Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आपूर्ति बढी हुँदा बजारमा तरकारी बिकेन

१४ बिहिबार , मंसिर २०८०३ बर्ष अगाडि

आपूर्ति बढी हुँदा बजारमा तरकारी बिकेन

तरकारीको मागभन्दा आपूर्ति बढी हुँदा बजारमा बिक्न छाडेको छ । उत्पादान बढेको र उपभोक्ता कम भएको कारण बजारमा तरकारी बिक्न छाडेको हो ।

बजारमा मागको तुलनामा आपूर्ति बढी हुँदा तरकारी फालाफालको अवस्था रहेको छ भने आन्तरिक उत्पादन बढे पनि उपभोक्ता नहुँदा तरकारी बिक्नै छाडेको व्यापारीहरू बताउँछन् ।

मौसमी तरकारीहरु काउली, बन्दा, ब्रो काउली, विभिन्न प्रकारका हरियो साग, गाजर, मुला लगायतको थोक मूल्य कम्तीमा १० देखि ५० रुपैयाँ प्रतिकिलो छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मूल्य घट्नुमा माग कम, आपूर्ति बढी हुनु नै मुख्य कारण रहेको बताईएको छ ।

किसानबाट खरिद गरी ल्याएको तरकारी दुई देखि तीन दिन राखेर बेच्ने र सो अवाधिमा तरकारी बिक्री नहुँदा कम मूल्यमा बेच्नुपर्ने अथवा कुहिएर फाल्नुपर्ने बाध्यता रहेको व्यापारीकाे भनाई छ ।

कालीमाटी बजारमा दैनिक आठ सय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेको समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलको भनाई छ । उनका अनुसारकालीमाटी बजारमा तरकारीको आपूर्ति नियन्त्रण नहुँदा आपूर्ति बढी भएको हो ।

कालिमाटीमा आपूर्ति हुने कृषि उपजमध्ये करिब ८० प्रतिशत हरियो तरकारी हुने जसमध्ये  वार्षिक कालीमाटी बजारमा ६३ प्रतिशत आन्तरिक उत्पादन आपूर्ति हुन्छ भने ३७ प्रतिशत आयातित कृषि उपज भित्रिने गरेको निर्देशक पौडेल बताउँछन् ।

चालु आर्थिक वर्षको ४ महिनामा नेपाली उपभोक्ताले ११ अर्ब ८७ करोड २३ लाख २० हजार रुपैयाँ बराबरको तरकारी उपभोग गरेका छन्र । सोही अवधिमा तरकारी आयात–निर्यात गर्दा २ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।