‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’अन्तर्गत मिक्लाजुङ गाउँपालिकामा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागि हुने भएपछि उक्त कार्यक्रममा काेशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन पहिचानवादीले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । मिक्लाजुङ जाँदा काेशी प्रदेशका सांसद र मन्त्रीलाई साथमा नल्याउन पहिचान पक्षधरले आग्रह गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई पहिचानवादीले आफ्नाे यात्रामा काेशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन आग्रह गर्दै यदि त्यसाे नगरेमा प्रधानमन्त्रीकाे विराेध गर्ने चेतावनी दिएका छन् । माओवादीले ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तरत मिक्लाजुङ गाउँपालिका– ५ खोलीटारमा कार्यक्रमकाे आयाेजना गर्ने तयारी छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रदेश १ पुन नामाङ्कन संयुक्त सघर्ष समितिले कोशी प्रदेशका सांसद र मन्त्रीलाइ प्रधानमन्त्रीसँगै मिक्लाजुङ नआउन आग्रह गरेकाे छ । पहिचानवादी संघर्ष समितिले कोशी प्रदेशका सांसदलाई यात्रामा सहभागी नगराए प्रधानमन्त्रीकाे विरोध नगर्ने बताएको छ ।
उनिहरूले बिहीबार प्रदेशका पर्यटन मन्त्री गणेश उप्रेती मिक्लाजुङ जाने क्रममा पनि अवरोध गरेका थिए । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले प्रदेशका सांसद र मन्त्रीलाई निषेध अभियान चलाइरहेका छन् ।
प्रधानमन्त्री मिक्लाजुङ जानुअघि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उदघाटन गर्ने कार्यक्रम रहेकाे छ । त्यसपछि मिक्लाजुङकाे कार्यक्रम सकिएपछि दिउँसो मोरङ व्यापार संघले आयोजना गर्ने मोरङ ब्यापार संघ एक्स्पो उदघाटन गरेर प्रधानमन्त्री काठमाडाैं फर्कने बताइएकाे छ ।