काठमाडौं । सरकारले २ सयजति नेपाली रूसी सेनामा होलान् भने पनि रूसबाट बाँचेर फर्केका युवाले भनेका छन्, हजारौं युवा रूसी सेनामा छन् । उनीहरूलाई फकलेण्ड, कारगिल युद्धमा जस्तै अग्रपंक्तिमा लगिन्छ र बाँचेर फर्कनु भनेको चमत्कार नै हो । उता युक्रेनतर्फ पनि नेपाली युवा सैनिक बनेर रूससँग लड्दैछन्, तिनको हालत के होला ?
रूस र युक्रेनको सेनामा भर्ती भएकाहरूको परिवारजनले तिनलाई सकुसल फर्काइदिन भनिरहेका छन्, नेपाल सरकारको कूटनीति यति असफल भइसकेको छ कि न रूसले कुरा सुन्छ, न युक्रेनले । राष्ट्रसंघमा भारत र चीन तटस्थ बसेको समयमा नेपालले युक्रेनको पक्षमा दुई दुईपल्ट मतदान गरेर नेपालको नीतिमाथि खेलबाड नै गरेपछि पनि नेपालले रूससँग सहयोगको अपेक्षा गरिरहेको छ, रूसले नेपालको कुरा एउटा कानले सुनेर अर्को कानले उडाइरहेको देखिन्छ ।
रूसी सेनाबाट बाल बाल बचेर भागेर नेपाल आएका खोटाङका सुमन राई भन्छन्– १५ हजारहाराहारी नेपाली युवा भर्ती भएका छन्, ४ सयबढीले ज्यान गुमाइसकेका छन् । स्थिति भयावह छ ।
रूसी सेनामा भर्ती भएका, ज्यान गुमाएका र बेपत्ता पारिएकाका परिवारजनले पत्रकार सम्मेलन गरेरै भने– फिर्ता गराइदिनुप¥यो, सरकारले सुन्योमात्र । अधिकांश रूसी र युक्रेनी फौजमा भर्ती हुनजानेहरूलाई रूसी दूतावासमा घूसपैठ गराउने मेनपावरहरूले भिजिट भिसामा पठाउने र उता पुगेपछि २ दिनको सैनिक तालिम दिएर युद्धमा खटाउने गरिएको छ । कतिपय परिवारजनले भिजिट भिसामा रूस पुगेकै भोलिपल्ट फौजी बनेको पनि सुनाए । एकजनाले बाँचेर ४८ दिनमै फर्कन सफल भएको कथाव्यथा पनि सुनाएका छन् । सुमनले भनेका छन्– ‘मेरै अगाडि ६ जना मरेको देखेर आएँ’ । सुमनले ऋण काढेर जाँदा ८ लाख बुझाएको र भागेर आउँदा ३ लाख तिरेको बताएका छन् । अर्थात मर्न जान र ज्यान बचाएर फर्कनका लागि समेत शुल्क तिरेको व्यथाले लोकतान्त्रिक देशको बेहाल दृश्य देखाएको छ । तैपनि लोकतन्त्र लोकतन्त्र भन्नेहरू चिन्तामा छैनन् ।
सुमनका अनुसार नेपाली मरे छोडेर रूसी सैनिकहरू गाडी लिएर जाने गरेका छन् । रूसी सेनामा मंगोलियन, भारतीय र चिनियाँ पनि रहेको अनुभव रहेको सुनाए । दुबईमा साढे दुई लाख तलब छोडेर त्योभन्दा बढी पैसा कमाउन रूस पुग्नेहरू पनि आफूले भेटेको उनले बताए । आफूसँगै ८ सय नेपालीहरू रूसी सेनामा भर्ती भएको उनले खुलासा गरेका छन् । देश यसरी बर्बादीतिर छ ।
माघ १९ को पत्रकार सम्मेलनमा उपस्थित रूसी सेनामा पुगेका युवाका परिवारजन ग्वाँ ग्वाँ रोइरहेका देखिन्थे । आफन्तजनको खोजी गरिदिन, फर्काइदिन आफन्तजनले सरकारसँग गुहार लगाएका छन् । तर सरकारले केही गर्न सकेको देखिदैन । सरकारको अन्तर्राष्ट्रिय छवि यति बिग्रिसकोको छ कि नेपालको कुरा सुन्न र संवोधन गर्न, सहयोग गरिदिन कोही पनि तदारूकता देखाउन्नन् ।
फर्केका सुमनले पन्द्रौ हजार नेपाली रूसी सेनामा रहेको बताए पनि सरकारसँग यकिन तथ्य केही पनि छैन । जो फर्केका छन्, तिनले अनुभव सुनाएका छन्– काठमाडौंदेखि दुबई, मस्कोसम्म दलालै दलाल रहेका छन् । नेपालीको ज्यानको कुनै मूल्य नै देखिदैन ।
पहिलोपल्ट बन्दुक समातेका नेपाली युवालाई रूसी फौजी कमाण्डरले दुई दिनको सामान्य तालिम दिएर युद्धमा पठाउने र पठाउने बेलामा ‘युद्ध मैदानबाट तिमी बाँचेर आयौ भने मेरो साथी हुन्छौ, नत्र थाहा छैन । पछि थाहा भयो, युद्ध मैदानमा छाती थाप्ने काम नेपालीको रहेछ ।’ ३२ जनाको एउटा टोली युद्धमा गएको थियो, चारजनामात्र फर्केको देखियो, सोधखोज गर्ने साहस कसैसँग थिएन । सरकार केही गर, नेपालीलाई यसरी मर्न नदेऊ ।