नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्ने भएको छ । ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउन महोत्सव आयोजना गर्ने भएको हो ।
नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटीले यही माघ २० गते शनिबार टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्न लागेको बताईएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न युवा शक्तिलाई अभिप्रेरित गराउन यस प्रकारका महोत्सव काठमाडौँपछि देशव्यापीरुपमा आयोजना गर्ने पनि कमिटीले जनाएको छ ।
महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हरेक क्षेत्रमा युवापुस्ताको अनिवार्य सहभागितालाई अभियानकै रूपमा अगाडि बढाउन आवस्यक रहेको बताईएको छ । पत्रकार सम्मेलनमा एमालेका पोलिटब्युरो सदस्य एवं काठमाडौँका प्रमुख आनन्द पोखरेलले वर्तमान स्थितिमा प्रविधिको प्रयोग र दुरुपयोगजस्ता विषयमा पनि युवालाई सजग गराइने बताएका थिए ।
मुलुकको विद्यमान जटिल अवस्थालाई चिर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न तथा राष्ट्रियता एकता र स्वाधीनताको रक्षार्थ युवाका बिच पार्टीलाई निरन्तर परिचालन गरिने एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले बताए ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने महोत्सवमा विभिन्न विषयका कार्यपत्र प्रस्तुति र छलफल हुने बताईएको छ ।