Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

विप्लवलाई सत्तामा जाने हुटहुटी

०१ मंगलबार , फाल्गुण २०८०५ महिना अगाडि

विप्लवलाई सत्तामा जाने हुटहुटी

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भनेका छन्– एकपटक सरकारको नेतृत्व गरेर पाँच वर्ष काम गर्न मन छः । विद्रोही नेता विप्लवले यसो भन्नुको अर्थ के के न गर्छु भनेर जनयुद्ध गर्नेदेखि समाजवादी र प्रजातन्त्रको झ्याली पिट्नेहरूले समेत केही गर्न नसकेर देश चरभ निराशामा गएकाले उनलाई पनि आफू सत्तामा गए केही गर्नसक्छु भन्ने लागेर बोलेको हुनुपर्छ भन्ने विश्लेषण हुनथालेको छ ।
विप्लवले आग्रह गरे, दलहरूले उनलाई सत्रा सञ्चालन गर्न दिने विषयमा कुनै प्रकारको चर्चासमेत भएको देखिदैन ।
विप्लवले स्पष्ट पारेका छन्– आफूले सरकारको नेतृत्व पाए देशमा धेरै परिवर्तन गर्नसकिन्छ, संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट भएपनि आफू सरकारको नेतृत्व गर्न तयार रहेको समेत उनको भनाई छ । तर विद्रोही विप्लवलाई लोकतान्त्रिक मूलधारमा ल्याउनुपर्छ भन्ने कुनै दलले पनि वातावरण बनाउन पहलका लागि बोलेका छैनन् ।
विप्लवले आफ्ना कुरा गत शनिवार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरेका हुन् । आवधिक निर्वाचन हुनदिन्न भनेर विस्फोटसमेत गराएका विप्लवले अब हिंसा अथवा हिंसात्मक विद्रोहबाट केही नहुने निष्कर्षमा पुगेको अर्थमा समेत उनको अभिव्यक्तिलाई लिइएको पाइन्छ ।
हो, देश निराशामा छ । कोही पनि देशमा बस्न चाहदैनन् । युवाहरू सकेसम्म विदेश जाने हतारोमा देखिन्छन् । राजनीतिक अस्थिरताले देश आक्रान्त छ । किसान, मजदुरदेखि आमनागरिक चिन्तित छन्, तिनको जीवन कष्टकर हुँदैछ । विप्लवले किसान मजदूरको प्रतिनिधित्व सुनिश्चित नभएसम्म केही नहुने भन्दै आफू यही बर्गको नेतृत्व गर्दै ‘एकपटक सरकारको नेतृत्वमा पुग्नपाए गोरू झैं जोतिएर ५ वर्ष काम गरेरै देशलाई परिवर्तन गर्ने मन छ भनेका छन् । मन भएर मात्र के गर्ने ? सपना न हो, नेपालमा सपना र मन सबैको छ तर सत्तामा पुगेपछि मन सम्पत्ति र शक्तिमा बरालिन्छ, सपना तुहिन्छ । बहुदलवादी, जनविद्रोही, जनआन्दोलनकारी, सर्वहारादेखि समाजवादी, प्रजातन्त्रको बिडा उठाएको पार्टीसमेत सत्तामा पुगे । बिगत १७ वर्षमा १४ सरकार बनिसके, सबै कानै चिरिएका । प्रचण्डजस्ता नेतासमेत सफल हुनसकेनन् । अझै उनी भन्दैछन्– अब म देखिने गरी काम गर्छु । उनको बिगत १३ महिनाको कार्यकाल हेरे हुन्छ– निराशा र अराजकबाहेक केही छैन ।
२०८४ भित्रै समाजवादी मोर्चा बनाउने दावी गरिरहेका विप्लवले सबैजसो दलहरूले कुनै न कुनै प्रकारको समाजवाद भनिरहेका छन् । देशलाई निकास दिने समाजको अभाव छ । २०औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्णरूपले सफल हुन नसकेको ठहर गर्दै विप्लवले नेपाली विशेषता रहेको समाजवादमा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन भएको बताए ।
विप्लवको दावी छ– दलाल पुँजिवाद र साम्राज्यवाद देशको मुख्य दुस्मन हो । यिनै दुश्मनले नेपालको प्राकृतिक स्रोत, राष्ट्रिय पुँजी र सम्पदामाथि निरन्तर हमला भइरहेको छ । पुँजिवादकै कारण अदालत, अख्तियार र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुब्दै गएका छन् । हरेक दलका नेताले श्रम संस्कार मास्दै गएका छन् । युवालाई पलायन हुन बाध्य पारेका छन् । यो तरिकाले समाजवाद खडा गर्न सकिदैन । देशमा अन्योल छ । निकासका लागि राजनीतिक दलहरूसँग सम्वाद र जनताबीचमा सूचना प्रवाह गरिरहेका छौं । देशलाई समाजवादमा रूपान्तरण गर्ने अभियानमा चलाएका छांै । यसैले एकपटक सरकारको नेतृत्व गरेर पाँच वर्ष काम गर्न मन छः ।