Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

अभागी खप्पर, जता गए पनि ठक्कर

बैकुण्ठ भण्डारी

१६ मंगलबार , आश्विन २०८०एक बर्ष अगाडि

अभागी खप्पर, जता गए पनि ठक्कर

अभागी खप्पर, जता गए पनि ठक्कर । सिंहदरबार घेर्न पुगेका आन्दोलनकारी शिक्षकमध्येका एक हरिप्रसादको बिलौना यस्तै थियो । जुरूक्क उठ्न नपाउँदै लजमा सँगै बसेका मित्रले अलिअलि सोमरस पिलाइदिएका थिए । पिउँदिन भन्दा भन्दै जबरजस्त नै गराइदिएको थियो । पीडा पोख्न आको हो पीडा भुल्न पिलाइदिएको अरे ‘माट्सापलाई’ । हा हा...।
माडसापहरूलाई नचाइदियो सरकारले आश्वासनमा । सोमरसको स्वादमा मरीमरी उफ्रिरहेका ‘माट्सापलाई’ के थाहा, बीचमै धोका पाइएला भनेर । गाउँदेखि सहर आउँदा रात्रिबसमा धेरै अन्तरंगका कुरा भएका थिए । बेरोजगारीका कारण देश छाडेर हिँडेका हरिप्रसादलाई नक्कली भिसा भिडाइदिएका कारण चिलगाडी चढ्ने सपना पनि चकनाचुर बनाइदिएको थियो म्यानपावरले । अहिले सरकारले त्यसै ग¥यो ।
बिचरा माड्साप, त्यही म्यानपावरले डेढ लाख ‘क्वापल्याक्कै’ खाइदिएपछि न विदेश जान पायो, न त गाउँ फर्कनसक्ने अवस्था थियो । झोलामा स्नातकोत्तर तहको प्रमाणपत्र बोकेर सहरका गल्लीगल्लीमा घुम्यो । जागिर लगाइदिने भन्दै खुलेका ठग कम्पनीहरूको चंगुलबाट पनि बच्न सकेको थिएन हरिप्रसाद । दुई रूपैयाँको फोटोकपीलाई एक हजार रूपैयाँ तिरेर जागिर पाउने लोभमा साथीभाइसँग ऋण मागेर फाराम भर्दै गयो । त्यहाँ पनि ऊ ठगियो । जागिर लगाइदिने ‘जब सेन्टर’ले अरूलाई होइन आफैंलाई पो जागिर खोलेको रैछ । सबसँग फाराम भर्ने अनि प्रलोभनमा पारेर रकम असुल्ने । क्या काइदाको स्वरोजगार रैछ ।
उखानै छ– ‘अभागी खप्पर, जहाँ पुगेनि ठक्कर’ । धेरै हरिप्रसादको भाग्य र भविष्य यस्तै रहेछ । ऊ बेला पढाइमा पनि अलि अब्बलजस्तै थिए हरिप्रसाद । जागिर खान सहर छिरे । लोकसेवामा पटक–पटक प्रयास गरेर जहिल्यै ‘वैकल्पिक’ भएका थिए, कठै हरिप्रसाद ।
गाउँमा बा आमाले छोरा विदेश पठाका थिए । तर, न त विदेश पुग्यो न त सहराँ जागिर नै पायो । सबै रित्तो भएपछि बल्लबल्ल कसैको भनसुनमा ‘राहत’ शिक्षक पायो । भूकम्प, बाढीपहिरोजस्ता विपद्मा परेकालाई नगद जिन्सी दिएर राहत उपलब्ध गराएजस्तै ०६२÷६३ सालपछि शिक्षक दरबन्दी सरकारले नै रोकेर अनुदान उपलब्ध गराएर राहत शिक्षक राख्यो र पढाउन लगायो ।
उनी, त्यही पढाउने शिक्षक राहत शिक्षक बनिरहे । हरिप्रसाद साँच्चै पीडामा थिए । त्यसैबेला उनले राहत शिक्षक पाए । खुरूखुरू काम गरे । उनले कस्तो काम गरे, उनैलाई थाहा होला । सरकारी स्थायी ‘माट्साप’हरू अरू कसैलाई खेताला लगाएरै जागिर नखाएका पनि होइनन् । त्यही भएर अहिले सरकारी विद्यालयको शिक्षाको गुणस्तर साँच्चै ‘झोले’ नै भएको छ । हरिप्रसाद जस्तालाई ‘राहत’मा झोले बनाउनेहरू सिंहदरबारमा मोज गरिरहेका छन् । उनै झोलेलाई उल्लु बनाएर सिंहदरबारमा छिरेकाहरूले सरकारी शिक्षा तहसनहस नै बनाइदिए । 
पार्टीहरूले अस्तिसम्म झोलेहरूलाई ‘जिन्दावाद र मुर्दावाद’को नारा घन्काउन सिकाएका सिंहदरबारभित्र बस्नेले धोका दिएपछि बल्ल घैंटोमा घाम लागेको छ । शिक्षकजस्तो गरिमामय पदलाई राहत शिक्षक, खेताला शिक्षक, झोले शिक्षक, दले शिक्षक के–के हो के–के शिक्षक अरे ?
