अख्तियारले पेट्रोलको कालोबजारी संगठित अपराध हो, ठूला घराना नै कालोबजारीमा संलग्न छन् भन्ने दावी गरेको छ। अख्तियारका अनुसार संगठित समूह र ठूला घरानाले ठूलो परिमाणमा डिजल, पेट्रोल, ग्यास नेपाल भित्रिरहेको छ र काठमाडौंलाई लक्ष्य गरेर विक्री वितरण गरिरहेका छन्। सरकारी अधिकारीहरु यो कालोबजारी रोक्न सक्रिय छैनन्। 'यो गम्भीर र संगठित अपराध हो। नेपाल सरकारका अधिकारी निदाएका छन् कि के गर्दैछन्?' अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले यसरी प्रश्न उठाएका छन्।
अख्तियारले मन्त्रिपरिषद, वाणिज्य विभाग, आयल निगम, राजधानीका सिडियोहरुलाई अख्तियारमै बोलाएर दुई हप्तादेखि निगरानी गरिरहेको र नियन्त्रण नगरे अख्तियार सक्रिय भएर कारवाही गर्ने चेतावनी दिएको स्पष्ट पारेको छ। प्रश्न के छ भने अख्तियारको काम चेतावनी दिनेमात्र हो कि देशको हाहाकारको स्थितिमा ९ हजारमा ग्यास, ५ सयमा पेट्रोल, २ सयमा डिजल र मटितेल खुलेआम कालोबजारी भइरहेको छ, त्यस्ता कालोजारीयालाई चिनेर पनि कारवाही गर्न नसक्ने अख्तियार संवैधानिक निकाय हो कि चेतावनी दिने निकाय? अख्तियारकै शव्दमा– तस्कर माफियाले ठूला घरानीयासँग मिलेर तस्करी काम गरिरहेका छन्। तस्कर अख्तियारले देखेको छ भने त्यो ठूला घरानीया र राज्य संयन्त्रका अधिकारीको कठालो समात्न अख्तियारले कुन भद्रो हेरिरहेको छ?
कुनै दिन अव ठूला माछा समात्छु भनेर फुइँकी हाँक्ने अख्तियार प्रमुख लोकमान सिंह कार्कीले अहिलेसम्म भुरा माछा पनि समात्न सकेको देखिदैन। अख्तियारमा हजारौं उजूरी परेका छन्, जनता भोकभोकै परेका छन्, बिरामीले ओखती पाइरहेका छैनन्, दाउरा किन्न नागरिकता बटुलेर बसेको सरकारले दाउरासमेत उपलव्ध गराउन सकेन, जहाँ पनि पहुँचवाला र भ्रष्टाचारीकै बोलवाला भइरहेको छ। अख्तियार लोकतन्त्रमा लूट चल्यो भन्छ, लुट्नेलाई समात्नै सक्दैन। आफै भन्छ: सरकारी अधिकारी नै तस्करीमा संलग्न छन्। सामाखुसीमा एसपी नै पेट्रोल कालोबजारीमा भेटिए, कालोबजार रोकिएन भने राज्य नै ठूलो समस्यामा पर्छ। अख्तियारजी, फेरि किन केही नगरेको? के नाटक देखाएको यो अख्तियारले? अख्तियारका अनुसार आयल निगमका कार्यकारी गोपाल बहादुर खड्कामाथि विशेष अनुसन्धान भइरहेको छ। यसमा अहिले केही भन्न मिल्दैन।
अख्तियारले राजनीतिक अस्थिरताका कारणले बढेको भ्रष्टाचार, तस्करी र माफियाकरणमा राज्य अधिकारीहरुको संलग्नतालाई यसरी चिन्ता प्रकट गरेरमात्र पुग्दैन। राज्यदोष देखेर पनि त्यो दोष निवारणका लागि अख्तियारले जबरजस्त कारवाहीको श्रृंखला चलाउन सक्दैन भने अख्तियारलाई सेतो हात्ती मान्दा फरक पर्दैन।
अख्तियार नापी शाखामा ५० हजारको भ्रष्टाचार समात्न दौडिरहेको छ। ५० लाख, ५० करोड, ५० अर्वको भ्रष्टाचारमा संलग्न बिग हाउस, ठूला माछा र ठूला कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई चेतावनी दिएर छाड्नु भनेको अख्तियार कमजोर भएको संकेत पनि हो। अख्तियार सुशासनका लागि बलियो हुनुपर्छ। बलियो हुने नाममा अख्तियार आफैले अख्तियारीको पूर्ण पालना गर्न सक्दैन भने त्यस्तो अख्तियारले मुलुकको शान्तिव्यवस्था, सुशासन र सेवाग्राहीलाई कुनै मद्दत गर्न सक्दैन। हाहाकारमा बाँचेकाहरु अख्तियार मजबुत भएको हेर्न लालायित छन्।