बढ्दो विदेश पलायन रोक्न चिकित्सा शिक्षा ऐन संसोधन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ स्थित बलेफी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्स कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
मन्त्री बस्नेतले बढ्दो विदेश पलायन रोक्न चिकित्सा शिक्षा ऐन संसोधन आवश्यक भन्दै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बनाउनका लागि चिकित्सा शिक्षा ऐन संसोधन आवश्यक रहेको बताएका हुन् । उनले चिकित्सा शिक्षा अध्ययनका लागि हरेक वर्ष ठूलो संख्यामा युवायुवती विदेश पलायन भइरहेको भन्दै यसलाई रोक्न सरकार गम्भिर हुनुपर्ने बताएका थिए ।
एमविविएस र एमडी पढाउन नेपालका मेडिकल कलेज र स्वास्थ्य प्रतिष्ठानहरुको क्षमता भए पनि स्वदेशमा पढ्न नदिएर युवायुवतीलाई पढ्न कै लागि विदेश पठाउनु सही नभएको बताए । साथै, सरकारले चाडै चिकित्सा शिक्षा ऐन संसोधन गरेर स्वदेशमै चिकित्सा शिक्षाका सिट बढाउने र त्यसपछि चिकित्सा शिक्षा पढ्न विदेश जानेको संख्या घट्ने उनको भनाई छ ।
विदेशी विद्यार्थी समेत नेपाल आएर चिकित्सा शिक्षा पढ्न चाहिरहेको अवस्थामा आफ्ना विद्यार्थीलाई पढ्न कै लागि विदेश पठाउनु स्वभावित नभएको उनको तर्क छ । उनले १०० बेडदेखि ३०० बेडसम्मका अस्पतालमा नर्सको पढाई गर्ने र ३०० बेड भन्दा माथिका अस्पतालमा एमविविएसको पढाई गर्ने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव पास गरेको बताउदै मन्त्रीपरिषद्का अधिकांश सदस्यहरुले प्रस्तावलाई सकारात्मक लिएको बताए ।
देशमा चिकित्सा शिक्षाको विकास गर्न ढिलो भइसकेको भन्दै जनताको हित हुने कुरामा निर्णय गर्न आफू कहिल्यै पछि नपर्ने बताए । चिकित्सा शिक्षा ऐन तत्काल संसोधन गर्न नसकिए निकट भविश्यमै चिकित्सक र नर्सको अभाव हुने मन्त्री बस्नेतको भनाई छ । उनले अहिलेकै सरकारले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने समेत दावी गरेका छन् ।
कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले शिक्षाको विकास नभएसम्म गाउँको विकास हुदैन भन्दै विद्यालय शिक्षाको सुधारका लागि सरकारले ठोस नीति ल्याउनु पर्ने बताएका छन् ।