Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

‘...देश मास्ने पो मेरो देशको मालिक भएछ’

बैकुण्ठ भण्डारी

२३ मंगलबार , माघ २०८०६ महिना अगाडि

‘...देश मास्ने पो मेरो देशको मालिक भएछ’

बैकुण्ठ भण्डारी
देशको लागि सोच्ने मान्छे सालिक भएछ,
देश मास्ने पो मेरो देशको मालिक भएछ’
बिहान ४ बजे भालेबासेसँगै आँखा खुल्यो । सधैँ झैँ ज¥याक जुरूक्क उठेर झिसमिसे उज्यालोमा फटाफट खुट्टा लम्काउँदै अघि बढ्दै थिएँ । टेकुस्थित खरिबोट नजिक पुगेको थिएँ । एक जना मान्छेले च्याप्प कठालोमा समात्यो । म झसंग भएँ । झिसमिसे उज्यालोमा बिहान मर्निङ वाकमा निस्कने मानिसहरू त्यत्ति धेरै आवतजावत भएको थिएन । हुन त चिसो बढ्दै गएकाले यो माघमा मर्निङ वाकमा निस्कनेहरू पनि अलि ढिलै गर्न थाल्या छन् । जति नै गरे पनि अल्छी भएका हुन् कि भनेजस्तो । पहिले त्यहीबाटो ३ बजेदेखि नै कालीमाटी तरकारी बजार गर्नेहरू प्रशस्तै हुन्थे । आजकल अलि कम हुन थालेको रहेछ । 
म न यता गर्न सकें न उता गर्न ! आँट नै आएन । ती मानिस रिसले चुर थिए । विचरा मैले केही गल्ती गरेको पनि थिइनँ । यसो सम्झिँए कुनै गल्ती मबाट भएको थियो कि त्यही भएर पो मलाई यसरी एक्लै पारेर समाते भन्ने पनि लाग्यो । सम्झिँए त्यस्तो कतैबाट भएको पनि छैन । गरेको पनि छैन । त्यसो भए मैले गल्ती नगरीकन किन सजाय भोग्नुपर्ने ? चिसो हावा चलिरहेको जस्तो बिहानी स्याँठ चलिरहेकै थियो । हातखुट्टा चिसो काँपिरहेको थियो । तर मन ढक्क फुलेर आएको थियो । कान तातेर सायद रातै भएको हुनु पर्छ । मैले त्यहाँ गुहार माग्न आँट गर्न नै सकिने । हुन त गुहार मागेर को आउँथ्यो र ? 
समय परिवर्तन भइसकेको छ नि । निकै परिवर्तन आमूल परिवर्तन नै भइसकेको छ भन्ने कुरा त अस्तिभर्खर विमानस्थलमा प्रहरी र कर्मचारीको लात्तेबाजीले नै देखाइदिएको छ । पहिले जस्तो जमाना छैन नि हजुर ! अन्यायमा परेकालाई सहयोग गर्ने । अहिले त हेरिरहने मात्र हो । मलाई कसले बचाउन सक्थ्यो र ?तैपनि डर नमानीकन सोँधे । हजुर मबाट के गल्ती भएको थियो । यसरी घाँटी नै किकलिक्क हुने गरी कँठालोमा समाउनु भएको ? अध्यारो थियो मान्छे चिन्न नै कठिन । एक छिनसम्म उत्तर आएन । डरले थरथरी भईरहेको थिएँ तर डरायो भने अझै वित्यास पार्छ भन्ने लागेको थियो । खोल्चाखोल्चीमा हिड्दा अप्ठेरो पर्ला भनेर पैतालाको माटोको टिको लगाउन आमाले सिकाउनु भएको थियो । त्यही सम्झिएँ । पैतालाको टिको लगाउने योजना बनाएँ । खुट्टा यसो उठाएँ ती मान्छेले अझै च्यापेर समाते । मलाई लाग्यो अव प्राण पखेरो उडाउने भो । जुत्तामा टाँसिएको धुलो दाहिना हातले यसो तानेर टिको लगाएँ । 
रातविरात हिँड्दा अप्ठेरो प¥यो भने हनुमान चालिसा सम्झनु भनेर बाले भन्नुभएको थियो । अब अझै साहस बढ्यो हनुमान चालिस मनमनै सम्झन थाले । अप्ठेरो परेपछि जति नै नास्तिक भएपनि हे भगवान् भन्ने नेपालीहरूको बानी नै हो । कस्ता कस्ता भगवान् मान्दिन भन्नेहरू त भैँसीको पूजा गरेर आफ्नो ग्रह कटाउन थालिसकेका छन् । म जावो फुच्चे । जय हनुमान मनमनै भन्दै मलाई छाड्नुस् भने । उसले बल्ल भन्यो । तँलाई म छाड्दिन । यही अठ्याएर राख्छु । तँ मालिक होस् ? कस्तो प्रश्न ? म त तीन छक्क परे । मैले होइन हजुर म त सर्वहारा श्रमिक ।
