Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

नेपालमा हिन्दु राजनीति र विश्वविद्यालयका कुरा

डा.केशव देवकोटा

०४ बुधबार , पौष २०८०एक बर्ष अगाडि

नेपालमा हिन्दु राजनीति र
विश्वविद्यालयका कुरा

नेपालमा ८२ प्रतिशत हिन्दू धर्माबलम्बीहरू रहेको मानिन्छ । एकातिर धर्मनिरपेक्ष घोषणा गरिएको छभने अर्कातिर हिन्दूसँग सम्बन्धित बिभिन्न संघसंस्था र पार्टीहरू छन् गतिविधि खासै छैनन् । राप्रपा र राप्रपा नेपाल लगायतका कतिपय पार्टीहरूले आफूलाई हिन्दूवादी पार्टी बताउने गरेका छन् । तर उनीहरूकासमेत हिन्दूधर्ममा आधारित गतिबिधिहरू देखिन सकेका छैनन् । पछिल्लो समयमा नेपथ्यबाट नेपाललाई फेरी हिन्दू राज्य बनाउने कुराहरू पनि उठिरहेका छन् । यो बिरोधाभाषका बीचमा हालै पशुपतिनाथका नाममा धर्मभकारी थापेर श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्नेबारे छलफल भएको समाचार बाहिर आएको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपति हिन्दू विश्वविद्यलय स्थापनाका लागि विद्वानहरूसँग सुझाव लिन गतसाता आयोजना गरेको एक कार्यक्रममा  पशुपति हिन्दू विश्वबिद्यालय स्थापना तयारी समितिका संयोजक डा जगमान गुरूङले सरकारको अनुदानसमेत नलिई धर्मभकारी थापेर विश्वबिद्यालय स्थापना गर्न लागिएको बताए । कोषले गठन गरेको समितिले शिवसंकल्पका आधारमा विश्वबिद्यालय स्थापना हुनेगरी तयारी गरेको पनि बताइयो । त्यसक्रममा डा. गुरूङले पशुपति र हिन्दू दुई शब्दले विश्वमा नेपालको आकर्षण बढाउने बताउँदै विश्वका हिन्दू नेपाल आउने वातावरण बन्ने र त्यसले नेपालको शिर उच्च बनाउने अपेक्षा गरिएको बताइयो । जसका लागि काठमाडौंको गोठाटारमा रहेको कोषको जग्गामा विश्वबिद्यालय बनाउने गरी अध्ययन भैरहेको खुलाशा पनि भएको छ । समितिका सदस्य एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले नेपालका संस्कृतिपरक दर्शनको अध्ययन अनुसन्धान गर्नेगरी पशुपति हिन्दू विश्वबिद्यालय स्थापना हुने टिप्पणी गर्नुभएको छ । त्यसैअनुसारको विश्वबिद्यालय बनाउने गरी कानूनको मस्यौदा भइरहेको पनि बताइयो । विश्वबिद्यालयले कसैलाई सम्बन्धन नदिनेगरी यसको स्वरूप निर्धारण गर्ने पनि खुलासा भएको छ । माओवादी केन्द्रलाई हिन्दू बिरोधी र धर्मनिरपेक्षता समर्थक पार्टी भनेर प्रचार गरिए पनि गत ०७९ चैत दुईगते माओवादी केन्द्र नेतृत्वको सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्य राखेर श्रीपशुपति हिन्दू विश्वबिद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । त्यतिबेला माओवादी केन्द्रका नेता तथा पर्यटनमन्त्री सुदन किराँतीले नै सो विश्वबिद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादनगर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्य रहेको बताउनु भएको थियो । 
०७९ को चैत दुईगते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आधुनिक नेपालको सभ्यताको शुरूवात नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटिएको बताउनु भएको थियो । उहाँले हिन्दू विश्वबिद्यालय राष्ट्रको आवश्यकता भएको बताउँदै नेपाली धर्म संस्कृति, मूल्य,मान्यतालाई देश तथा विदेशमाझ प्रवद्र्धन गर्न यो अभियानले मद्दत पुग्ने दाबिसमेत गर्नुभएको थियो । मन्त्री किराँतीले हिन्दू विश्वबिद्यालयको स्थापनाबाट विश्वभर कूटनीतिक बौद्धिक व्यक्तित्व निर्माणकासाथै सांस्कृतिक कूटनीतिको विकास हुने र यसले