प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । बुधबार बिहान प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेकाले १५ दिनभित्र समायोजन टुंग्याउन निर्देशन दिएका हुन् ।
बुधबार बिहान बालुवाटारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रीलाई बोलाएर प्रधानमन्त्रीले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा काम गर्न अप्ठ्यारो परेकोले यसमा गम्भीर हुन निर्देशन दिएको बताईएको छ ।
संघीयता कार्यान्वयन नहुदा त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परेको र प्रदेश सरकारका काम प्रभावित भएकाले विरोधीहरूले यसैलाई बहाना बनाएर संघीयतामाथि हमला गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई रहेको थियो ।
प्रहरी समायोजनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाएको उक्त बैठकमा गृहमन्त्री नयारणकाजी श्रेष्ठलगायत मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र गृह मन्त्रालयका अधिकारी उपस्थिती रहेको थियो ।