सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू भेला भएर संघीय सरकारलाई दबाब दिने भएका छन् । आज विहिवार बाग्मती प्रदेशको राजधानी हेटौँडामा सातैवटा प्रदेशका मुख्यमन्त्रीहरू भेला भएर संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन संघीय सरकारलाई दबाब दिने भएका हुन् ।
संघीय सरकारले संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार नदिएको भन्दै उनीहरुले संघीय सरकारसँग संविधान बमोजिम अधिकार प्रत्यायोजनको लागि माग गर्ने जनाइएको छ । यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए ।
सातै प्रदेशका मुख्यमन्त्रीहरू बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौँडामा भेला भएर संघीय सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै फेरि मोर्चाबन्दी कस्न लागेका हुन् । संघीय सरकारसँग अधिकार माग्न अझै थप दबाब दिनुपर्ने अवस्था देखिएको भन्दै मुख्यमन्त्रीहरूले मोर्चाबन्दी कस्न बैठक बस्न लागेको बताएका छन् ।
यसअघि राष्ट्रिय समन्वय परिषद्को बैठकमा भएको निर्णय अहिलेसम्म कार्यान्वयन नभएको र लामो समय बितिसक्दा पनि संघीय सरकारले आफूहरूको माग पूरा नगरेको उनीहरुको गुनासो छ । अधिकार नै नभएपछि प्रदेशले कसरी काम गर्ने भन्दै संघीय सरकारले संविधानबमोजिमको अधिकार प्रत्यायोजन गर्नुपर्ने उनीहरुको माग छ ।
यसअघि पोखरामा बसेको मुख्यमन्त्रीहरूको बैठकले ६ महिनाभित्र सङ्घीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउने, जनशक्ति व्यवस्थापन र राष्ट्रिय तथ्याङ्कको एकीकृत अभिलेख प्रणाली विकास गर्ने, साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानून निर्माणमा सहकार्य गर्ने, प्रदेशले पाउने अधिकारलाई प्रत्यायोजन गर्ने लगायतका निर्णय गरेको थियो । तर संघ सरकारले ६ महिनाको अवधिमा ती निर्णय कार्यान्वयनको विषयमा कुनै कदम नचालेपछि मुख्यमन्त्रीहरू फेरि दबाब दिनुपर्ने अवस्थामा पुगेका बताईएको छ ।