Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै

१७ शुक्रबार , कार्तिक २०८०एक बर्ष अगाडि

३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै

सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने भएको छ । प्रत्येक वर्ष झैँ यो वर्ष पनि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आजबाट शुरु गर्न लागेको हो ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक उक्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम आज कात्तिक १७ र भोलि १८ गते संचालन गर्न लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।

दुई दिने अभियानमा ६ महिना देखि ५ वर्ष मुनिका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने लक्ष्य रहेको छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि समेत खुवाइने महाशाखाले जानकारी दिएको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो । जसका लागि आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिने छ ।

आजबाट शुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई समेत परिपत्र गरेको छ ।