आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ । निर्वाचन आयोगले सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारहरुबाट दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरी आज नामावली प्रकाशन गर्न लागेको हो ।
आयोगको कार्यतालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारहरुको आज नामावली प्रकाशन गर्न लागिएको हो । सोमबार मनोनयन दर्ता गरेका उम्मेदवार मध्येबाट सुदूरपश्चिम प्रदेशमा कांग्रेसका तर्फबाट अपांगता समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विक दुई जनाविरुद्ध उजुरी परेको थियो ।
भट्टविरुद्ध अपांगतासम्बन्धी प्रमाण नपुगेको भन्दै एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका थिए भने विकविरुद्ध एमालेकै उम्मेदवार हिक्मत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी हालेका थिए ।
मनोनयन दर्ता गरेका तर राष्ट्रिय सभा निर्वाचनमा भाग लिन नचाहने उम्मेदवारले भोलि शुक्रबार नाम फिर्ता लिन सक्ने आयोगले बताएको छ । शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने बताईएको छ ।
आयोगले पुस २८ गते शनिबार बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र आगामी माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकेको छ ।