राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच जना नेताले भैरहवा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक 'दर्शन भेट' गरेका छन् । नागरिक अभिनन्दन तथा भेटघाटका लागि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्रसँग राप्रपाका नेताहरुले सामूहिक 'दर्शन भेट' गरेका हुन् ।
भेटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुध्दिमान तामाङ, महामन्त्री डा.धवलसमशेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंहको सामुहिक उपस्थिति रहेको थियो ।
भेटम सहभागी वरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्रसहितको सामूहिक तस्वीर सेयर गर्दै भेटवार्ता भएको जानकारी दिएका थिए ।
मिश्रले पूर्वराजाको भनाई भन्दै लेखेका छन्,'हामी सबैले धेरै देख्यौ/बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरोलागि बराबर छन् ।'
पूर्वराजा आफ्ना परिवारका सदस्यहरुसहित नागरिक अभिनन्दन तथा भेटघाटका लागि केही दिनदेखि भैरहवामा छन् । एक सातादेखि रुपन्देहीमा रहेका पूर्वराजा शाहलाई आज बिहीबार भैरहवामा राजावादी संस्थाहरुले नागरिक अभिनन्दन गर्ने तयारि छ ।