निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगको स्वीकृत कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालयहरूमा मतदाता नामावली प्रकाशन हुने भएको हो ।
यसअघि आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । आयोगकाअनुसार प्रकाशित हुने नामावलीमाथि आजै दाबी–विरोध गर्न सकिने जनाएको छ । दाबी–विरोधमाथि छानबिन गरी आयोगले पुस २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन् । आयोगले प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ तोकेको छ । साथै उम्मेदवारको मनोनयन दर्ताका लागि आयोगले पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ ।
आयोगले यहि पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेको छ ।