Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

चुनाव जित्नेहरू चरित्रवान बन्न किन सकेनन् ?

राजन कार्की

०९ मंगलबार , आश्विन २०८०एक बर्ष अगाडि

चुनाव जित्नेहरू चरित्रवान बन्न किन सकेनन् ?

चुनावबाट नै हो हिटलर जन्मेको, चुनावमा जनताको नारा दिएर चुनावपछि निरंकूश, चरित्रहीन हुने परम्परा नेपालमा पनि दोहोरिन पुगेको छ । ०७४ पछि ०७९ को चुनावपछिको संसद र  सरकारमा चरित्रहीनहरूको कमी देखिएन । अधिनायकवाद देखियो, हिट्लरपथमै हिड्ने संकेतसमेत देखिए । जुन लोकतन्त्रका लागि खतरा हो ।
बेलायतमा राजा जोनको समय थियो । जनताले दुःख पाएको उनले कहिल्यै देखेनन् वा देखेर पनि बेवास्ता गरे । अति भएपछि जनताले रन्निमिड भन्ने ठाउँमा गएका बेलामा घेरा हालेर छाड्दै छाडेनन् । सन १२१५ को जुन १५ को दिन थियो, यही दिनमा जनताले राजालाई झुकाए र जनअधिकार अर्थात म्याग्नाकार्टामा सही गर्न बाध्य पारे । यही म्याग्नाकार्टा आज पनि बेलायतको संविधानसरह संसद, अदालत, प्रशासन सबैतिर सर्वमान्य छ । रोबर्ट ब्ल्याकबर्न यो पद्धतिको ब्याख्याता हुन् ।
अर्थात इमान, नैतिकता र जवाफदेहीता नै बेलायतको संविधान हो । यही तीन तत्वप्रतिको आत्मविश्वासका कारण न राजनीतिमा छाडा साँढेले सखाप पार्छ, न प्रशासनमा जंगली ध्रुवे हात्तीकै महामारी देखिन्छ । नैतिक लक्ष्मण रेखा नै बेलायतको संविधान हो ।
देश सम्पन्न हुनका लागि लिखित संविधानले मात्र नहुने रहेछ । १७७६ मा स्वतन्त्र भएको अमेरिका आज विश्वशक्ति बनेको छ । १७८९ मा जर्ज वाशिङ्टन राष्ट्रपति बनेका हुन् । १८६५ मा आएर अब्राहम लिंकन राष्ट्रपति बनेपछि जनताका लागि, जनताद्वारा, जनताले नै शासन गर्ने पद्धति अर्थात प्रजातन्त्रको परिभाषालाई विश्वव्यापी गराउन सफल भए । रक्तपातपूर्ण जनक्रान्तिको रोकेर दासप्रथाको समेत अन्त गर्ने नैतिक साहस देखाए, संवैधानिक र राजनीतिक संकटको अन्त गरे । संघीय शासनलाई बलियो बनाए र आधुनिक अर्थतन्त्रको जग बसाले । आज अमेरिका विश्वशक्तिका रूपमा स्टाच्यू अफ लिबर्टी बनेर उभिएको छ । त्यही जगमा जर्ज डब्लु बुस, क्लिन्टन, ओवामाजस्ता राष्ट्रपति बने । आज ४५औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प छन् । लामो समय अमेरिकाका राष्ट्रपति बनिसकेका बुस, क्लिन्टन, ओवामाहरू काम गरेर परिवार चलाइरहेका छन् । इमान र नैतिकताले बिधि ज्यूँदो राख्ने रहेछ र बिधिले प्रजातन्त्र चल्ने रहेछ । समृद्धि र सुशासन, जनतालाई आत्मसुख दिने साँचो नेतृत्वमा रहेको इमान रहेछ ।
नेपाल सधैं स्वतन्त्र रह्यो, जेठो मुलुकहरू मध्येको हो । १७७६देखि १९०१ सम्म बंशराज पाण्डेलगायतका ८ प्रधानमन्त्री स्तरमा रहे । १८०३ मा दामोदर पाण्डेदेखि आजसम्ममा अनेक प्रधानमन्त्रीहरू देखिए । लोकेन्द्रबहादुर चन्द ४ पटक, गिरिजाप्रसाद कोइराला ५ पटक, शेरबहादुर देउवा ५ पटक, प्रचण्ड ३ पटक, केपी ओली २ पटक, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई एक एक पटक र खिलराज रेग्मी एकपटक प्रधानमन्त्री बनेका छन् ।
