Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

राष्ट्राध्यक्षको किन सानो चित्त?

२० सोमबार , पौष २०७२१० बर्ष अगाडि

रोशन कार्की -
राष्ट्रपतिको चुनाव जितेपछिको फोटो हो यो विद्या भण्डारीको। एक त महिला, त्यसमाथि नेपालको राष्ट्राध्यक्ष। यो नेपालको गौरवपूर्ण घटना हो। विद्या भण्डारीले इतिहास रच्न सफल भइन्, सिंगो मुलुकको हार्दिक बधाई छ। राष्ट्राध्यक्ष यसरी हाँसेर मात्र हुन्न। राष्ट्र हाँस्नुपर्छ, तव राष्ट्राध्यक्ष हाँसेको सुहाउँछ। राष्ट्र रुनुपर्ने, राष्ट्रवासी भकाभक नाना, खाना, छाना नपाएर मर्नुपर्ने अनि राष्ट्राध्यक्ष निरो हाँसे झैं हाँसेको पटक्कै सुहाउँदैन। हाम्रा राष्ट्रपति महोदय, यतातिरको हेक्का रहोस्।

 हो, संविधानले राष्ट्राध्यक्षलाई सेरेमोनियल रुपमा राखेको छ। सेरेमोनियल नै थिए पूर्वराष्ट्रपति डा. रामवरण यादव। रामवरणले रामअवतार त लिन सकेनन् तर देशलाई परिआएका बेलामा कार्यकारीको अधिकार प्रयोग गरेर दूरगामी संकटबाट बचाएको उदाहरण छ। राष्ट्राध्यक्ष देशको राजनीति दुर्घटनाउन्मुख भयो भने नियन्त्रण गर्नका लागि हो। सेरेमोनियल भनेको खुट्टामा लगाउने जुत्ता होइन। शिरमा लगाउने श्रीपेच हो। श्रीपेच भनेर राजतन्त्रको श्रीपेच होइन, राष्ट्रको शीर उँचो राख्ने दायित्व भनेको हो। राष्ट्राध्यक्ष पुस १ गते रामजानकी विवाह महोत्सवको तीर्थयात्रा पूरा गर्न जनकपुर गइन्। त्यतिबेलै उनको अपमान भयो। उनलाई बिधवा भनियो, अलच्छिना भन्ने आरोप पनि लगाइयो। उनले कुल्चिएको मन्दिर परिसरलाई गंगाजलले चोख्याउनेजस्तो आपत्तिजनक कर्म पनि गरियो। त्यो आरोप र कर्म केही अबुझहरुले गरेका थिए। क्षणिक आवेशमा गरेका थिए। पछि मधेसी मोर्चाले बुट लगाएका र कुकुर लगेर सुरक्षा जाँच गरेकाले भन्ने यथार्थमा टेकेर कूकर्मलाई सच्याउने र गलत कामको सफाइ दिएका थिए। अपराध अक्षम्य हो तर एउटी माता, राष्ट्रमाता बनिसकेपछि सन्तानको कुनै पनि अपराध अक्षम्य हुन्न, सन्तानलाई सही मार्ग देखाउने शिक्षक माता नै हुन्। महिलाहिंसा न्यूनिकरण गर्ने विशेष योजना ल्याउन जरुरी छ।  
    यस्तै कुरितिले मधेस, पहाड, हिमालमा महिला हिंसा छन्, समाज अगाडि बढ्न सकेको छैन। अपराध र अन्यायको थुप्रो छ। घरकी आमाबाट देशकी आमाको उच्च पदमा पुग्नेको दायित्व पनि उच्च नै हुन्छ। पदको गरिमा दायित्व निर्वाहबाट बढ्छ। सन्तान असल भए घर असल हुन्छ, घर असल भए देश सभ्य हुन्छ। हामी विकासशील मुलुक हौं र त्यहाँ पुग्न हामीभित्र धेरै सुधार गर्न बाँकी छ। त्यो सुधार गर्ने दायित्व कार्यकारी सरकार, जनप्रतिनिधिमूलक संसद, पद्धति र पद्धतिको संरक्षक राष्ट्राध्यक्षको पनि उत्तिकै छ। त्यसकारण सत्ताको दुरुपयोग गरेर मधेसलाई डाम्नु र मधेसीमाथि दमनपूर्ण दण्डित गर्नुभन्दा मधेसभित्र र देशभित्र रहेका महिलामाथिको गलत दृष्टिकोण बदल्नेतिर ध्यान जानुपर्छ। अहिले राष्ट्रपतिमाथि गरिएको अपमानसँग जोडेर भारतलाई पनि गाली गर्न थालिएको छ। रोटीबेटीको नेपाल–भारत सम्बन्ध कति कहालीलाग्दो छ भन्न थालिएको छ। हामीले भारतको होइन, नेपालको चिन्ता गर्नुपर्छ र नेपालभित्रका महिलाको सम्मान गर्ने वातावरणको विकास कसरी हुन्छ भन्नेतिर ध्यान दिनुपर्छ।
सरकारी तथ्यांक भन्छ: ६० प्रतिशत महिलाले पारिश्रमिक नै पाउँदैनन्। सबैभन्दा कडा मेहनत महिलाले नै गर्छन्। फेरि महिलामाथि हिंसा हुनछ। यो हाम्रो समस्या हो। भारतलाई देखाएर हामी पन्छिन सक्देनौं। हामीभित्रको फोहर, कुरिति, कुसंस्कार हामीले सफा गर्ने हो। त्यही कुसंस्कार देखियो जनकपुरमा।
त्यसो त राष्ट्राध्यक्षले पशुपतिनाथको पूजा गरेर सवालाख भेटी दिइन्। त्यो पैसाले भगवान कति खुशी भए, त्यो विद्या भण्डारीलाई थाहा होला। नांगो सत्य के हो भने सिन्धुपाल्चोक, धादिङ, गोरखा, दोलखामामात्र ५० भन्दा बढी बृद्ध, बालक चिसोले मरिसके। तिनीहरुप्रति राष्ट्रपति किन संवेदनशील हुन सकिनन्? देशको राष्ट्राध्यक्षले एकाध नागरिकले अपमान गरेको देख्ने, ठूलो जनसंख्या विपत्तिमा अन्यायपूर्वक र राज्यको उदासिनताले मरिरहेको नदेख्ने? विद्या कति सक्षम र न्यायपूर्ण राष्ट्राध्यक्ष?