Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह

२० बुधबार , मंसिर २०८०३ बर्ष अगाडि

नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले रुसी सेनामा नेपाली नागरिकलाई भर्ती नगर्न रुसलाई आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा कुनैपनि नेपाली नागरिकलाई भर्ती नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न आग्रह गर्दै विज्ञप्ति मार्फत कुनै नेपाली नागरिकलाई भर्ती भएमा त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारसँग आग्रह गरेको छ । साथै, मन्त्रालयले रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने छ जना नेपालीको नाम सार्वजनिक गरेको छ ।

रुसी सेनामा भर्ती भएर ज्यान गुमाउनेहरुमा गोरखाका सन्दीप थपलिया, वाणगङ्गा-१ कपिलवस्तुका रूपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जा पुतलीबजार-५ का प्रितम कार्की, दोलखा मेलुङ-६ का राजकुमार रोका र इलाम-५ का गङ्गाराज मोक्तान रहेको बताएको छ ।

केही मित्रराष्ट्रसँग परम्परागत सम्झौताका आधारमा गोर्खा भर्ती भए पनि रुससँग त्यस्तो भर्तीको सम्झौता नभएको स्पष्ट पार्दै नेपाल सरकारले अवैधानिक रुपमा रुसी सेनामा भर्ति भएर ज्यान गुमाएकाहरुको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकारलाई अनुरोध गरेको छ ।

सरकारले अवैधानिक रुपमा भर्तीमा नजान अपिल गर्दै रुसी सेनामा भर्ती भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्नेसम्बन्धमा कूटनीतिक पहल जारी राखेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकाबाहेक अन्य सर्वसाधारण नागरिकलाई रुसको यात्रा गर्नुपरेमा मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन प्रमाणपत्र लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ । साथै, कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ती हुन नजान अनुरोध गरेको छ ।