स्वतन्त्र भएपछि अमेरिका विश्व मालिक बनेको छ, त्यत्तिकै समयमा सदा स्वतन्त्र रहेको नेपाल मगन्तेबाट माथि उठ्न सकेन । भर्खरै भारतका विदेश मन्त्री आए, आश्वासन दिएर गए, चीनका विदेशमन्त्री आए ५० हजार थान त्रिपाल र ३५ करोडको एउटा जिल्ला अस्पताल बनाइदिन्छु भनेर गए । यत्ति दृष्टान्तबाट थाहा हुन्छ, नेपाल सरकार समृद्धि नेपाल र सुखी नेपालीका लागि भिजनबिहीन छ । २०१९ मा चीनका राष्ट्रपति आए, यतिबेला प्रम प्रचण्ड चीन भ्रमणमा छन्, नेपाल उपहार के पाइन्छ भन्ने धाउन्नामा नै देखिएको छ ।
हामी बुद्धको निर्वाणा के हो भनेर जान्दै नजान्ने बुद्धु हौं । युवा निकासी गरेर विदेश बनाउन सक्ने, विदेशीका लागि छातीमा गोली थाप्न सक्ने नेपाली, नेपालका लागि रेमिटान्स पठाएर नुनतेलको जोहोमात्र गर्न सक्छौं । अरूका लागि मर्न सक्छौं, देशका लागि केही गर्न सक्दैनौं । किनकि हाम्रो नेतृत्व शक्ति र सम्पत्तिको आडमा चुनाव जित्छ र चरित्रहीन बन्छ । चरित्रहीनलाई के इज्जत ?
लिंकन (प्रजातन्त्र)को अनुहारमा लेण्डुप, समृद्धिको अनुहारमा किर्ना, सुखको अनुहारमा सकस र जनताको शरीरमा जुका बनेर चुस्न जान्ने नेतृत्व रहेसम्म नयाँ नेपाल रत्नपार्कका चटक देखाएर भ्रमित पार्दै काठको धुलो बेच्ने तमासामात्र हो । तमासा देखाउने चटकेलाई हामी देवदूत मानिरहेका छौं । भोगटेको चस्मा नमिल्काएसम्म नेपालमा बिधिको शासन, इमान र नैतिकता यसैगरी कुल्चने काम भइरहन्छ । देश चारूदेव हो, आज बेइमान र नैतिकहीनहरूबाट चारूदेव समेत कहाल्लीरहेको छ ।
प्रजातन्त्रलाई लोकतन्त्रको नामाकरण गरेर हामीलाई लोकतन्त्रको चिनी चटाउने काम भइरहेको छ । लोकतन्त्र लोकतन्त्र भनेर घोक्दा घोक्दा, चाट्दा चाट्दा हामीलाई सुगररोग लागेको छ । हामीले बुझ्नैपर्छ– सुगरका रोगीलाई सुँगुरको बिष्ठाको इन्सुलेन्स जडी ओखती हो । सुगररोगले किड्नी फेल पार्छ र सुगररोग घटाउन सकिएन भने अपरेसशन गर्नै हुन्न र मरिन्छ । किड्नीका बिरामी सबै प्रधानमन्त्री बन्न सक्दैनन् । सबैका लागि भारत, थाइलेण्ड, सिंगापुर, अमेरिकाको औषधिमूलोको सुविधा पनि मिल्दैन । सुगररोग बिग्रेपछि क्यान्सर हुन्छ र जुनसुकै क्यान्सरको किरा मार्न बिच्छीको डङ्क मार्नु पर्ने हुन्छ । स्मरणरहोस्, कोब्राको विष केमोथेरापीको बिकल्पहीन ओखतीको कच्चा पदार्थ हो । नेपालको आर्थिक, सामाजिक र राजनीतिक ढाडमा सुगररोगमात्र होइन, क्यान्सर भइसकेको छ । बसाइसराइ, जन्मदर्ता, मृत्युदर्ता, कुनै पनि सिफारिसमा समेत व्यापक कर उठाएर ७ सय ६१ सरकारका ८८४ सांसद सहितका ३५९२४ जना जनताको सेवा गर्छु भनेर चुनिएका जनप्रतिनिधिको तलव, भत्ता, सेवा, सुविधामात्र दिइरहेका छैनौं, विशिष्ट श्रेणीदेखि राष्ट्रपति भइसकेका व्यक्तिको भरणपोषण समेत आमनागरिकले तिरेको राज्यकोषबाट खर्च गरिरहेका छौं ।
कहाँ छ नीति, नैतिकता र इमान ? यी ३ तत्वको अभाव छ ।
सेवा गर्छु भनेर चुनाव जित्ने अनि चरित्रहीन हुन मिल्छ ?