पर्यटनको विकास हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा पर्यटन मन्त्रालयका तत्कालीन सचिव सुरेश अधिकारीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा हिन्दू विश्वबिद्यालय स्थापनागर्न लागिएको खुलाशा गर्नुभएको थियो । उहाँले पनि हिन्दू धर्मबारे खोज तथा अध्ययनगरी बौद्धिक अध्यात्मिक चिन्तनको संस्थागत विकास गर्ने लक्ष्यका साथ विश्वबिद्यालय निर्माण गर्न लागिएको जानकारी दिनुभएको थियो । ०७९ फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वबिद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरूङको संयोजकत्वमा समिति गठन गरिएको भनिएको थियो । त्यतिबेला समितिका संयोजक डा गुरूङले पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वबिद्यालय निर्माणको प्रक्रिया अघिबढाइएको बताउनु भएको थियो । मानवीय जीवन पद्धति र यसका बिविध आयामलाई पशुपति हिन्दू विश्वबिद्यालयले प्रमुख विषय बनाउनु पर्छ भन्ने मान्यता राखेर अभियान शुरूगरिएको भनिएको थियो ।
तर त्यतिबेला हिन्दू धर्मलाई राजनीतिक आधार बनाएका नेपालका कुनैपनि पार्टीहरूले यसबारे आआफ्नो ध्यानाकर्षण गरेको देखिएको थिएन । उनीहरूले सरकारको श्रीपशुपति हिन्दू विश्वबिद्यालय स्थापना गर्ने कुराको बिरोध वा समर्थन कुनै पनि गरेको देखिएन । त्यसैगरी नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य, मान्यता तथा उदात्तभावलाई समयको माग अनुरूप प्रवाहित गराउने उद्देश्यले यसअघिनै २०४३ सालको मंसिर २५ गते दाङको बेलझुन्डीमा नेपाल संस्कृत विश्वबिद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वबिद्यालय) को स्थापना भएको थियो । नेपालमा संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकासगर्ने केन्द्रका रूपमा विकसित गर्ने उद्देश्यअनुरूप तत्कालीन राजा महेन्द्रबाट शुरूवात गरेको काम भएकाले राजा वीरेन्द्रको सक्रियतामा महेन्द्र संस्कृत विश्वबिद्यालयको स्थापना भएको थियो ।
२०१० सालमा दाङका शिक्षाप्रेमी तथा स्थानीय मजगैयाँ परिवारबाट दाङको देउखुरी उपत्यकामा १२०० बिगाहा भूमिदानगरी सो विश्वबिद्यालयको पृष्ठभूमि तयार गरिएको थियो । २०११ सालमा दाङस्थित बिजौरीमा जनता महाबिद्यालयको स्थापना भएको थियो र २०२४ सालमा सोही स्थानमा अन्तर्राष्ट्रियस्तरको विद्वत्सम्मेलन समेत गरिएको थियो । सोही पृष्ठभूमिमा २०२६ सालमा महेन्द्र संस्कृत विश्वबिद्यालय स्थापना गर्ने घोषणा गरिएको थियो । योगी नरहरिनाथको नेतृत्वमा स्थानीय शिक्षाप्रेमी तथा अन्य संस्कृत अनुरागी व्यक्तिहरूबाट दानस्वरूप ३२६ बिगाहा जग्गा संकलनगरि २०३१ सालमा दाङको बेलझुण्डीमा संस्कृत अध्ययन संस्थान डीनको कार्यालयको स्थापना भएको थियो । २०४३ सालमा ऐन बनी तत्कालीन महेन्द्र संस्कृत विश्वबिद्यालयको स्थापना भएको थियो भने नेपालमा गणतन्त्रको स्थापनापछि २०६३ सालमा त्यसको नाम परिवर्तनगरी नेपाल संस्कृत विश्वबिद्यालय बनाइएको थियो ।
