Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

नारी सुन्दर फूल, नारीको दुश्मन नारी नै

देवी काफ्ले

०९ मंगलबार , आश्विन २०८०एक बर्ष अगाडि

नारी सुन्दर फूल, नारीको दुश्मन नारी नै

चाडबाड, तीज, पूजा, पर्व, जात्रा जुनसुकै ठाउँमा पनि नारीहरू धन, सुन, सारी, फेसनको प्रतिस्पर्धा गरिरहेका देखिन्छन् । महिलाको सुन्दरता महिला हुनुमा छ भन्ने सत्य स्वीकार गर्दैनन् । स्त्री सृष्टिको सबैभन्दा राम्रो र सुगन्धित फूल सृजना हुन् । उनी आफैमा यस्ती छिन्, उनको महिमा अनन्त छ । भनिन्छ स्त्रीको सुन्दरता उसको चरीत्रसँग जोडिएको हुन्छ । बाहिरी सुन्दरता त एकदिन ढलेर जान्छ तर भित्री सुन्दरता कहिल्यै मर्दैन । स्त्रीको अन्तरआत्मामा दया, प्रेम, क्षमा, करूणाको अथाह सागर हुन्छ । त्यसैले पनि उनी सुन्दर छिन् । यति सुन्दर हुँदाहुँदै पनि आफ्नो सुन्दरता नियाल्न भ्याएका हुदैनन् स्त्रीहरू । बुझ्ने बुझकीहरू हरेक स्त्रीलाई सुन्दर देख्छन् तर स्वयं स्त्रीहरू नै यो भ्रममा हुन्छन् कि आफ्नै भित्री रूपलाई नियाल्नै सक्दैनन् । उनिहरू बाहिरी सुन्दरताको खोजीमा भौंतारिएका हुन्छन् भने केही स्त्रीहरू आफ्नो शारीरिक र बाहिरी सजधजमा सुन्दरताको घमण्डमा बढी देखिन्छिन् ।
हरेक स्त्रीले सुन्दरता के हो ? आफैसँग प्रश्न गर्नुपर्छ र उत्तर पनि आफै खोज्नुपर्छ । यदि सहि जवाफ भेटियो भने उनले आफ्नो सुन्दरताको महत्व बुझ्नेछिन् र बजारिया वस्तु होस् या अर्काको झुठो तारिफबाट बच्नेछिन् । स्त्रीले आफ्नो सुन्दरता बाहिरी सतहमा भन्दा आन्तरिक सतहमा खोज्नुपर्छ । बाहिरी सुन्दरता त हरेक महिलामा हुन्छ । यो सामान्य कुरा हो । जोसँग साजसज्जा गर्न, नयाँ नयाँ लुगा लाउन पुग्ने पैसा हुन्छ उनीहरू बाहिरी रूपमा सुन्दर देखिन्छन् । जसले यी सुबिधा प्राप्त गरेका छैनन् के ती कुरूप हुन्छन् त ? हँुदैनन् । बजारी सामानले मात्रै सुन्दरताको मापन गर्नु भूल हो । किनकि महिला आमा हुन्, आमा सधैं सुन्दर हुन्छिन् । झुत्री मैली कुरूप भए पनि आमा त आमा हुन्, पृथ्वी हुन् । प्रत्येक नारीले यो यथार्थलाई बुझ्नुपर्छ । बुझ्न ढिला गर्नुहुन्न । किनकि समयले नारीलाई जोखिममा पार्दैछ ।