भाषण सुशासनको, शासन दुशासनको । कुरो अर्जुृनदृष्टिको, व्यवहार अन्धा धृतराष्ट्रको । आफूलाई युधिष्ठिरका रूपमा देखाउने, गर्ने दुर्योधनको अत्याचार । क्रान्तिले भ्रष्टाचार जन्माउँछ कि समानता ? परिवर्तनले जनतालाई राहत दिन्छ कि विष खान बाध्य पार्छ । राजनीतिलाई व्यवसाय बनाउनेहरू टुकुचालाई पवित्र मान्नेहरू हुन् । यो राजनीति होइन, भ्रष्टनीति हो । चुनावबाट आएका चरित्रहीन नेताहरू आफूलाई विरूपाक्षझैं आधा भास्सिसकेको भेउसम्म छैन । संविधान कार्यान्वयन भयो, लोकतन्त्र मजबुत भयो भन्नेहरू हुटिट्याउँ हुन् । तिनले आफ्ना आफ्ना अनुहार लोकको नजरमा हेरून् । कुम्भकर्णे निन्द्राबाट बिउँझिउन् । अन्यथा परिवर्तनको अर्को हुरी आउनेवाला छ । चुनाव जितेका नेता अर्जुन हुनुपर्छ कि कठपुतली हुने । अर्जुन भनेको न्यायमार्गमा उभिएर सम्मान आर्जन गर्ने हो । कठपुतलीमा विवेक नै हुन्न, निर्जिव, अरूले उठाए उठ्छ, नचाए नाच्छ । चुनावबाट आएका जनप्रतिनिधि कठपुतलीजस्ता छन् ।
नयाँ नेपाल बनाउँछु भन्नेको अनुहार पनि देखियो । मैले सुसेलेको र नानीको बाउले गीत खाएको भनेर होच्याउनेको कद होच्चिएको पनि देखियो । विभिषणको मूर्ति बन्दैन, मूर्ति नभएपछि पूजा पनि हुन्न । चुनाव जितेकाहरू जनताको हनुमान बन्न सकेको भए तिनको मूर्ति बन्थ्यो, पूजा पनि हुन्थ्यो । आज चुनाव जितेकाहरू घृणाका पात्र बनेका छन् । चुनावबाट चरित्रहीन जितेपछि यस्तै हुन्छ । पटक पटक मौका पाए, प्रधानमन्त्री बने, सत्ताको गंगा नुहाएर देश र जनतालाई बैतर्णी तार्न होइन, आफै सम्भ्रान्त बन्न पो जनमत खर्च गरे । आज देशको स्थिति कालीप्रसाद रिजालको गीत ‘आँखाछोपी नरोउ भनी भन्नु प¥या छ’ भनेजस्तो भएको छ । जनता बिछट्टको छटपटीमा छन् । जनप्रतिनिधि देख्दैनन् ?
चित्रबहादुर केसीले राजनीतिको चित्र देखाएका छन्– संसद भनेको भेडी गोठ हो । कुनै दिन लौहपुरूषले उतिबेलै वाक्क भएर भनेका थिए– दालभात तरकारी, अरू सबै सरकारी । हो, आज नेपालमा सबै सरकारी भएको छ । सरकार अथवा नेकपाको निरंकूशता । कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए– कम्युनिष्ट शासनमा रून पनि पाइन्न । नभन्दै त्यही स्थिति पो सिर्जना भयो ।
नेकपा लोकतन्त्रमा चरित्रहीन रूपमा हिंस्रक बनेको छ । प्रधानमन्त्रीदेखि कुनै पनि मन्त्री इमान र चरित्रमा उभिएका छैनन् । तिनलाई भुइँमा न भाँडा...भन्दा हुन्छ । तिनको अभिव्यक्ति, व्यवहार र निर्णयहरूले नै पुष्टि गरेका छन् । आज जे छ, दलालहरूको छ, जसले शासन र प्रशासनलाई दलालको अड्डा बनाएका छन् । जनमत जनबलबाट जनताको शासन देखिनुपर्ने हो, जनता कोलमा तोरी पेलिएझैं पेलिएका छन् ।
लोकतन्त्र, संविधान दिवसमा एकजना जनता सहभागी हुँदैनन्, संविधान बिबादमा छ र संविधानलाई आमनागरिकले अपनत्व ग्रहण गरेकै छैनन् । तर प्रधानमन्त्री, पार्टी अध्यक्ष के के न उपलव्धि हासिल गरेझैं डुक्रिन्छन्– ५० वर्ष कम्युनिष्टको शासन चल्छ, कसैले हल्लाउन सक्दैन ।
लोकको सहभागिता बिनाको अहंकार । यही हो– लोकतन्त्र सुरक्षित, संरक्षित र प्रस्फुटित भएको विश्वास ?
हिजो नेकपा देशको डढेलो थियो, आज माओवादी–कांग्रेस सहितका १० दल दमकल बनेर सत्तामा छ, सत्तामा बसेर मात्तिदै आफै आत्मघाती आगलागीमा पर्न चुमुक चुमुक सलाईसँग खेलिरहेको छ । एउटा यक्ष सवाल १० दलीय सरकारका सामु खडा भएको छ– बारूणयन्त्र आफै आगलागीमा प¥यो भने आगलागी कसरी निभाउन सकिन्छ ?