Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शंकै शंकामा छ यो दोस्ती

२९ सोमबार , श्रावण २०८०एक बर्ष अगाडि

शंकै शंकामा छ यो दोस्ती

काठमाडौं । कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन गत पुस १० मा पुनःस्र्थापित जनवादी र प्रजातन्त्रवादीको यो दोस्ती बिस्तारै विश्वासबाट शंकामा रुपान्तरण हुनथालेको देखिन्छ । कांग्रेस सभापति देउवापत्नी डा. आरजु देउवा भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा मुछिए पनि उनीमाथि केरकारसम्म भएको छैन । सय किलो सुनमा अर्थमन्त्री, गृहमन्त्रीमाथि अनेक शंका गरिए पनि माओवादी नेता वर्षमान पुन, कृष्णबहादुर महरा बाबुछोराको संलग्नता पुष्टी भइसके पनि नाटकीय रुपमा माओवादीले महरालाई आफ्नो प्रष्टिकरण दिन भनेको छ । तर ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा धेरैलाई मुछिएकै आधारमा अनुसन्धानका लागि पक्राउ गरेर जेलमा राखिएको छ । केरकारको छुट रामबहादुर थापाले पनि पाएका छन् ।
एकातिर भ्रष्टाचारको फाइल खोल्दा प्रचण्ड सरकारले वाहवाही पाइरहेको छ भने अर्कोतिर निरन्तर भइरहेका भ्रष्टाचार, तस्करीका जालो चुडाल्ने विश्वासमा आफ्नालाई छुट दिएकाले तुहिन थालेको पनि देखिन्छ ।
उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रमुख पतिपक्षी एमालेले राखेको मागमा सत्तारुढले पनि समर्थन गर्न थालेका छन् । रास्वपा र राप्रपाले पनि साथ दिएका छन् । अब सरकार चेपोमा परेको देखिन्छ । एमालेले त नैतिकहीनको आरोप लगाउँदै राजीनामा दिन समेत प्रम प्रचण्डलाई सुझाएका छन् ।
ठूलो सवाल र बबाल पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र माधवकुमार नेपाल ललिता निवास भूमाफिया प्रकरणमा मुछिएका छन् । माधव नेपाल विदेश पलायन भएका छन्, फर्किएका छैनन् भने बाबुराम भट्टराईले बयान दिन तैयार रहेको र सानो निर्णय भएको रहेछ भनेर अपराध स्वीकार गरेका छन् ।
सर्वोच्च अदालतले भ्रष्टाचारका मुद्दामा पिरामिडका आधारमा कारवाही गर्न आदेश दिएपछि सानालाई ऐन, ठूलालाई चैन हुने अवस्था अब रहेन । रौतहट नरहत्याका काण्डमा छानबिन गर्न सरकारले सहमति जनाएपछि सत्तारुढ जसपा झस्किएको छ, सरकार छाड्नेसम्मको घुर्की देखाउँदैछ । उपेन्द्र यादव पनि माखेसांग्लोमा फसेका छन् ।
छानबिनको क्रम अगाडि बढ्दा १० दलीय सरकार अप्ठेरोमा पर्दै गएको छ । तर प्रश्न उठेको छ– ३२ सिटे प्रधानमन्त्रीलाई यति ठूलो साहस कहाँबाट आइरहेको छ ? साना दलको झण्डै ४० सिटको समर्थन टुट्यो भने सरकार गर्लम्मै ढल्न सक्छ । यसैवीच कांग्रेसले सूत्र पठाएर एमालेसँग सत्ता साझेदारीको प्रसङ्ग अगाडि बढाएको छ ।
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको भनी सरकारले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेपछि भोलिपल्टै अदालतको आदेशबाट छाडेको विषयले कांग्रेसभित्र काल पस्यो भनेर प्रचण्डमाथि शङ्का बढाएको छ । त्यसै पनि बालकृष्ण खाणलाई निस्कासन नगर्नुले कांग्रेसको साख त्यसै पनि गिर्दै गएको छ । भ्रष्टाचार काण्डमा माओवादी नेतालाई नछुने, कांग्रेसका नेतालाई प्रतिशोध साध्ने आवाज कांग्रेसभित्र गगनभेदी रुपमै उठेको सुनिन्छ ।
अब सरकारका सामु उच्चस्तरीय आयोग गठन गरेर अवरुद्ध संसद खोल्नुको बिकल्प बाँकी देखिदैन ।
सत्ता गठबन्धन टुट्ने स्थितिमा पुगेको एक विश्लेषकले विश्लेषण गरेका छन् ।
प्रम प्रचण्डले गृहमन्त्रीलाई कांग्रेस सभापति भेट्न पठाएर खुश पार्ने नुस्खा प्रयोग गरेको बताइन्छ ।
प्रचण्ड २ वर्ष, देउवा २ वर्ष र माधव नेपाल १ वर्ष सत्ता चलाउने सहमति ललिता निवास प्रकरणले ध्वस्त हुने लक्ष्यण विकसित हुन थालेको छ । देउवा अब आफ्नो पालो आउन लागेकाले प्रचण्डसँग दूरी नबढाउने रणनीतिमा रहेको देखिन्छ ।
समष्टिमा भन्नुपर्दा राजनीतिले यू टर्न लिनसक्ने सम्भाबना बढेर गएको छ ।