Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ आजदेखि निरन्तर

०५ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ आजदेखि निरन्तर

आजदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा निरन्तर सुनुवाइ हुने भएको छ । यसअघि ६ पटक पेसी चढेर पनि सुनुवाइ हुन नसकेको मुद्दाको उच्च अदालत पाटनमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको हो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध मुख्य अभियुक्तले उच्च अदालतमा पुनरावेदन दिएका छन् । साथै, धरौटीमा छुटेका दुईजनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पनि उच्चमा गएको छ ।

६० जनाभन्दा बढी कानुन व्यवसायीले प्रतिवादीका तर्फबाट बहस गर्ने भएकाले आजदेखि निरन्तर सुनुवाइको तालिका तय गरिएको बताईएको छ । पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका छन् ।

त्यसैगरी सोहि प्रकरणमा खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पनि पुर्पक्षका लागि थुनामै रहेका छन् ।

उक्त प्रकरणमा पक्राउ परेकामध्ये केशव तुलाधर, टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा छुटिसकेका छन् । तर, सरकारी वकिलको कार्यालयले तुलाधर र गुरुङलाई पनि थुनामै राख्नुपर्ने मागसहित उच्च अदालत गएको बताईएको छ ।