नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य बढाउन जोड दिएकी छन् । मन्त्री शर्माले नेपाल राष्ट्र बैंक,भारतीय दूतावास, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्तरुपमा आयोजित कार्यक्रममा दुई देशबीच ‘डिजिटल’ सहकार्य बढाउन जोड दिनुपर्ने बताएकी हुन् ।
मुलुकको समग्र विकासका लागि सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको र सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाइएको मन्त्री शर्माको भनाई रहेको थियो । साथै, उनले नेपाल डिजिटल रुपान्तरणमा तीव्ररुपमा अघि बढिरहेको जानकारी दिँदै छिमेकी राष्ट्र भारतले प्रविधिका क्षेत्रमा गरेको विकास र प्रयोग नेपालका लागि पनि महत्वपूर्ण भएको बताइन् ।
कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गरेकी थीईन् । सोहि कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विकासोन्मुख मुलुकमा प्रविधिको प्रयोग महत्वपूर्ण हुने उल्लेख गर्दै प्रविधिको प्रयोगका सम्बन्धमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको बताएक थिए ।