मधेस आन्दोलनका क्रममा ९ सुरक्षाकर्मीसहित ५० मारिइसके। निरन्तर वार्ता भइरहेको छ, सहमति निस्कन सकेन। आरोप प्रत्यारोपको श्रृंखला रोकिएको छैन। यो कस्तो संघीयताको समस्या हो, जुन पहिले नामांकन र अहिले सिमांकनमा आएर गाँठो परेको छ र गाँठो फुकाउन राजनीतिक दलहरु सफल भइरहेका छैनन्? लोकका लागि भनिएको संघीयतामा लोक मारिइरहेका छन्। द्रुतगतिले संविधान जारी गर्ने अनि संविधानले लोकका आवाजलाई संवोधन गर्न नसक्ने हो भने ब्यालेटको बिकल्प बुलेट हुनजान्छ। भइरहेछ त्यही। हामीले बुलेट त्यागेर ब्यालेटको व्यवस्था अपनाएका हौं र ब्यालेट पद्धतिका लागि राजतन्त्र समेत किनारा लगाइदिएका हौं। फेरि किन गम्भीर चुक गर्यौं र ब्यालेटले घोषणा गरेको संविधानले मुलुकलाई रगतपच्छे पारिरहेको छ?
संविधान देशको मूल कानुन हो, मूल कानुनले देशका सबै भागलाई र देशका सबै बासिन्दालाई जोड्नुपर्छ। तर, एकथरि 'वेलकम इण्डिया भनेर मधेश आन्दोलन चर्काइरहेका छन्, दशगजामा धर्ना दिइरहेका छन् र यही कारण देखाएर भारत नाकावन्दी गरिरहेको छ। अर्काथरि नेपालमा भारतीय हस्तक्षेप किन भइरहेछ? हामी पेट्रोलसँग स्वाधीनता साट्दैनौं भनेर नाराबाजी गरिरहेका छन्। द्वन्द्व चर्कदै छ, लाठी चार्ज, टियरग्यास र गोली चलिरहेको छ र मर्ने मरिरहेका छन्। देश पीडा भोग्न बाध्य छ।
सामान्य नागरिकले ग्याँस पाएनन्। मटितेल, पेट्रोल र डिजलको हाहाकार छ। उद्योगधन्दा, स्कूल बन्द भइसके। नेपालको आर्थिक अवस्थालाई टाट पल्टाउन भारतले गर्नुसम्मको अमानवीयता देखाइरहेको छ। बिरामीका लागि औषधि छैन, अक्शिजन छैन, अस्पतालसमेत बन्द हुनथालेका छन्। युद्धमा समेत गर्न नपाइने सुगौली सन्धिअघिको जस्तो नाकावन्दी भारतले नेपालमाथि लादेको छ र नेपाली जनजीवन अस्तव्यस्त भइसकेको छ। मधेशको आन्दोलनले सयदिन नाघिसक्यो, भारतको नाकावन्दीले दुई महिनाको नेटो काटिसक्यो। आन्दोलनको आगो निभेन, डढेलो सल्कदैछ। निकास निकाल्न र देशलाई सहज पार्न केपी ओलीको सरकार पनि असफल भयो। सकेनन्, राजनीतिक परिवर्तन गर्ने नेताहरुले उत्पन्न राजनीतिक संकट निवारण गर्न सकेनन्। संघीयता राष्ट्रिय समस्या बनिसक्यो। ५० मारिइसकेका छन्। एकथरि आन्दोलन गर्ने र दबाउने नाममा र अर्कोथरि ओखतीमूलो, खाना नपाएर मर्दैछन्। नेपाललाई चिहान बनाउने कि चिरागको उज्यालो बनाएर नयाँ नेपाल निर्माण गर्नतिर लाग्ने? वर्तमान राजनीति र नेतृत्वसामु यक्ष प्रश्न खडा हुनपुगेको छ।
समस्या राजनीतिक हो। राजनीतिक समस्या सुल्झाउने जिम्मेवारी ठूला दलहरुको काँधमा छ। तर ठूला दलहरु जुँगाको लडाइ लडिरहेका छन्। मुलुकलाई अराजकतामा होमेर भोलिको संघीय शासन प्रणाली अनुकूल पार्ने व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रीत हुनु नेताहरुको ठूलो गल्ती हो। आफ्नो स्वार्थरक्षाका लागि केपी ओली सरकार अव सेना परिचालन गर्ने मूडमा पुगेको छ। प्रधानमन्त्रीपछि गृहमन्त्री सहमति हुन्न भने बल प्रयोग हुन्छ भनेर कुर्लिसकेका छन्। मधेशी मोर्चा र जनजातिले आन्दोलन चर्काउने भनेका छन्। अर्थात् मुलुक युद्धस्तरको असामान्य स्थितिमा पुगिसक्यो। लोकतन्त्रमा अरु कति लोक मारिने हुन्? बली चढाइने हो? मुलुक त्रासदीमय बनिसक्यो।
गृहयुद्ध हो यो। भारत नेपाली नेपाली जुधुन् भनेर मधेसलाई उक्साइरहेको छ। राज्यसञ्चालक बनेका ठूला दलहरु मधेशको उक्साहटमा मटितेल खन्याइरहेका छन्। राजनीतिक मुद्दाको त्यही स्तरमा संवोधन गर्न नसक्ने सत्तापिपासुहरु रक्तपिपासु ड्राकुल्ला बन्दै गएका छन्। यही कारण हो, कुनै व्यवधान नहुँदा पनि लोकसंविधान र लोकसम्मतिमा संघीय शासन प्रणालीको जग बसाल्न सकिरहेका छैनन्। स्वार्थभन्दा माथि उठ्न नसकेका नेताहरु राजनेता बन्न सक्दैनन्, हाम्रा नेताहरु स्वार्थका पुतला बनेका छन् र यिनले भन्ने गरेको संघीय शासन दीर्घायु नहुनेमात्र होइन कि नेपालको अस्तित्व नै संकटमा पर्ने मृत्युघण्ट बज्न थालिसक्यो। मृत्युघण्ट रोक्न छिटो निकास दिन जरुरी छ।