नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरूको संख्या थप्न नमिल्ने बताएका छन् । मन्त्री श्रेष्ठले अहिले नै मन्त्रालय थप्ने कुरा सम्भव नभएको भन्दै भएकालाई पनि घटाउनुपर्ने तर्क गरेका हुन् ।
नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारणसभाको ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले महासंघको हस्तकला निर्यात विकास मन्त्रालय बनाऔँ भन्ने माग सम्बोधन गर्न नमिल्ने बताएका थिए । उनले यो हस्तकला विकास मन्त्रालय नै बनाऔँ भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो आफूलाई नलागेको बताएका छन् ।
सरकारले हस्तकला जस्तो तुलनाात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तीव्रता दिन चाहेको भन्दै सरकार सकारात्मक दिशामा अगाडी बढेको बताए । उनले परिवर्तनमा अन्तर्निहित निर्देश अनुसारको जनताको अपेक्षा र आजको आवश्यकताअनुसार विकास र सम्बृद्धिको गतिलाई तिब्रता दिन नसकेकोमा दुख ब्यक्त गरेका थिए ।
सरकारले तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताउदै मुलुकको विकास र समृद्धिका लागि तत्काल ठुला उद्योगहरु स्थापना गरेर अघि बढ्न सकिने अवस्था नरहेको भनाई राखेका थिए ।