नेपाल संस्कृत विश्वबिद्यालय स्थापनाका उद्देश्यहरूमा नेपालमा उच्च तहसम्म सुव्यवस्थित किसिमले संस्कृत शिक्षाको पठन–पाठन गराई दक्ष जनशक्ति उत्पादन गर्ने, संस्कृत बिद्याले बिविध क्षेत्रमा प्राप्तगर्दै आएका विशेष उपलब्धिहरूलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वद्र्धनगर्दै ‘वसुधैव कुटुम्बकम्, सर्वे भवन्तु सुखिनः’जस्ता उदात्त भावना प्रवाहित गराउने, नेपालमा अति प्राचीन कालदेखिनै रहँदैआएको संस्कृत बिद्याको गौरवमय परम्परालाई निरन्तरतादिई संस्कृत शिक्षामार्फत् आत्मनिर्भर जनशक्ति तयार गरी राष्ट्रिय आवश्यकता परिपूर्ति गर्ने, सामाजिक आश्यकताअनुसार संस्कृत वाङ्मयमा अन्तर्निहित शास्त्रीय तथा प्रायोगिक विषयहरू आयुर्वेद, योग तथा प्राकृत चिकित्साजस्ता बहुउपयोगी विषयको अध्ययन, अनुसन्धान तथा प्रशिक्षण गराई ज्ञान–विज्ञानका पक्षहरूलाई उजागर गर्ने, प्राचीन वाङ्मयमा निहित परम्परागत धर्म, नैतिक मूल्य–मान्यता, सदाचार र सच्चरित्रको परिपालनागर्दै संस्कार, सभ्यताजस्ता विशिष्टताको खोजी गरी तिनको संरक्षण र सम्बद्र्धन गर्ने, विश्वबिद्यालयलाई ज्ञान विज्ञानको समन्वय केन्द्रकारूपमा विकसित गर्ने लगायत रहेका थिए । खासमा उक्त सँस्कृत विश्वबिद्यालयलाई नै हिन्दू विश्वबिद्यालय बनाइएको भएपनि फरक पर्ने कुराहरू केही पनि थिएनन् । खासमा हुनुपर्ने त्यही नै थियो । तर फेरी सरकारले हिन्दू धर्मको अनुसन्धान एवं सांस्कृतिक कूटनीतिलाई बढावा दिने उद्देश्य राखेर श्री पशुपति हिन्दू विश्वबिद्यालय स्थापनाको सम्भाव्यता अध्ययन थाल्नु आफैमा बिवादास्पद र आश्चर्यको बिषय भएको छ । पर्याप्त पूर्वतयारी बिनानै त्यस्तो विश्वबिद्यालय स्थापना गर्ने प्रयास किन थालियो भन्ने प्रश्न पनि उठेको छ । धर्म निरपेक्षताको पैरवी गरिरहेको माओवादी केन्द्रका नेता एवं पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीले मन्त्रिस्तरीय निर्णय गरेर उक्त विश्वबिद्यालयको सम्भाव्यता अध्ययनका लागि समिति गठन गर्नुले त्यसबारे अनेक प्रश्नहरू उठेका छन् । खासमा माओवादी केन्द्रले यसबारे आफ्नो धारणा स्पष्टगर्नु जरूरी छ । 
२०६२÷२०६३ सालको जनआन्दोलनपछि हिन्दू अधिराज्यबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरिएको थियो । खासमा त्यतिबेला नेपाललाई हिन्दू राज्यबाट च्युत गर्नुुको कारण पनि खुलेको थिएन । ०७२ को संविधानमा धर्मनिरपेक्षता उल्लेख गराएको बिषय पनि विवादित रह्यो । माओवादी केन्द्रका अध्यक्ष तेश्रो पटक प्रधानमन्त्री भएका बेला माओवादी केन्द्रकै पर्यटन मन्त्रीले पशुपति हिन्दू विश्वबिद्यालय स्थापनाको प्रबन्धगर्नु धेरैका लागि बुझ्न नसकिने बिषय भएको छ । हुन त प्रम दाहालले ०८० जेठको चारदिने औपचारिक भारत भ्रमणका क्रममा जेठ १९ गते उज्जैनस्थित महाकालेश्वर मन्दिर पुगेर गेरूबस्त्र धारणगरी काठमाडौंबाटै लगिएको १०८ किलो विशिष्ट प्रकारको रूद्राक्षले महाकालेश्वर महादेवको पूजाअर्चना गर्नुभएको थियो । त्यसपछि उहाँले पशुपतिनाथ र मुक्तिनाथको दर्शनसमेत गरिसक्नु भएको छ । त्यसैगरी नेपाली कांग्रेस र एमाले लगायतका पार्टीहरू पनि हिन्दू धर्मप्रति आकर्षित भएका छन् । छिमेकी भारतमा हिन्दूवादी राजनीतिको जरो गहिरो बन्दै गइरहेको पछिल्लो समयमा नेपालमा पनि बिस्तारै सो राजनीतिलाई भित्र्याउने प्रयास गरिएको पनि देखिएको छ । तर नेपाल संस्कृत विश्वबिद्यालय हुँदाहुँदै माओवादी केन्द्रका मन्त्रिको प्रस्तावमा छुट्टै श्रीपशुपति हिन्दू विश्वबिद्यालयको प्रस्ताव किन गरियो ? सो प्रस्तावको नेपालका विश्व हिन्दू महासंघलगायतका संघसंस्थाले किन चासो दिएनन् ? हिन्दूवादी पार्टीको यसतर्फ किन ध्यानाकर्षण भैरहेको छैन ? यि र यस्ता अनेकौं प्रश्नहरू उठेका छन् । धर्म र राजनीति दुई अलग बिषय हुन् । तर पछिल्लो समय हिन्दू धर्मलाई राजनीतिको बिषय बनाउन खोजिएकाले यसलाई गंभिररूपमा लिनुपर्ने भएको छ ।