उच्च अदालतमा ३० लाख र सम्पत्ति सुद्धिकरणमा १५ लाख धरौटी बुझाएर र उनी अख्तियारको साधारण तारेखमा छुटेका हुन् । बालकृष्ण खाड थुनामुक्त भए, कांग्रेसजनका लाग यो खुशीको खबर हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका, युरोपतिर पठाउने भन्दै राज्यविरूद्धको कसुर गरेका खाड अन्ततः जम्मा ४५ लाख बैंक ग्यारेण्टी बुझाएर छुटाइएका छन् । खाडको छुटाइ सभापति देउवा पक्षका लागि औधी खुशीको कुरा हो । गृह मन्त्री हुँदा खाड र उनको टिमले जेजस्तो कुकर्म गरेका थिए, त्यसबाट अन्तर्राष्ट्रिय स्तरमै देशको सम्मान गिरेको थियो । नेपाली प्रशासन र नेताले के सम्म गर्नसक्छन् भन्ने चर्चा नै चलेको थियो । राज्यविरूद्धका यति जघन्य काण्ड गर्नेलाई छोडेपछि न्यायालयको विषयमा टिकाटिप्पणी भइरहेका छ्न् । खाडजस्ताले ७ महिना थुनामा बस्नु नै बढी हो किनभने न्यायाधीशहरू गठबन्धनले नियुक्त गरेका छन् र १२ बुँदेका समर्थकहरू जो सत्तामा छन् । यस्तो अवस्था छ ।
भ्रष्टाचार र अनियमिततामा नाम आएका ओलीपत्नी राधिका शाक्य, देउवा पत्नी आरजु राणा, रामबहादुर थापा बादल, उनकी पत्नी, यिनै बालकृष्णकी पत्नी मञ्जु खाडको बयानसमेत लिइएन । कानुन छ भनेर देखाउनका लागि खाडलाई थुनिएको थियो, खाडकै जिल्लामा सभापति देउवा पुगेर उनले न्याय पाउनेछन् भनेको केही दिनमै खाड धरौटीमा रिहा भएका छन् । यो देशको कानुन उदेक लाग्दो देखिन्छ ।
खाड छुटे, भ्रष्टाचार जारी छ, भूकम्पपीडित पालभित्रै ३४ जनाभन्दा बढीको चिसोका कारण मृत्यु भइसक्यो, जनतालाई बिझ्दैन । संवेदना हराइसक्यो । राजा महेन्द्रको शालिक भएकै ठाउँमा पुनस्र्थापना गर्न खोज्दा बिरोध गर्ने जनता बढ्दो अपराध र अपराधीमैत्री सत्ता देखेर किन मौनता साध्छन् ? जनता मरे मरून्, देश डुबोस्, गैंडाका छालाजस्ता भइसकेका नेतालाई केही फरक पर्नेवाला छैन । अहिलेकै कुरा गर्दा सांसद अमरेस कुमार सिंहले प्रधानमन्त्री, उनकी छोरी गंगा दाहाल, कांग्रेस सभापति देउवालगायतका थुप्रैको पोल खोलिसक्दा पनि, सर्वोच्च अदालतमा मुद्दा दायर गरिसक्दा पनि जनतालाई रमाइलो नै भइरहेको छ । माथि नै भनियो, श्रीमानहरू गठबन्धन र १२ बुँदेवालाहरूकै पदचापमा चल्ने हुँदा केही हुनेवाला छैन । कारवाही र न्यायनिसाफ हुनेवाला छैन । लुट्नेले जतिसक्छ लुटे हुन्छ यो लोकतन्त्रमा ।
सत्ताधारीका लागि यो व्यवस्थामा जेमन्त गर्ने छुट छ । सत्ताधारीहरू अपराध गर्दै जाने, जनता केही चर्चा गरेर मौनता साध्ने । श्रीलंकामा राजापाक्ष परिवारले देश छाडेर भागझैं नेपालमा पनि त्यस्तै दिन आउँछ भन्नु हल्लामात्र हो । किनकि जनता पार्टी पार्टीमा बिभाजित छन्, कार्यकर्ता बनेका छन् । त्यो दिन नेपालमा कहिले आउनेछैन । देश र जनताका मामिलाको उठान गरेर आन्दोलन थालेका दुर्गा प्रसाईको आन्दोलनको अवस्था के भयो ? मंसिर ७ गतेदेखि सुरू भएको आन्दोलनले परिणाम दिन्छ भनियो, आज आन्दोलन कता पुग्यो पुग्यो । अब फागुन १ गतेदेखि भनिएको छ । लाग्छ, आन्दोलन नै हुँदैन, भए एकदिन हुनेछ र आन्दोलनको तातो चिस्सिने छ । यी सत्ताधारीहरूले देश लुट्दै जाने, लुटेको सम्पत्ति केही कार्यकर्तालाई बाँडेर वाहवाही गर्न लगाउने, जनता पिल्सिदै जाने । हुने यही हो, भइरहेको पनि यही हो । आन्दोलनका समर्थक प्रभावकारीहरू बिस्तारै बिदेशतिर पलायन हुनथालेको बताइन्छ । टोपी र नेपाली ड्रेस लगाएकालाई पक्राउ गर्दै थुन्ने प्रहरी छ यहाँ । सेना यी सबै राजनीतिक तमासा हेरेर बसेको छ । न्यायालय सर्वदलीय जस्तो लाग्छ । पालिकादेखि संघीय सरकार र राज्यसञ्जालमा यिनकै हालीमुहाली रहेको छ । आमनागरिक के हेरेर, कसको भर गरेर बस्ने, आन्दोलन गर्ने ? स्थिति निराशाजनक छ, देश भताभुङ्ग हुँदैछ ।
राजसंस्था पुनस्र्थापना जनताको माग हो । कतिपय राजनीतिक नेताहरू पनि अभिभावक चाहिने कुरा गर्छन् तर धर्म संस्कृति रितिरिजाव, परम्परा मास्ने बिधर्मीको अतिक्रमण रोक्न नसक्ने जनताले राजसंस्था कसरी पुनस्र्थापित गर्न सक्लान् ? दिनहुँजसो काण्ड हुन्छ, कोही सडकमा निस्कदैन । बिद्रोहका लागि नेतृत्व चाहिन्छ, नेतृत्व बिनाको आन्दोलन कसरी अस्थिर हुनेरहेछ, सबै देखिइसक्यो । फागुन ७ गतेको आन्दोलनलाई आक्रोस बनाएर जनता उर्लेका भए परिवर्तन भइसक्थ्यो, भ्रष्टाचारीहरूको साता गईसकेको हुनेथियो, कुशासन गर्नेहरू दण्ड पाएर जेलमा कोचिएका हुन्थे । केही हजार जनता उकाध दिन सडकमा उतारेर यो लूटतन्त्रको पहाड ढल्नेवाला छैन । जबसम्म कार्यकर्ता बनेका जनता जनता बन्दैनन्, तवसम्म यो देशमा केही हुनेवाला छैन ।