हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बृहत् आन्दोलन गर्ने घोषणा भएको छ । धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजीको लागि जनदबाव सिर्जना गर्न राप्रपाले आन्दोलन गर्न लागेको हो ।
काठमाडौं धुम्बाराहीमा पुस १ गतेदेखि ३ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजका लागि बृहत् आन्दोलन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाको बैठकले पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न आन्दोलनको तयारी स्वरूप पुस र माघ महिनामा देशभर सभा र तयारीका काम गरिने साथै, फागुनमा मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आन्दोलनका लागि समान विचार राख्ने दल, अभियान्ता तथा बुद्धिजीवी एवं देशभित्र र देशबाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपाले आह्वान समेत गरेको छ । बैठकले आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको बताएको छ ।
आन्दोलन समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य,आमन्त्रित केन्द्रीय सदस्य रहने बताईएको छ । साथै, भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गर्दै कार्यक्रमलाई चैतसम्म निरन्तरता दिने तयारी गरेको बताईएको छ ।