भारतीय विदेशमन्त्री नेपाल-भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी नेपाल आइपुगेका छन् । भारतीय वायुसेनाको विमान मार्फत भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल आएका हुन् ।
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन नेपाल आएका विदेशमन्त्री जयशंकरले ११ बजे शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग र १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी भारतीय विदेशमन्त्रीको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेपछि दिउसो दुई मुलुकबीच आयोजित संयुक्त आयोगको बैठकमा सहभागी हुने बताईएको छ । दिउँसो संयुक्त आयोगको बैठकपछि नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
विदेशमन्त्रीको टोली भोलि बिहान पशुपतिनाथ मन्दिरमा पूजापाठ गरेर भारतीय दूतावासको पहलमा भएको पुस्तकालय र अन्य भौतिक निर्माणको उद्घाटन गर्ने र दिउसो भारतीय वायुसेनाको विमान मार्फत बैंगलोर हुदै स्वदेश फर्कने बताईएको छ ।