Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

परिवार पाल्न कुवेत हिंडेकी चेलीको दर्दनाक कथा

देवी काफ्ले

१२ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

परिवार पाल्न कुवेत हिंडेकी 
चेलीको दर्दनाक कथा

मनमा कौतुहलता उस्तै थियो । हुन त यस अघि पनि बोइंग चढेर बिदेश यात्रा गरेकी हुँ । उसपालीको र यसपालीको कौतुहलता उस्तै हो तर फरक बिषयका । अमेरिका जान पाउने एउटा खुशी थियो, अर्को चाहीं सात बर्षमा कलेजाको टुक्रासँग मिलन अनि थप खुशी छोराकै रोजाईमा बुहारी भित्र्याउन पाउने । ओ हो ! ! खुशी पनि कति के!तन जहाजमा थियो मन चाही जहाज भन्दा छिटो थियो । खुशी खुशी खुशी मात्रै थिएँ । पतिदेव त गमक्क लेकमा फुलेको लालीगुराँस जस्तै फुलेका ! मन थोरै खिन्न भयो सानो छोराछोरीहरूलाई टीका लाउन नपाउने भएर होला ।
भाद्र ३१ को ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौं । फ्लाई दुवईको टिकट थियो ट्रान्जीट पनि दुवई कै थियो । दुवईसम्मको यात्रामा मेरी जेठानी दिदी कल्पना काफ्ले पनि साथै हुनुभयो । उहाँ अमेरीकाको सियाटल राज्य जादै हुनुहुन्थ्यो । हामी एयरपोर्टमा संगै भयौं । राती १.४५ बजेको फ्लाइट थियो । हामी जहाज चढ्यौं । मनमा फक्रेको उमंगलाई जहाजको उडान समय ढीला लागेको थियो । हामी तीनजना फरक फरक तीन सीटमा थियौं । मेरो सिटसँगै एकजना बहिनी हुनुहुन्थ्यो । अनुहार हेर्दा उहाँ मंगोलियन जस्तो लाग्थ्यो । मान्छे असाध्य सरल । मलाई सोध्न मन लाग्यो तपाईंको यात्रा कहाँसम्म सोधीहालें । अत्यन्तै गम्भिर भावमा भन्नुभयो कुवेत । अब मलाई झस्यांग बनायो उनको बोलीले । कुवेत मात्र के भनेकी थिइन उनी भक्कानिइन् । प्लेनले भूईं छोड्नु अगावै घरमा फोन गरीन् खाना खाए नखाएको निधो गरीन् र फेरी भनिन् रक्सी धेरै नखानु छोरीको राम्रो ख्याल राख्नु । जब उनका आग्रह सुनेर म भावविव्हल भएँ । अनि एकपल्ट फेरी देशप्रति भयंकर रीस उठ्यो, फेरी शासन पद्धतीप्रति र हामीलाई झुठा आश्वासनका लड्डु बाँड्ने नेताहरूप्रति जाईलाग्नु मन लाग्यो ।
जहाजले आफ्नो रफ्तार लियो । म घरीघरी ती बहिनीलाई हेरीरहन्थें । बोल्न खोज्थें हिम्मत जुटाउन धौ धौ भैराखेको थियो । मनले मनलाई गाली गरें यस्तो बेला यो बहिनीलाई सम्झाउन नसक्ने तैंले महिलाको हितमा के गर्न सक्छेस् । हिम्मत जुटाएर बोल्ने प्रयत्न गरें । बहिनी हजुरले न्युजहरू हेर्नुभएको छैन ? कुवेतमा महिला कति बिचल्लीमा परेकाछन्, कति घरेलुहिंसा पिडीत छन् यस्तो हुँदाहुंदै किन कुवेत जान लागेको ??? जवाफ सुनेर मेरो मुटु मसँग थिएन सायद । दिदी मेरो श्रीमानले काम कतै पाएनन्, परिवार पाल्ने एउटै उपाय यै देखें म त जे हुँला घरका परिवारको मुखमा माड लाउन पाए त्यही ठूलो कुरा हो मेरो लागि ।
