२२ जनवरी, भारत उत्तर प्रदेशमा निर्मित राममन्दिरको उद्घाटन अर्थात प्राणप्रतिष्ठा गर्ने दिन । ५ सय वर्षको विवादको अन्त्य गर्दै भारतीय सर्वोच्च अदालतले राममन्दिरको पक्षमा फैसला गरिदिएपछि भारतको हिन्दुवादी सत्ता र विश्वकै हिन्दु समुदाय उक्त दिनको प्रतिक्षामा उत्साहित रहेको छ । करीव २ महिनापछि हुने भारतको संघीय निर्वाचनको मुखमा हुनलागेको यो मन्दिरको उद्घाटनले पुनः नरेन्द्र मोदीकै नेतृत्वमा सरकार बन्ने आँकलन गर्न थालिएको छ । करिब १ अर्व ४० करोड जनसंख्या भएको भारतमा अर्वको संख्यामा हिन्दु नै भएकाले पनि यस्तो अनुमान गर्न सहज भएको हुनुपर्छ । अयोध्या, जो नेपालको निकट छ, त्यसको प्रभाव नेपालमा पर्ने कुरा निश्चित छ । पहिले कांग्रेस आईको सरकार थियो र नेपाली कांग्रेसलाई धर्मनिरपेक्षतामा लाग्न दबाब थियो, अहिले भाजपाको सरकार भएकाले त्यो निर्णय बदल्न कांग्रेस बाध्य हुनेछ भने परिदृश्य कम्युनिष्टसमेत गेरूबस्त्र लगाएको देखिदैछ । यसैवीच भारतको भाजपा सरकारलाई पनि नेपाल हिन्दुराष्ट्र भयो भने सहज हुने विश्लेषण भइरहेको छ । अर्थात् नेपालको सत्ता प्रणाली फेरबदल हुने पक्का छ ।
विश्लेषकहरू नेपाल हिन्दुराष्ट्र घोषणा भयो भने सत्तारूढ भाजपालाई ३ प्रतिशतको फाइदा हुने बताउँदैछन् । यहीकारण पनि नेपाल भारतको विशेष प्राथमिकतामा परेको अनुमान गरिएको छ । प्रश्न के छ भने नेपालका धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतावादीहरूले भारतको दबाब मान्लान् ? कर्मकाण्डी हिन्दु हुने चरित्र त धेरैपल्ट देखाइसकेका नेताहरूले हिन्दुराष्ट्र नै घोषणा गराउलान् र ? प्रश्न गम्भीर छ । अमेरिकी, युरोपियन दबाब झेल्न नसकेर कतिपय मामिलामा उनीहरूकै साँचोमा ढालिएका हाम्रा नेताहरूले भारतको हिन्दुवाद स्वीकार्ने कुरामा शंकै छ । पूर्वाभ्यासको रूपमा भारतले प्रधानमन्त्री तथा कमरेड प्रचण्ड भारत गएका बेलामा महाकालेश्वर मन्दिरमा गेरूबस्त्र धारण गर्न बाध्य पारिदिएका थिए । फर्केपछि प्रचण्ड पुरै मन्त्रिमण्डल बोकेर पशुपतिको शरणमा पुगेको पनि देखिएकै हो । केही समय मात्र भयो, कांग्रेस सभापति शेरबहादुर देउवाले हिन्दुराष्ट्रका सम्बन्धमा छलफल गर्न सकिन्छ भनेकै हुन् । यसपछि बहस चलेको थियो– हिन्दुराष्ट्रका लागि संविधान संशोधन गर्ने वातावरण बन्ला त ? प्रमुख राजनीतिक दलहरू मुखामुख गरिरहेको देखिन्छ, भने रवि लामिछानेहरू विरोधमा उभिएजस्तो गरिरहेका छन् । हुन त जानकारहरू भन्छन्– नेपालका राजनीतिक दल र नेताहरूमा कुनै सिद्धान्त र अडान नै छैन । पद, पैसा र शक्तिका लागि जतातिर पनि यिनीहरू ढल्कन सक्छन् । विदेशी शक्तिका सामु यिनीहरू झुक्न बेर मान्दैनन् । नेपालका इस्लामहरूले पनि नेपाल हिन्दुराष्ट्र हुँदा आफूहरू सुरक्षा अनुभूति गर्न सकिने धारणा पटक पटक व्यक्त गर्दै आएका छन् । मात्र इसाईहरू भने हिन्दवादको विपक्षमा छन् । ९५ प्रतिशत ॐकार परिवार जाग्यो भने नेपाल हिन्दुराष्ट्र हुनसक्छ । हिन्दुराष्ट्र घोषणाका आधार पर्याप्त छन्, यस हिसावले भन्दा पनि २२ जनवरीमा राममन्दिरमा प्राणप्रतिष्ठा हुँदा नेपालमा ठूलै प्रभाव पर्ने र परिवर्तन हुनसक्नेछ ।
पूर्वराजा यतिबेला देशदौडाहमा छन् । पूर्वराजाको मठमन्दिरको दर्शन र आमनागरिकसँगको अन्तरकृया बढ्दो छ । २२ जनवरीका दिन नेपालका पूर्वराजालाई भारतले आमन्त्रण ग¥यो भने त्यसको सिधा प्रभाव नेपालमा पर्नेछ । त्यसो भयो भने नेपालको संविधान संशोधन गरेर हिन्दुराष्ट्र घोषणा गर्ने प्रत्यक्ष दबाब पर्नेछ भन्नेहरू पनि छन् । के नेपाल हिन्दुअधिराज्य हुनसक्नेतिर अग्रसर भएको हो त ? नेपालमा हिन्दुराष्ट्र, संघीयताको खारेजी र राजतन्त्रको पुनस्र्थापनाका लागि जुन प्रकारको जनअसन्तोष बढेर गएको छ, सडक प्रदर्शनहरू भइरहेका छन्, त्यो निर्णय निकट देखिन्छ । नेपालमा सडक संघर्ष चर्कदै जानु, जनअसन्तोष बढ्दै जानु र आमनागरिक अर्को परिवर्तनका लागि तैयार भइरहेको देखिनु तथा भारतको मनसाय पनि खुल्दै जानुले अब नेपालमा परिवर्तन अवश्यंभावी छ भनेर लख काट्न सकिन्छ । बढ्दो भ्रष्टाचार, अनाचार, दुराचार, अपराधिकरण लगायत सबैखाले बिकृतिहरू चरमचुलीमा पुगेको र नागरिकहरूले पनि राजा र राजसंस्थाको अभिभावकत्व खोजेकाले नेपालको भावना अनुरूप अर्को परिवर्तन चाँडै पुनस्र्थापित हुने विश्वास गर्न सकिन्छ । स्वयम् कांग्रेस सांसद शंकर भण्डारीले समेत यहीवर्ष भित्रमा यो संविधान परिवर्तन हुन्छ भनेर ठोकुवा गरेका छन् । हेर्नु यत्ति छ, राजनीतिक दलहरूको प्रतिधिmया कस्तो हुनेछ ?