केरे अझ बढ्ता बोल्छन् । कसरी तँ सर्वहारा ? सर्वहारा भन्नेहरू सबै चोर भए । देश कंगाल बनाउने तँ झोलेले सर्वहारा भन्न सुहाउँछ ? यो सुनेर मेरो अझै सातोपुत्लो गयो ।  होइन हजुर म कसैको पनि झोले होइन । म साँच्चै नै । श्रमिक हुँ । शुद्ध श्रमिक हुँ ।
सबैले त्यसै भन्छन् मैले पनि त्यसै भन्थें । मलाई चिनेको छन् । मसँग धेरैले झूठो बोले । झूठ बोल्नेहरूलाई म अब छाड्दिनँ । बुझिस् ! 
लौ मार्ने भो अब । सत्य बोल्दा पनि झूठ बोलेको भनेर मार्ने भो त । चिच्याउँ भने पनि यति बिहानै कसले सुन्ने ? गुहार मागौं कसले गुहार दिने । अब मरिने भो भन्ने लाग्यो । तर सत्य नै बोलेको हो के, सत्यबाहेक केही बोल्दिनँ सत्य बोल्दा अन्याय हुन्छ भने होस् । फेरि मैले भनें, म श्रमिक हो । सत्य बोल्छु श्रम गर्छु । ती मान्छेले भने सवैले यसै भन्छन् । पक्का भन, अहिले सबतिर झूठबाहेक केही हुन्न । अन्यायका विरूद्ध बोल्ने कोही छैन । देखावटी सबले गर्छन् । व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेर बसेका छन् । 
मैले भनें– त्यो त हो । तर हामीले जति सत्य बोले भने केही भएन । तर पनि बोल्न छाडिएको छैन । त्यही भएर त हो नि अहिले हामीले दुःख पाएको । हामीले मात्र होइन पुस्ताले पनि दुःख पाउँदै छ । महँगी, अन्याय, अत्याचार र भ्रष्टाचारले चौपट्ट पारिसक्यो ।  मेरो कुरा सुनेर उनले भने– हो त्यही भएर आज म यहाँ बसेको छु । हामीले सोचेको र भोगेको हाम्रा सपना चकनाचुर पार्नेहरूलाई एक–एक ठेगाना लगाउने बेला भएको छ । ओहो ! अब यहाँबाट उम्कनु नै मेरो लागि उचित हुन्छ । मेरो मनले भन्न थाल्यो– हस हजुर ! बरू मलाई छाडिदिनुस् यस्तो काममा म तपाईंलाई सहयोग गर्न तयार छु । अहिलेलाई छाडिदिनुस् न । 
उनले मानेन– अहँ छाड्दिनँ । त्यसै मैले किन छाड्ने ? म यत्रो वर्षदेखि यसरी बसिरहेको छु । मैले पनि तँ जस्तै नझुकेर सत्य बोलेकै कारण यही खरिको बोटमा मलाई झुण्ड्याइयो । ८३ वर्ष भइसक्यो । हाम्रो सपना चकनाचुर भयो । हामी देश र जनताका लागि लड्ने सत्य बोलेर गोली खाने, फाँसीमा चढनेचाहिँ सालिक बन्नुपर्ने अनि देश लुट्ने सर्वहारा भन्दै जनतालाई कंगाल बनाउनेचाहिँ यो देशको मालिक बन्ने ?उनको कुरा सुनेर म तर्सिएँ । भूतजस्तै लाग्यो । मैले सोधें– तपाईं को हो ?
अझै चिनिनस् ? म ८३ वर्षदेखि प्रजातन्त्रका लागि लडेर यही खरिको बोटमा झण्ड्याइको मान्छे । आजकै दिन मलाई यही रूखमा झुण्ड्याएर मारिएको थियो । देश लुटेर, कंगाल बनाएर दुनियाँसँग झुक्नेहरू अब आज मलाई भेट्न आउँदै छन् त्यही भएर म यहाँ उभिएको छु । देश लुट्ने, देशलाई कंगाल बनाउने अनि युवाहरूलाई विदेश जान बाध्य बनाउनेहरूलाई म पालैपालो सजाय दिने छु । 
आउँछ त्यो दिन आउँछ । 
कुनै दिन निकै चर्चा थियो, ‘हुँदैन बिहानी मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ।’
हामी म¥यौं सालिक बन्यो तर हामीलाई मार्ने र हामीजस्तालाई शहिद बनाउनेहरू आज मालिक भएका छन् । अब सबको पालो आउँछ पर्ख र हेर । ओहो, शुक्रराज शास्त्री ! म झल्याँस्स बुँझिँए । साँच्चै सहिद सालिक भए, भ्रष्टहरू पो मालिक भए ।