उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै मिलेर देशलाई कोल्टे फेर्न आवश्यक रहेको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतरा बढेकाले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने र युवालाई स्वदेश फर्काएर देशलाई वृद्धाश्रम हुनबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने समेत प्रष्ट पारे ।
मन्त्री श्रेष्ठले देशको उत्पादन र निर्यात वृद्धि, आयात प्रतिष्थापन गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढेकाले अव विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित निरन्तरता दिने बताए । उनले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरूलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताएका थिए ।
सुशासन प्रभावकारी बनाउने र इकोनोमि एक्टिभिटी बनाउने काममा सरकार लागिपरेको भन्दै अब पनि बकबक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर गर्दै सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नुपर्ने आवश्यकता औल्याएक छन् ।
अहिले सरकारले उर्जा क्षेत्रलाई फड्कोकारी रुपमा विकास गर्ने नीति लिएको र नेपालको आर्थिक विकास र समृद्धिको यात्रा तीव्र बनाइ लगानी भित्र्याउनका लागि सरकारले कुनै कमी हुन नदिने बताएका छन् । साथै मन्त्री श्रेष्ठले निर्माण प्रक्रियालाई तीव्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको र देशलाई परिवर्तन गर्न सबै एक हुनुपर्ने बताए ।