Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

स्कूल, कलेजलाई इन्धन आयातको लाइसेन्स

०६ सोमबार , पौष २०७२१० बर्ष अगाडि

 धर्मरत्न श्रेष्ठ :
कुन मुलुक होला, जहाँका स्कूल, कलेजले पेट्रोलियम पदार्थ आयात गर्छन्। नेपालको ओली सरकारले स्कूल, कलेज, होटल, सञ्चारगृह, बैंक सबैलाई उद्योग प्रयोजनका लागि पेट्रोलियम पदार्थ आयात गर्न पाउने निर्णय गरेको छ। यस्तो पनि सरकार? भन्न त भन्थे प्रचण्डले, ओलीको मानसिकता खलबलिएको छ, उनको उपचारका लागि राज्यले जोहो गरिदिनुपर्छ। यो आन्दोलनको आक्रोस होला भनेको त प्रचण्डकै पार्टी सरकारमा सामेल छ र त्यही सरकारले पुस ३ गते शुक्रवार राति प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। कतै बिजुलीपानी धोकेको रन्कोमा यस्तो निर्णय गरेको हो कि? भनेर बुझ्दा त्यो पनि होइन रहेछ।
पहिले कालु मनांगे सुन तस्करीमा खुब गनाएका थिए। पछि उनी सुधि्रए र स्कूल खोले। स्कुल कलेज खोल्दा तस्करीको भन्दा बढी आम्दानी हुने उनले देखेर यसो गरेका होलान्। महाराजगञ्जमा उनले खोलेको स्कूल कलेज नामी छन्। त्यसैगरी ठूला बुद्धिजीवीहरुसमेत अमेरिकी, बेलायती कलेजका नाम अनुकरण गरेर स्कुल, कलेज खोल्ने होडबाजी नै चल्यो र त्यसमा रोलमोडल समेत बनेर विज्ञापनमा देखिए।
चाहिएको पैसा हो र पैसाका लागि सुन व्यापारीदेखि बुद्धिजीवीसम्म एकै लहरमा देखिएको पेसा शिक्षाक्षेत्र थियो। अव शिक्षा, सञ्चार, बैंक, आयोजना, होटल, उद्योग सबैले आफूलाई चाहिने इन्धन आफैले आयात गर्न इजाजत पाउने भएपछि सरकारलाई इन्धन आपूर्तिको टन्टै साफ हुनेभयो। उनीहरु पनि पेट्रोलियम पदार्थ आयात गरेर रातारात लखपतिबाट अरवपति हुने भए। देशमा पेट्रोलियम पदार्थ आयातको व्यापार खुब फस्टाउने भयो। राजस्व पनि खुब उठ्ती हुनेभयो। प्रधानमन्त्री केपी ओलीले झिकेको यो कम्बल ओढेर घ्यू खाने तरकीवले देश अझ पतन हुने निश्चित भयो।
मधेस आन्दोलन र भारतीय नाकावन्दीले दिनहुँ ५ हजार लिटरसम्म चोरीको पेट्रोल खपत भइरहेको छ। सरकारी दरभन्दा तीन दोब्बरसम्ममा ग्यास, पेट्रोल, डिजल बेच्नेमा सरकारी कर्मचारी, आयल निगम, सुरक्षाकर्मीदेखि दलालहरु सबै एकै लहरमा लागेका देखिएका थिए। अव राज्यका सबै बर्ग तस्करी धन्दामा लाग्न सरकारले बाटो खोलिदिएको छ। किन चाहियो ज्ञान। तस्करी गर्ने अक्किल भए पैसा कमाउन सकिने भएपछि इन्धन आयात गर्ने अनि यो मनसुन र भनसुनलाई उपयोग गरेर भटाभट बेचिदिने। यो लोकनेता, लोकसरकार बहुलाएको नभए के हो? स्कूल कलेज र सबै उद्यम व्यवासय गर्नेले पनि पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपछि सबैले आफ्ना उद्यममा इन्धन शाखा र भण्डारणका लागि पम्प नै खडा गर्नुपर्ने भयो कि भएन?