२०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरु गर्ने प्रचण्ड यतिबेला संसदीय राजनीतिको केन्द्रमा रहेका छन्। २०६३ साल मंसिर ५ गते जंगल छाडेर खुला राजनीतिमा प्रवेश गरेका हुन्। त्यसपछि लगातार प्रचण्ड किङपिनकै रुपमा रहेका छन्। उनको राजनीतिक क्षमता र साखमा हुनुसम्मको क्षति भइसकेको छ। प्रचण्डको पार्टी क्षमता घटेको छ तर सत्ता राजनीतिमा प्रचण्ड सफल छन्। उनले पटक पटक प्रधानमन्त्री बनाए, प्रधानमन्त्री हटाउने भूमिका पनि खेले तर प्रचण्ड खुशी छन् कि छैनन्? निश्चय नै सुकिलामुकिलाको कुरा गर्ने प्रचण्ड यतिबेला नवसम्भ्रान्त, नवसामन्त, सबैभन्दा सुकिलामुकिला बनेका छन्। माओवादी कार्यकर्ता केही सम्पन्न बने, केही अझै अभावको जीवन बिताइरहेका छन्। केहीलाई मातैमात छ, धेरैको पुर्पुरोमा हात छ। तथापि प्रचण्डलाई कम आँक्नु गल्ती हुनेछ। किनकि अहिले पनि राजनीतिमा सुनामी ल्याउने ताकत कायम राखेका छन् प्रचण्डले।
यसकारण प्रश्न उठ्छ– प्रचण्डको मन खुशी होला कि दुःखी। मान्छेको जात हो, मान्छेले कहिले पनि सुख लुकाउन सक्दैन। दुःख लुकाउन सक्षम छ मान्छे। प्रचण्डको मुखारविन्द, उनको हाउभाउ हेर्दा लाग्छ, उनीभित्र ग्लानी छैन। महत्वाकांक्षा बलबती छ, उनको मुहारमा तेज छ। ग्लानी भएको मान्छेको मनको अमिलो मुखमा देखिन्छ। प्रचण्डमा त्यस्तो ग्लानीबोधले डुबेकोजस्तो पटक्कै देखिदेन। जंगल पस्दाको आक्रोस प्रचण्डमा छैन। छाड्दाको उत्सुकता पनि प्रचण्डमा छैन। मात्र सत्ताको मोह, तीर्खा र सत्ताको करिडरमा रमाउने लालसामात्र देखिन्छ। के गुमाइयो, के कमजोरी भयो, गल्ती सच्याउने र आफू हिडेको जंगलीमार्ग करेक्शन गर्ने फुर्सदसमेत देखिदैन प्रचण्डलाई। प्रचण्ड आफैमा रमाइरहेछन्।