जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र सोही पार्टीकी नेतृ तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साह पक्राउ परेका छन । माइतीघर मण्डलाको निषेधित क्षेत्रमा जुलुस र प्रदर्शनको तयारी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु 'धोती दिवस' मनाउन सडकमा आएका थिए । 'धोती दिवस' मनाउने भन्दै माइतीघर मण्डलाको निषेधित क्षेत्रमा जम्मा भएका डा. सिके राउतसहितको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।
निषेधित क्षेत्रमा जुलुस र प्रदर्शनको तयारी गरेर माइतीघरबाट बानेश्वरतर्फ लाग्ने क्रममा जनमत पार्टीका अध्यक्ष डा. राउत, सोही पार्टीकी नेतृसमेत रहेकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री साहलगायतका नेताहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।
आज अंग्रेजी नयाँ वर्ष जनवरी १ तारिकका दिन काठमाडौँलगायत पहाडी क्षेत्रमा केहि समय अघिदेखि 'टोपी दिवस' मनाउने गरिएकोमा डा. राउतको टोलीले भने 'धोती दिवस' मनाउन भन्दै निषेधित क्षेत्रमा जम्मा भएर प्रदर्शन शुरु गर्ने तयारी गरेको थियो ।