निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका आह्वान गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले राजनीतिक दल दर्ताको आह्वान गरेको हो ।
आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यहि मङ्सिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ताको आव्हान गरेको छ । आयोगले एक सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै राजनीति दललाई दर्ता आह्वान गरेको हो ।
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गरेसंगै आयोगले चुनावी कार्यतालिकाअनुसार पुस १ गते दलहरूलाई चुनाव चिह्न प्रदान गर्ने छ । साथै, पुस ४ गते दर्ता भएका दलहरूको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जानकारी दिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले पुस १६ गते सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना गर्नेछ ।
नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेपछी सरकारले मङ्सिर १३ गते निर्वाचनको मिति तोकेको थियो ।