‘राजा महेन्द्रलाई जसले गाली गरे पनि, अटोक्य्राट्स भने पनि उनैले बनाएको फाउन्डेसनमा नेपाल आज पनि टिकेको छ ।’
– स्व. कीर्तिनिधि बिष्ट
एउटा राजा जसले २००७ देखि ०१७ सम्म १८ ठाउँ भारतीय सेनाले कब्जा गरेको नेपाली भूमिबाट भारतीय सेना फिर्ता पठायो, क्याविनेटमा बस्ने भारतीय प्रतिनिधिलाई हटायो, राष्ट्र बैंकको स्थापना गरेर भारतीय मुद्राको एकाधिकारको अन्त्य गरायो, जसले गरिबको छोराछोरीको लागि भनेर सयौं बिध्यालय र क्याम्पसको निर्माण गर्न लगायो, दर्जनौं अस्पताल र सयौं स्वास्थ चौकिहरू निर्माण गर्न लगायो, जसले रोजगार सृजना होस भनेर दर्जनौं ठूला साना उद्योगहरू खोल्न लगायो, जसले मानव सबै बराबर हुन्, कसैले कसैमाथि भेदभाव गर्नुहुदैन भनेर छुवाछूत विरूद्धको कानुन ल्यायो, जसले भूमिसुधार ऐन लागू गर्दै हजारौं बिघा जमिन भएका जमिनदारहरूबाट जमिन खोसेर भूमिहिनलाई बाडिदियो आज त्यही राजाको, त्यो इतिहासको शालिक पुनस्थापना गर्दा बिरोध किन ?
कांग्रेसी भन्छन्– बाँसबारी जुत्ता कारखाना बन्द गरेपछि हजार कारखाना खुले । कहाँ खुले कसैलाई थाहा छैन । आत्मनिर्भरता, स्वाभिमान र स्वाधीनता लोकतान्त्रिक गणतन्त्रवादीले के कति बचाए, बलियो बनाए, भन्न सक्दैनन् । हरेक दिन युवायुवती रोजगारीका लागि विदेशीनेको लस्कर देखिन्छ, यिनलाई दुख्दैन । लोकतन्त्रमा नैतिकता चाहिन्छ भन्ने बिर्सेका छन् । चामलबिनाको दशैं, चिनीबिनाको तिहार भर्खर सकियो । यसअघि मल बिनाको धानखेती भयो । के के कारखाना खुलेछन्, कतिले रोजगारी पाएछन्, कति औद्योगिक क्रान्ति भएछ, सत्ताको निर्णायक कांग्रेस स्पष्ट पार्न सक्दैन । सबैले बुझेको र देखेको भनेको भ्रष्टाचार, अपराधिकरण, कुशासनभन्दा अरू केही छैन ? आमनागरिक संवैधानिक स्वतन्त्रतासमेत रोक्ने आफै संलग्न सत्ताको निर्णयमा समेत प्रजातान्त्रिक कांग्रेस आफैमा अन्यौलग्रस्त देखिन्छ ।
मंसिर २८ गते राप्रपाले पहिले राजा महेन्द्रको शालिक र नेपालको झण्डा रहेको तर गणतन्त्रवादीले भत्काएको स्थानमै राजा महेन्द्रको शालिक र नेपालको झण्डा स्थापित गर्ने तैयारी गरेपछि काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टीले रोक्ने फर्मान जारी गरेका छन् ।
२०६३ सालको जनआन्दोलनमा स्मारक क्षेत्रमा रहेको महेन्द्रको शालिक तोड्नेहरूले संविधान जारी भएपछि त्यो स्थानलाई संविधान चोक नामाकरण गरेका थिए । मंसिर २८ को राप्रपाको योजना सफल हुन नदिन ८ पार्टीले स्थानीय भीमदत्त नगरपालिकालाई सक्रिय बनाएका छन् । पार्टीहरूले राप्रपाद्वारा प्राप्त उपलब्धी माथि नै प्रश्न चिन्ह उठ्ने गरी गरिएको भ्रम सिर्जना गर्ने अभियानको तीब्र भत्सर्ना गरेका छन् । राप्रपा भन्छ– यो भ्रम सिर्जना होइन, ऐतिहासिक यथार्थ हो । सत्य हो ।
सत्ताधारीले स्थानीय निकाय र प्रशासनलाई कडा निर्देशन दिइसकेकाले मंसिर २८ गते राप्रपा र ८ पार्टीवीच घमाशान द्वन्द्व हुने खतरा छ । खबर छ, राप्रपाले जसरी पनि महेन्द्रको शालिक पहिलेजस्तै स्थापित गर्न सम्पूर्ण शक्ति लगाउने निर्णय गरिसकेको छ । अब हेर्नुछ, ८ दलले राप्रपालाई कसरी रोक्छन् ? राज्यशक्तिको दुरूपयोग गरेर कुन हदसम्मको दमननीति अपनाउँछन् ?
काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटी, एमालेका अध्यक्ष लक्ष्मी बुढा, माओवादी केन्द्रका संयोजक खेमराज पाण्डेय, समाजवादीका सचिव हरक सिंह धामी, लोकतान्त्रिक समाजवादी पार्टीका अम्बादत्त तिवारी, राष्ट्रिय जनमोर्चा सदस्य शुसिमान घर्ती, नेपाल कम्युनिष्ट पार्टीका ईञ्चार्ज बिराट सी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक बिष्णु राम दमाई राप्रपाको अभियान तुहाइदिन एक भएका छन् । त्यो दिन हिंसात्मक हुने खतरा छ ।