Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

देशमा संकट छ, हरेक चिज संकटमा छ

देवी काफ्ले

२४ मंगलबार , पौष २०८०एक बर्ष अगाडि

देशमा संकट छ, हरेक चिज संकटमा छ

हरेक चीज संकटमा छ । आज देश संकटमा छ ।लोकतन्त्र संकटमा छ । अर्थतन्त्र संकटमा छ । शिक्षा संकटमा छ । ब्यावसाय संकटमा छ । देशका कर्णधार भनिएका युवा संकटमा छन् । स्वास्थ्य संकटमा छ । सरकार संकटमा छ ।किसान जहिले पनि संकटमा छन् । उद्योग संकटमा छ । आज हरेक नागरिक संकटमा छन् । रोजगारी छैन । बैदेशिक रोजगार छाडेर देशमै केही गर्छु भनेर फर्केका युवाहरूको उत्पादन संकटमा परेर फेरी पलायन हुंदैछन् । यी त देखिएका प्रतिनिधी संकट मात्रै हुन् ।
सरकारमा जो पुगे पनि सम्बृद्धिको बाटोमा छौं भन्छन् ,रोजगारीको ब्यावस्था देशमै गराउँछौं भन्छन् तर न त उत्पादित वस्तुले बजार पाउँछ न त नयाँ उद्योगधन्दा खुलेका छन्, बरू भएका उद्योग, कलकारखाना बेचिएका छन् कि त बन्द गराइएका छन् । कस्तो दोहोरो चरीत्र देखाउंछ नेतृत्व वर्गले जनतालाई?जनता असमन्जसमा छन् । बेथितीले हाँगाबिंगा फैलाएर ओसेप परीसक्यो ।
चिया पसलेकहां चियाको चुस्की लिंदै देश, शासन सत्ताको चर्को बिरोध तथा दलको हिमायती देखाउनेहरू देखि लिएर स्त्रि धसेका धारे, सफाचट भद्रहरूसम्मलाई बिचित्र रोग लागेको छ दोष अर्काको गर्धन खचक्कै हुने गरी थोपर्ने । यो थचार्ने र गालीको बर्खे बर्षात गराउने रोग म नै सर्वेसर्वा भन्नेदेखी लिएर कामको नाममा सिन्को नभाँच्ने दिनभरी पाते गफ चुटेर बेलुका सोमरसास्वादन गरी स्वास्नी द्वादसेहरूलाई समेत करप्प पारेको छ । स्वतन्त्रता र अधिकारका गफ चुट्ने महासयाहरूलाई यसले चिरिप्प च्यापेको छ । राजनीतिमा लागेका तर कुनै फाइदा लिन नसकेका खुर्मे नेताहरूलाई त झन् उखरमाउलो पो बनाएछ ।
यता संकट उता संकट त्यता संकट यत्रतत्र संकट छ भन्यो बिभिन्न बहानामा सिधासाधा बेरोजगारहरूको बुद्धि भुट्यो हाँडी चर्कने गरी तंलाई सेटल गर्दिन्छु भन्यो पैसो ऐंठ्यो अनि फोनको स्विच अफ गर्यो गर्लफ्रेण्डको हात समात्यो रिसोर्टतिर लाग्यो गर्नेहरूको छुट्टै सान छ । सामाजिक सञ्जालमा स्क्रिनमा शरिर प्रदर्शनी गर्यो ट्यापट्याप पार्नुस ्भन्यो गुलावका फुल माग्यो गर्दै दैनिक नयाँ लुगा र ब्युटिपार्लरको फेरो लाउनेहरूको संकट छुट्टै छ । 
सबैभन्दा मौलाउँदो घाँटी थेचार प्रतियोगिता झोलेहरूमा चलेको छ । एक किसिमले भनौं भने राष्ट्रिय स्तरको गाली प्रतियोगिता नै चलेको छ । सोझोसुधोको त दिनै छैन । आफु समाहित दलको नेताको आचीलाई पनि गुंदपाक सम्झनेहरूका कारण नेता भ्रष्ट भए भन्ने चेतना कैले पलाउला र यहां ? अनाहकमा मान्छे मार्दा पनि जिम्मेवारी लिनु पर्दैन भन्दै गोब्रे ल्वांठहरू डुक्रिएको देख्दा ताज्जुब लाग्छ ।
संकटले थांग्नामा सोत्र्यान्न परेका छन् हाम्रा नेताहरू ।भ्रष्टाचार र घोटालाका फाइल खोल्छु भनेर पद र कुर्सीका लागि जस्तासुकै सम्झौता गर्ने, जनतामाझ जाने मान्द्रे गफका गुड्डी हाँकेर फस्ल्यांगै पारिदिने,कार्यकर्तालाई बुरूक बुरूक उफार्न हौस्याउने, साइवर दस्ता सन्चालन गर्ने आफुहरू तारेहोटलमा लंगौटी फुस्किनेगरी चियर्स गर्ने घोटालालाई शुद्धिकरण गरि करोडौं रकम घिच्ने । काले काले मिलेर खाऊं भालेजस्तै गरी अस्तित्व बेचेर लाजको संकटले उंधोमुन्टो जोताइदिएको छ ।
फेरी झोले,चम्चेहरू पनि संकटग्रस्त नभएका कहां हुन् र ? यिनका पिडा झन् ठूला पो छन् । पावरफुल नेता, मन्त्रीकहाँ ठेक्कापट्टाका अफर लैजाने, बिकासका कामहरू निर्माणहरूका ठेक्का पार्ने, करोडौं भेटी चढाउने बिकासे बजेट खर्लप्पै हसुर्ने, निर्माण गरेको बाटो तीनदिनमा उप्कोस्, पुल उद्घाटन नहुँदै ढलोस् आफ्नो गोजी रित्तो नहोस् भन्ने निकै हेक्का राख्ने सेवाको भावनामा संकट लागेर यत्रतत्र सर्वत्र फैलिएका बनढाडेहरूको पनि कमी छैन ।
कुनै न कुनै संकट मान्छेको जीवनमा आइरहन्छ ।दैविय बाटो होस् या मानविय या त मानव सिर्जीत संकट संकट नै हो ।अहिले हामी पनि कहिले कोरोनाले, कहिले भूकम्पले, कहिले राजनितीले त कहिले खराब नेतृत्वका कारण संकटमा परिरहेका छौं ।दैविय संकटसंग जुध्न नसके पनि मानव सिर्जित संकटको डटेर सामना गर्न सक्नुपर्छ । नागरिक सचेत हुनुपर्छ । गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्छ अन्यथा हाम्रो लागि मानव सिर्जित संकटले भयावह अवस्था ल्याउने छ ।