Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोकतन्त्र, अपराधतन्त्र, परिवारतन्त्र

१४ मंगलबार , कार्तिक २०८०एक बर्ष अगाडि

लोकतन्त्र, अपराधतन्त्र, परिवारतन्त्र

धर्मरत्न श्रेष्ठ - - - - 
    १० दलीय गठबन्धन सरकारले लोकतन्त्रका नाममा जुन तमासा देखाएको छ, त्यो अपाच्य छ । प्रत्यक्ष र समानुपातिक दुबै चुनाव प्रणालीमाठूला दलले लोकतन्त्रका सबै सीमा मिचेका थिए, लज्जा पनि लज्जित हुनेगरी । शासन प्रशासनमा यी ठूला दलले लोकतन्त्र लोकतन्त्र भनेर परिवारतन्त्र, अपराधतन्त्र चलाइरहेका छन् । ज्यानमारालाई समेत माफी दिएर समाजमा अपराध फैलाउने काम सरकारले नै गरेको छ । यति हुँदा पनि समाजको आक्रोश सार्वजनिक हुन सकेन ।
    त्यसै पनि पत्नी, बहिनी, सासु, ससुरा, दाई, देवर, छोरी बुहारीलाई उमेदवार बनाएका दलहरूले नौ दम्पत्तिलाई नै चुनावी मैदानमा उतारेका थिए । त्यसमाथि समानुपातिकमा पनि सिमान्तकृत, महिला, दलितलगायतका अधिकार खोसेर ठूला दलका ठूलै नेताहरूले संसदमा जाने सुरक्षित राजमार्ग बनाएका हुन् । सिधै देखिन्छ, अनुभव गर्न सकिन्छ, नेपाली राजनीति परिवारवादमा आधारित भयो । यही परिवारवादले अपराधतन्त्रलाई मलजल गरिरहेको छ । देशमा बढ्दो आपराधिक घटनामा परिवारवाद, माफियातन्त्र हावी हुनथालेकोमा चिन्ता बढ्दै गएको छ ।
   कांग्रेस सभापति शेरबहादुर देउवाले श्रीमती आरजु देउवालाई समानुपातिक सांसद बनाइदिए । यस्ता अनेकन दृष्टान्त छन् परिवारवादका । सिमान्तकृतका अधिकार हनन गर्नेले भन्छन्– हामी समाजवादी, प्रजातन्त्रवादी ? आश्चर्य छ ।
    कस्तो रहेछ सत्ता । सामान्य लोकलज्जा पनि त्यागे ठूला दलहरूले । ठूला नेताहरूले । सत्ताको लालचमा यसरी डुब्ने नेताले देश र जनताको हित गर्छन् भनेर सोच्नु नै गलत हो । गलत साबित भइरहेको छ । परिवर्तनपछिको १७ वर्षमा भएका उद्योग बेचियो, बन्द गरियो । रोजगारी बढाउने कुनै पनि उद्यम स्थापित गरिएन, युवा युवतीले विदेशीन बाध्य पार्ने यिनै लोकतन्त्रवादी हुँ भन्नेहरू हुन् ।
  ५ लाख, ७ लाख, ९ लाख क्याडर भएको पार्टीमा यसरी बुढापुरानाले मात्र ओगट्ने र स्वार्थको राजनीति गरिरहने हो भने युवाको पालो कहिले आउने ? प्रत्यक्षमा पनि प्रभावशालीकै राइँदाइँ, समानुपातिकमा पनि ठूलै नेताको भाग नपुग्ने , सत्तामा पुगेपछि भ्रष्टाचारमात्र गर्ने हो भने १२६ जातिको नेपालमा १५–२० जातिको र ठूला नेताहरूको मात्र हैकम चलिरहने भो । राजनीतिको अपराधिकरणले सीमा नाघ्ने भो । लोकतन्त्रको गरिमा र महिमासँग आमनागरिक जोडिने र अपनत्व ग्रहण गर्ने कहिले ? लोकतन्त्र उदार हुनुपर्ने हो, लोकतन्त्रकोमात्र होइन, संविधानको मर्म र मर्यादासमेत कुल्चदा लोकतन्त्र र संविधानलाई बहुसंख्यक नेपालीले अपनत्व ग्रहण गर्नै सक्दैनन् । त्यसै पनि संविधानप्रति आपत्ति उठिरहेको छ, यसप्रकारको राजनीतिक गलत चलखेलले लोकतन्त्र केही नेताहरूको मौजाजस्तो बन्नपुगेको छ । लोकतन्त्र साझा सम्पत्ति हुनुपर्ने, कसैको मौजा बनयो भने त्यस्तो तन्त्र लोकतन्त्र हुनसक्दैन, त्यो त नेतातन्त्र, अधिनायकवाद हुनपुग्छ ।
  बिगत १७ वर्षमा न समानता रह्यो, न सामाजिक न्याय ? श्री ३ राणा शासनको नयाँ शैली स्थापित हुनपुगेको छ । यी लोकतन्त्रवादी हुँ भन्ने नेताहरूको अनुहारमा दोषमात्र देखियो । लोकतन्त्रलाई चलाउन चाहिने लोकलज्जा र इमान सम्म पनि देखिएन । १७ वर्षपछि पनि नेताहरूले उही सामन्तीपन देखाएका छन् । आजको युगमा सामन्तपन सह्य विषय हुनसक्दैन । असह्य हुँदा श्रीलंकामा के कस्तो परिणति देखियो, नेपालमा पनि त्यस्तो दिन नआओस् भनेर सचेत हुनु बुद्धिमानी हुनेछ ।