सामाजिक सन्जाल आज रीस पोख्ने, गाली गर्ने, खुशी साट्ने, दुख बांड्ने एउटा साझा चौतारी हो । यो चौतारीमा अचेल भिन्न भिन्न बिषयमा बहस भैरहेको देखिन्छ । यो चौतारीमा अन्य हिंसा सहित महिला हिंसा पनि बढ्दो छ । कसैको निजी जीवनलाई ट्रोल बनाउंदै ब्यंग्य प्रशस्त पस्किएका हुन्छन् । अहिले बढी मात्रामा पोष्टिएको बिषय बैदेशिक रोजगारीमा गएका महिलाहरू धमाधम गर्भवती भएर नेपाल फर्केको बिषय छ । कुनै पनि महिला सकेसम्म गास, बास, कपासको जोहो छ भने मरूभूमिमा काम गर्न जान्न । घरमा दुईछाक खान,बिरामी हुंदा उपचार गर्न, छोराछोरीलाई कापीकलम ड्रेस पुर्याउन सक्ने अवस्था र लोग्नेको वा परिवारको कुनै सदस्यको थोरै भएपनि नियमित आम्दानी हुने पेशा रोजगारी छ भने त्यो परिवारको महिला खाडीमा जान रहर गर्दिन । जसको घरमा माथी उल्लेखित समस्या छ ति महिला बिकल्पको खोजीमा खाडी जाने गरेका छन् । नमरी स्वर्ग देखिन्न भनेजस्तै साउदी, कुवेत जस्ता देशहरूमा काम गरेवापत पैसा मात्रै कमाइन्छ भन्ने सोचेर जान्छन् देखे भोगेपछी यथार्थ बुझेपछी उनीहरू कहालिन्छन् । मरता क्या नकरता भनेजस्तो दुई छाक परिवारसंगै खुशीले खानको लागि आफूले जन्माएका दुधे नानी छाडेर बिदेशिने महिलाको संख्या नगन्य बराबर छ । ति बैदेशिक रोजगारमा पुगेका महिला तथा युवतीहरू काम गर्ने घरमालिकबाट पटकपटक यौनहिंसामा परेका समाचार हामीले नपढेको वा नसुनेको छैनौं । बन्धक बनाइएका युवतीका चित्कारले न्युज च्यानलहरू दैनिक रूपमा गुन्जायमान छन् । नेपाली दुतावासले केहि चेलीहरूको उद्धार पनि गरेको छ । पछिल्लो समयमा घरमालिक र मालिकका छोराहरूबाट यौन हिंसामा परेका घटना बढीरहेको छ । घरको समस्या सककाधान गर्ने,छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिने सपना बोकेर बिदेशिएका महिलाहरू अहिले अबैधानिक सम्बन्धका अंश बोकेर देश फर्किरहेका छन् । यसै त महिलाहरूलाई हेर्ने दृष्टिकोण तल्लो लेबलको छ त्यसमाथी तिनले ल्याएका गर्भहरूले झन् उनिहरू माथिको दुराचार कति बढ्ने हो हिसाब गरी नसक्नुको अवस्था आएको छ । अब ति गर्भका शिशुहरू सहित महिलाको जीवन नर्क बन्दैछ । समाजकै ब्यक्तिबाट बलात्कार भएर जन्मेका बालकहरूको जिम्मेवारी पिडीताले नै बोक्नु परेको छ भने ति त बिदेशीका भ्रुण हुन् तीनको जिम्मा कसले लेला ? सन्जालमा अन्तर्राष्ट्रिय भान्जाभान्जी नाम दिएर महिलामाथी ब्यंग्य प्रहार भैरहेको छ ।समस्या समाधानतिर लाग्नुभन्दा मजाकतिर समाज गएको छ । अबको समस्या भनेको तिनै अबैधानिक बच्चा तथा तिनका आमाहरू हुंदैछन् । घरमा खान लाउनको समस्या छंदैछ, त्यसमाथि ती बच्चाको जिम्मेवारी कसरी लिन सक्लान् ती महिलाले ? कति भयावह स्थिति छ ?
देशमै रोजगारी पाएको भए बैदेशिक रोजगारमा हानिनु पर्ने नै थिएन ।बैदेशिक रोजगारमा जानु नपरेको भए अबैधानिक बच्चा बोकेर देश फिर्नु पर्ने थिएन । चरम गरीबीका कारण, अशिक्षाको कारण, जनचेतनाको स्तर नउकासिएको कारण, अर्थोपार्जनमा महिला पछाडी रहनुको कारण यस्ता घटनाहरूले निरन्तरता पाइरहेका छन् । अब राज्यले आफ्नो दायित्व बोध गरेर ति बच्चाहरूको ब्यावस्थापन गर्नुपर्छ । यो अवस्था निम्तनुको मुख्य कारण भारतसंगको खुला सिमाना पनि हो । सजिलैसंग बोर्डर पार गराई दिल्ली मुम्बईको बाटो हुंदै तेस्रो मुलुक पुर्याउन सजिलो भएकाले पनि धेरै चेलीहरू सुखी जीवनको सपनासँगै बिदेशिएका छन् । मानव तस्करहरूलाई खुला सिमानाले अझ हौस्याएको छ । अर्को कारण सीमा सुरक्षामा चरम लापरवाही, कमजोर सुरक्षा प्रणाली र अनुसन्धान पनि हो । जसका कारण मानव तस्करी बढिरहेछ ।
यसरी भारतको बाटो हुँदै जाने महिलाहरू बढी यौनदुराचारको शिकार भएका छन् । बन्धकमा परेका छन् र साउदी कुवेतीका गर्भ लिएर देश फर्केका छन् । यस्तो लर्को एयरपोर्टमा हेरौं ।
समस्या जटिल छ । ति बिदेशिका गर्भहरू यहां जन्मिएपछी तीनको लालनपालन कसले कसरी गरिदिने ? सरकारको ध्यान जाओस्, बहस गरोस् र यस बिषयमा गम्भिर भएर समस्या समाधानको बाटो खोलिदेओस् ।