Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ठाउँठाउँमा आगालागी लाखौ को क्षति

२७ सोमबार , कार्तिक २०८०एक बर्ष अगाडि

ठाउँठाउँमा आगालागी लाखौ को क्षति

लक्ष्मी पूजाको लागि बालिएको दियोबाट भोजपुरमा आगोलागी हुँदा दुई तले घर जलेको छ । आगोलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन,सुनका गरगहना र नगद समेत नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको बताईएको छ ।

त्यस्तै सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागीबाट  लिला राईको घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिएका छन् । आगलागीबाट नगद ३१ हजार सहित पार्किङ गरी राखिएको एक अटो (टेम्पो)मा समेत आगोले क्षति पुर्‍याएको बताईएको छ ।

दिपावली गरेको दियोको आगोले ओखलढुंगाको चिशंखुगाढी गाउँपालिका-१ कुइभिरस्थित गैरीगाऊँमा एक घर जलेको छ । आगोबाट ६० वर्षीय टेक बहादुर खत्रीको घर जलेको हो ।  आगलागीमा उनको घर पूर्ण रुपमा जलेको छ भने १ लाख ५० हजार नगद र डेढ तोला सुन समेत जलेको प्रहरीले बताएको छ । चाडबाडको समयमा बास,अन्न र लत्ता कपडा सबै गुमाएपछि खत्री परिवार खुल्ला आकाशमुनि बस्न बाध्य भएको बताईएको छ ।

मनोरञ्जनका लागि पड्काएको पड्काको आगोले सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । आगो वृद्धिचन जैनको किराना पसलमा लागेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जनाएका छन् । आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ ।

त्यसैगरी आइतबार लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आगलागी भएको छ । आगलागीबाट विष्णु वर्माले सञ्चालन गर्दै आएको धनौलीको बर्मा हार्डवेयरमा क्षति पुगेको र पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताएका छन् ।