
काठमाडौँ उपत्यकालगायत मुलुकको विभिन्न भागमा चिसो बढेसँगै पानी पर्ने सम्भावना बढेको छ । मौसमविद्का अनुसार काठमाण्डौँ उपत्यकालगायत देशको विभिन्न भागमा मौसम बदलीसँगै बर्षाको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले बिहानैदेखि अत्यधिक चिसो बढेको उपत्यका र आसपासको केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यति बेला काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, गण्डकी, लुम्बिनी र मधेस प्रदेशमा मौसम बदली भएको मौसमविद् प्रतिभा मानन्धरले बताएकी छन् ।
आज दिउँसो मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको बताईएको छ ।
आज ठुलो वर्षाको सम्भावना नभए पनि दिउँसो काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अपह्रान्ह देखि मौसम खुल्ने सम्भावना रहेको र राति बर्षाको सम्भावना नरहेको बताइएको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जानकारी दिएको छ ।