Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आमजनतालाई महगीको मार

१६ मंगलबार , आश्विन २०८०एक बर्ष अगाडि

आमजनतालाई महगीको मार

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धि तत्कालका लागि सरकारले फिर्ता लिएको छ । तथापि बजार सरल छैन, आमनागरिकको क्रयशक्ति यसरी घटेको छ कि उनीहरूको जनजीविका साह्रै कष्टकर बितिरहेको छ ।
शनिवार नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६, अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ बढाएपछि जनजीवन र राजनीति एक्कैपल्ट तरङ्गीत भएको थियो । संसदमा पनि सरकारको कडा आलोचना भयो, बाध्य भएर प्रधानमन्त्रीले मलाई थाहै नदिइ बढाएछन्, फिर्ता लिन निर्देशन दिएको बताउन बाध्य भए । तथापि प्रश्न उठेको छ, सरकार मातहतको निगमले कसलाई सोधेर मूल्यवृद्धि गरेको रहेछ ?
त्यसैपनि बजार दशैं तिहारको मुखमा असामान्य रूपमा महगिएको छ । कुनै पनि दैनिक उपभोग्य बस्तुको स्थिर मूल्य छैन । सबैभन्दा हाहाकार भएको बस्तु हो चिनी । हरेक वर्ष दशैं तिहारजस्तो चाडमा अत्यधिक प्रयोग हुने बस्तु हो चिनी । तर सरकारको कालाव्यापारीको भरणपोषण नीतिले गर्दा चिनीको अभाव सिर्जना गरिन्छ । अनि मनपरी मूल्य लिएर व्यापारीले बेच्द्धन् । यतिबेला बजारमा चिनीको भाउ एकसय दश देखि एकसय पचाससम्म छ । त्यो पनि सर्वसुलभ रूपमा पाइदैन ।
१४ सयको ग्यास १९ सय, अझ यसलाई २११० सम्म पु¥याउने प्रपञ्च गरियो ।। २ हजारको चामल ३ हजार, ३ हजारको गहुँ ४ हजार, सयको अदुवा ४ सय पचास, ३ सयको जीरा १४ सय, १ सय पचासको दाल २ सय साठी, ८० को दूध १ सय पच्चीस, तरकारीको मूल्यले त सगरमाथालाई नै बिजय प्राप्त गरेको छ ।
दैनिक कमाएर हातमुख जोर्ने बर्ग सबैभन्दा बढी मारमा छ । सर्वहारावादी भन्ने दलको नेता ९ महिनादेखि सरकार प्रमुख छन्, यही अवधिमा बजारभाउ ह्वात्तै बढेको छ । किसानले उत्पादनको मूल्य नपाउने, बिचौलियाले बजारभाउ बढाउने, आयातित बस्तुको नियन्त्रण कालाबजारीयाको हातमा हुने । सरकार कहाँ छ, कसैलाई थाहा छैन ।
आमनागरिकले बाँच्ने कसरी ? न रोजगारी छ, न सरकारले राहत दिएको छ, स्थानीय सरकारले समेत गरिखाने बर्गलाई कर थोपर्ने र अवसर खोस्ने काम गरिरहेको छ भने यी सबै जनविद्रोहका कारण हुनथालेका छन् । अझै पनि स्थापित दलले किन सोच्दैनन् कि वालेन साह, रवि लामिछाने, हर्क साम्पाङहरू किन र कसका बलमा चुनाव जित्न सफल भए ? झण्डै ८० लाख युवाहरू विदेशीएको मुलुकका स्थापित शासकबाट कुनै प्रगति हुनसक्दैन भन्ने निष्कर्षमा पुगेका छन् । यसैको नतिजा हो केही युवाहरूले काठमाडौं, धरान, चितवन, धनगडी, तनहुँलगायतका सहरहरूमा विद्रोही चुनावी नतिजा दिलाइदिएका । यस्तै हो भने टाढाको विषय छैन श्रीलंकाको विद्रोहजस्तो ? जहाँ राष्ट्रपति भाग्नुप¥यो । त्यस्तो दिन नआओस् भनेर स्थापित दल र नेतृत्वले समयमै आमनागरिकतिर हेर्नुपर्छ । अन्यथा राज्यको ज्यादतिविरूद्ध जनता मौन छन्, तिनले बिद्रोह बोलेभने के होला, के नहोला ?
लोकतन्त्रमा लोक देखिनुपर्छ । लोकतन्त्र दिवस, गणतन्त्र दिवस अपराधीका लागि आउने, आमनागरिकले अपनत्व नै ग्रहण नगर्नु भनेको यो पद्धतिविरूद्ध लोकको अस्वीकृति हो । व्यवस्थाबाट लोक पर धकेलिएका छन्, नेतृत्वप्रति लोकको विश्वास घट्दै गएको छ । किन ? यसकारण कि लोकका पीडा, अपेक्षा, हिततिर लोकतन्त्रवादी नेताहरूले बेवास्ता गरेकाले हो । जब लोकले लोकतन्त्रलाइृ अस्वीकार गर्छन्, पुरानो पद्धतिले लोकप्रियता पाउँछ । मुखको तीतो पोख्नका लागि पूर्वराजाले के तमासा देखाएको ? भनेर भन्न सकिन्छ । तर यथार्थ यही हो कि सुनसरी, सुर्खेत, बाँके, धनगडी हुँदै भक्तपुरमा राजा आउ देश बचाउ, राजतन्त्र जिन्दावाद भन्ने भीड राजाले ज्याला दिएर ल्याएका खेताला थिएनन् ?
जब जनता यसरी व्यवस्था, पार्टी नेता, पार्टीका सम्पूर्ण सीमाहरू नाघेर किनारा लगाइएको संस्थाप्रति आकर्षित हुन्छन्, त्यो तमासा हो भनेर आत्मरति गर्नु भनेको पार्टी र नेताहरूको असफलता र अकर्मण्यता हो । दूरदृष्टि भएका नेतृत्वले किन यस्तो भयो भनेर आत्मसमीक्षा गर्छन् । भोलिका दिनमा ललितपुरको बगलामुखी र बसन्तपुरमा कुमारीको दर्शन गर्न पूर्वराजा पैदल नै निस्किए भने यो व्यवस्था, यो पद्धति, यी नेता र यिनको शासन, कानुनव्यवस्थाले सम्हाल्न सक्ला ?
यसकारण आमनागरिकको जनजीविकातिर ध्यान दिन अबेर नगरौं ।