हिजोआज हुनेखाने नेपाली नारीहरू बाहिरी सुन्दरता खोज्न ब्यस्त भेटिन्छन् । सुन्दरताको बजारमा आयातित संस्कृति, देखावटी चमकधमकले राम्रै प्रभाव पारेको छ । अहिले थामी नसक्नु भएको एउटा आर्थिक बजार सुन्दरता खोज्ने नारीहरूको हातमा ढलपलाईरहेको देखिन्छ । महिना अनुसारका ड्रेस, भगवान अनुसारका गहना, चाडवाड अनुसारको घरायसी चहलपहल, चलनचल्तीका संस्कार आदीमा बेपर्वको खर्च, पश्चिमा संस्कृतिको कुप्रभावले र पैसा र फेसनको अहंकारले धेरै नारीहरूलाई बाहिरी सुन्दरताले र सजधजको अहंकारले गाँजेको छ, वास्तवमा यो सुन्दरता होइन । नारी जति सरल र सहज हुन्छिन्, उनी लक्ष्मीकै रूपमा पुजिन्छन् । महिलाको सुन्दरता सरलतामा हुन्छ । उनको सहजतामा छ, बुझौं ।
प्रेमको पर्याय नारी, सन्तुष्टिको पर्याय नारी, सहनशीलाको पर्याय नारी, विवेकको पर्याय नारी, परिपक्वताको पर्याय नारी, बुद्धि, परिश्रम, मेहनतकी पर्याय नारी, दयामाया, करूणाका पर्याय नारी हुन् । यिनै गुण नारीका सबैभन्दा सुन्दर आभूषण हुन् । स्वयं सृष्टिकर्ता नारी हुन् । उनले सृष्टि गरेका सन्तान दिव्य सुन्दर छन् तर पनि नारी आफ्नो सतही सुन्दता खोज्न किन भौंतारिन्छन् ? किन देखावटीमा रमाउँछन् । अचम्म छ । नारीले यो यथार्थलाई बुझ्न कदापि ढिला गर्नुहुन्न ।
आज पनि धेरै महिला सोच्ने गर्छन् कि उनीहरू पुरूषभन्दा कमजोर छन् । तर यो कुरामा सहमत जनाउन सकिन्न । एउटी निरक्षर आमाले छोराछोरी सफल डाक्टर, ईन्जिनियर, राजनितिज्ञ, प्रशासक र असल बनाउन सक्छिन् भने उनी कमजोर कहाँनेर हुन्छिन् ? नारीको वास्तविक सुन्दरता त्याग र तपस्या हो । नारीको उदारता हो । अनपढ आमाले दिने नैतिक शिक्षा विश्वका कुनै पनि जान्ने प्रोफेसरले दिन सक्दैनन्, यो ठोकुवा भन्न सकिन्छ । उनको अर्को सुन्दरता हो यो । एउटा पुरूषका लागि आमा बनेर ममताको धारा बहाउंछिन्, एउटी पत्नीको रूपमा असलसाथी र बलियो सहारा बनेकी हुन्छिन्, दिदीबहिनी र छोरीको रूपमा आँट र साहस बोक्ने सारथी बनेकी हुन्छिन् । नारी कसरी कमजोर हुन्छिन् ? नारीमा बिलक्षण सुन्दरता छ । प्रकृतिले भनु या सृष्टिले दिएको यति सुन्दर सुन्दरता छ, अनि आजकलका नारी कुन सुन्दरताको खोजीमा भौंतारिन्छन् ? नारीले सुन्दरता खोजे संसारकै सुन्दरता आफैमा पाउने छन् ।
वर्तमान समयमा समाजमा जे जति बिकृति भित्रिएका छन्, त्यसमा धेरै दोषी नारी छन् । असल शिक्षिका भएर पनि नारीले आफ्ना लागि खतरा आफै निम्त्याइरहेका छन् । एकातिर अशिक्षित समाज, अर्कोतिर नारीमा देखिएको बढ्दो उच्छृङ्खलता ? त्यसमाथि आधुनिक समाजमा बढेको पश्चिमा संस्कृतिको दुस्चक्र । समाजलाई स्वस्थ राख्न पुरूष बर्गमा नारीप्रति हेर्ने दृष्टिकोण र सम्मानभाव जगाउन सक्नुपर्छ भने नारीले पनि आफूलाई सक्षम र सुन्दर विचारमा परिभाषित गर्नुपर्छ, न कि आधुनिक फेसनमा ?