मेरो खुशी र उमंगका पखेटा जहाजका पखेटासंग वायुको तेज झोंकाको भिडन्तमा कता हरायो पत्तै पाइन । मात्रै मनमष्तिष्क त्यो छेउकी बहिनीमा निहित थियो ।म वर्णन नै गर्न सक्दिन कि त्यो बेला मेरा आँखाबाट अनायास बगेका अश्रुधाराको वेग कति थियो ? उनको अश्रुधारासँगै मेरा खुशी बगिरहे बगिरहे । आखिर देशमा नअटाउने यीनै निरीह प्राणी मात्रै किन ? एक छाक मिठोमसिनो खान नजुर्ने यीनैलाई किन ? बालबच्चा पाल्न, एउटा सग्लो अक्षर चिनाउन, एउटा सिटामोलको चक्की किन्ने आधार खोज्न कुवेतीको हिंसा सहनुपर्ने किन ? यस्ता हजार प्रश्नले मेरो मथिंगल हलचल भयो । म कोसंग प्रश्न गरू?कोसंग जवाफ मांगु ? म आंफै निरूत्तरीत भएं ।
मैले अमेरिका घुमे, न्युजील्याण्ड घुमे हाम्रा दिदीबहिनी जस्तो निरीह भएर एउटा पेटको लागि बिदेशीको हिंसा सहन परेको देखिन । भारतको कथा छुट्टै छ । जनसंख्याको दृष्टिकोणले र उत्पादनको हिसाबले नेपाली बिदेशीको हिंसा सहन पर्ने वर्गमा त पर्दैनन् तर कसका कारण यो नियती भोग्नु परेको हो म प्रश्न गर्न चाहान्छु यो पद्धति र सञ्चालकसँग । जनता कमजोर भए राष्ट्र यसै कमजोर हुन्छ भन्ने भाव नबुझेर हो कि ? 
यहाँ सत्ता ६÷६ महिनामा परिवर्तन गर्न खर्च पुग्छ । ३ दिन भएको मन्त्रीका लागि सुरक्षा थ्रेटका लागि बजेट पुग्छ । बर्षेनी बिकासे बजेट फ्रिज हुन्छ । शिर्ष नेताहरूका सन्तान दर सन्तानका लागि शिक्षा स्वास्थ्य बिदेशमै सम्भव हुन्छ । उनीहरूका पुस्ता दर पुस्ताका लागि सम्पत्तिको जोहो हुन्छ तर एउटी २७÷२८ बर्षे महिला नाबालक छोरी, बुढी सासु र लोग्नेको पेट पाल्न कुवेतीको हिंसा सहन तयार भएर बिदेसिन्छे अनि कसरी नेपाली भनेर गर्व गर्नु ?
यदी देशमै अर्थोपार्जनको सानो उपाय भएको भए दुधे बालक छाडेर किन विदेशिनु पर्थ्यो र दिदी भनेर जब ती बहिनीले भनिन् म निशब्द भएँ । देशमा तन्त्र फेरियो, ब्यावस्था फेरियो तर जनता रैतीबाट पनि तल झरेछन्  । आशाको दियालो धिपिक्कै निभेछ । देशमा नभए पनि घरमा उज्यालो दिपक जलाउ यो बाहेक मैले भन्ने शब्द थिएन, वाक्य थिएन । देश,ब्यावस्था र नेतासँग लिनुपर्ने हजार प्रश्नका जवाफसँगै दुवइ पुग्यौं नमिठो बिछोडको भाव आँखामा तस्विर बने, भावनात्मक साइनो जोड्दै उनका अमुक प्रश्नको पोटली बोकेर कुवेतको लागि उनलाई शुभयात्रा भनें ।यस्तै संयोग मिलेछ म सकुशल फर्कें भने मेरा तितामिठा अनुभव सेयर गर्छु है दिदी भनिन् । उनको यात्रा अविरल थियो, उनको बिछोडको बियोगमा सहस्र अश्रुधाराले बिदाई गरें । हरे नेपाली चेलीको जीन्दगी !! सरकार यी चेलीलाई सान्त्वना दे ।     दुवई एयरपोर्टबाट ।