सरकारसँग न्याय खोज्न भनेर रात्रिबस चढेर राजधानी आएका हरिप्रसादहरू ‘हिस्स बूढी खिस्स दाँत’ जस्तै भए । उनैलाई हाँकेर आएकाहरू सिंहदरबार छिरेका मात्र के थिए । सँगै आएका साथीहरूलाई मुर्छा बनाइदिए । आफ्नो माग पूरा गरे । साथीहरूलाई धोका दिए । राहत राहतमै अड्कियो । हरिप्रसादहरू चुँसम्म पनि बोल्न नसक्ने अवस्थामा पु¥याइदिए । हरिप्रसाद अहिले माईतीघरमा बसेर रूँदै छन् । राहत माथि पनि राहत चाहियो भनेर ।
राहतलाई समेत सरकारले सहमतिको नाममा थचारिदियो ।
ऊ बेला जिन्दावाद र मुर्दावादका नारा लगाएको खेर गयो । अमुक झण्डा वोकेर दौडिएको पनि बिनसित्तिकै भयो । आफूसँग जिन्दगीको रसरंगका कुरा गर्दै भविष्यको बाटोको योजना बनाउँदै आएकोले पनि सिंहदरबार छिरेर धोका दियो । हरिप्रसादजस्ता राहतेहरूले सधैँ धोकै धोकामात्र पाएका छन् । 
गरिबका छोराछोरी पढाउने सरकारी विद्यालयको राहत शिक्षक बन्न सफल भएका छन् । आँखा खुल्नसके यसले राहत आफू होइन लाखौं अभिभावकलाई हुन्छ । राहते हरिप्रसादहरू आँखा खोल । तिमी त भविष्यका कर्णधार बनाउने लाखौं बालबालिकाको मार्गदर्शक पो हौ त ! 
तिमीले भन्दा त्यो खेताला लगाउने फिटिक्कै केही गरेकै छैन । कम्तीमा तिमी देश छाडेर गएका छैनौं । सिंहदरबार छिरेको तिम्रै साथीले हजारौं तिमीजस्तालाई धोका दिएर झोला बोकीसकेको छ । मुस्कुराउँदा ख्वामित्का पाउमा लम्पसार परिसकेको छ । अब तिमी पिएर होइन उसैलाई पिलाएर मस्त गर्ने बेला पो हौं त । जागरूक बन, तिमीले पाउने सम्मान त्यो धोकेवाजले पाउने छैन !
सिंहदरबारले तिमीहरूलाई मात्र धोका दिएको छैन । देश र जनताले धोका पाएका छन् । तिमीले नै पढाएर पठाएका स्यालहरूले बाघको छालामा रजाइँमात्र गरेका हुन् । तिमीलाई धोका अरूले दिएको हो र ? तिमीले जस्तो शिक्षा दियौं उसले त्यस्तै गरेको छ । राजनीति गर्न तिमीले नै सिकाएका थियौं । शिक्षकलाई मुक्का हान्न तिमीले नै सिकाएका थियो । पाइलापाइलामा धोका दिने कुरा सायद अदृश्यरूपमा तिमीले नै सिकाएका थियौं ।
धोका दिनेले रजगज गर्ने ठाउँ रहेछ सिंहदरवार । सिंहदरबारले धोका नदिएको कसलाई छ र ? एउटै विचार बोकेर विचार त्याग गर्नेलाई पनि दिएको छ । आफ्नो बाउको काजकिरिया नगरे पनि दिएको छ । आफ्नै जन्ममूमिलाई धोका दिएर खुसी हुने स्यालहुइयाँबाट आश गर्ने तिमी नालायक शिक्षक हौ र ?
तिमीले त किताब पढेका छौं । माटोको स्पर्श लिएका छौं । देशको मुहार उज्यालो बनाउने संकल्प लिएर आफ्ना कलिला मुना विद्यार्थीहरूलाई धोकेबाज ‘लाजनीति’बाट टाढा गराउने अभियान पो थाल्ने हो त ? परिवर्तनका रेखाहरू देखिएका छन् । देखाइदेऊ, छेपाराहरूलाई माकुराको जालो बनेर । त्यही जालोभित्र सडाउन सक्ने योद्धा तिमीले बनाउने होइन र ? धोकेबाज सिंहदरबार अनि सिंहदरबार छिरेर धोका दिनेहरूलाई छाडिदेऊ । अन्यायविरूद्ध बिद्रोह पढाउ, चेतना छर ।
बालबालिकालाई धोका, युवा पुस्तालाई धोका, माटोवादलाई धोका, राष्ट्रियतालाई धोका, देशलाई नै धोका दिने सिंहदरबारबाट कुनै न्यायको अपेक्षा गर्नु हरेक नागरिकको भूल हो । तिम्रो पनि भूल हो । जाऊ तिमीले बोकेको दलको झोला त्यहीँ फालेर आऊ । आफ्नै पेसालाई स्वर्ग बनाऊ । माइतीघर तिम्रो होइन हुँदै होइन । शिक्षाको उज्यालो छर्ने तिम्रो आफ्नै पेसागत मूल्यवान् र आस्थावान जग बसाल ।