच्ने योजना थियो। भारतले नेपालमा नाकावन्दी लगाएपछि विजुली बेच्ने योजनामा आशंका उत्पन्न भएकोले उत्पादन नगर्ने निर्णय गरिएको हो। बजार नै नभएपछि किन उत्पादन गर्ने? प्रश्न सटिक छ तर नेपालको अपार जलस्रोतको उत्पादनमा नर्वेलीको यो निर्णय अर्थपूर्ण र दूरगामी प्रभावपार्ने खालको भएको जलस्रोत विज्ञहरुले जनाएका छन्।