अनैतिक र गैरजिम्मेवार राजनीतिले अव पराकाष्ठा नाघ्न थालेको छ। यिनीहरु काम कम, नाटक र तमासा बढी देखाउने गर्छन्। यस्तै तमासा हो साइकलमा झण्डा हालेर हिड्ने वातावरण मन्त्री र पछि पछि साइकल चढेर हिड्ने सचिवको कार्यशैली। मन्त्री र सचिव साइकलमा, यिनका छोराहरु मोटरमा। यही चर्चा छ राजधानीमा। सामाजिक सञ्जालहरु भरि। देखाउनका लागि वातावरण मैत्री बनेका यी मन्त्री र सचिव चिनेका अनुहार हुन्। यिनको चरित्र मात्र देखावटी हो। एकप्रकारले भन्ने हो भने गाईजात्रा हो। यस्तो नाटकीय कार्यले देश विकास हुन्छ भन्नु वाहियात हो। न त वातावरण नै स्वच्छ हुन्छ। प्रतिवद्धता र इमान्दारिता नभएकहरुले गर्ने गर्छन् ढकोसला। यो त्यस्तै ढकोसला हो। अव यस्ता नाटकहरु बन्द हुनुपर्छ। सबैभन्दा बढी भ्रष्टाचार विज्ञान, प्रवृधि तथा वातावरण मन्त्रालयमा भइरहेको छ। गजब त के छ भने भर्खर फ्रान्सको पेरिसमा सम्पन्न विश्व जलवायु परिवर्तन सम्मेलनमा नेपालले प्रस्ताव पेश नगरेर ३० लाख डलर गुमाएको छ। यो सबै वातावरण मन्त्री र सचिवको गैरजिम्मेवारीपन हो। र, विश्व सम्मेलनमा नेपालको स्थिति र नेपालले पाउनुपर्ने रकम समेत गुमेको छ। यस्तै हुन्छ जिम्मेवारी?


