अमेरिकन काउन्सिल्स फर इन्टरनेशनल एजुकेशनले अमेरिकाको निमन्त्रणामा सातैवटा प्रदेशबाट १–१ जना सांसद अमेरिका गएका छन् । अमेरिकन काउन्सिल्स फर इन्टरनेशनल एजुकेशनले नेपालको सङ्घीय संरचनालाई संस्थागत गर्न तथा प्रदेश संरचनालाई मजबुत बनाउने उद्देश्यले उनीहरुलाई अमेरिका लगिएको हो ।
उक्त भ्रमणका लागि कोसी प्रदेशबाट बाबुराम गौतम, मधेस प्रदेशका सन्जयकुमार यादव, बागमती प्रदेशबाट अमनकुमार मास्के, गण्डकी प्रदेशबाट सरस्वती गुरुङ, लुम्बिनीकी निर्मलादेवी थारु, कर्णालीकी सन्तोषी शाही र सुदूरपश्चिम प्रदेशकी ललिता देवी सुना १६ दिने भ्रमणमा गएका छन् ।
उनीहरूले भ्रमणमा नेपालमा प्रादेशिक सरकार सुदृढीकरणबारे अध्ययन गर्ने बताईएको छ । भ्रमणमा सङ्घीय, राज्य र स्थानीय सरकारबीच अधिकार र जिम्मेवारीको विभाजनसहित अमेरिकी सङ्घीय शासन प्रणालीको संरचना र कामबारे अध्ययन गरिने जनाइएको छ ।
यहि मङ्सिर ३० गते भ्रमण सकेर नेपाल फर्किने टोलीले सीमान्तकृत समुदायका महिलाहरूको सहभागिता र प्रतिनिधित्वलाई प्रवर्द्धन गर्न राष्ट्रिय, प्रदेश र स्थानीय तहमा कानुनी, नियामक र नीतिगत मुद्धाहरुमा पैरवी गर्न विज्ञहरूसँग अन्तर्क्रिया गर्ने जनाइएको छ ।