Advertisement Banner
Advertisement Banner

१० शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ढोलमात्र बज्यो, बागमती सफाइको

१५ सोमबार , जेठ २०८०एक बर्ष अगाडि

काठमाडौं । २०७० जेठ ५ देखि निरन्तर बागमती सफाइ अभियान चलिरहेकै छ । बागमती सफा हुनसकेन । श्रमजान र सरकारी बजेटको पर्याप्त सफाइ भयो ।
प्रत्येक शनिवार अभियानकै रूपमा चलाइएको सफाइमा समाजसेवी, युवा विद्यार्थी, प्रशासक, उद्यमी, व्यापारीमात्र होइनन्, सुरक्षा निकाय र कूटनीतिज्ञहरू समेत सामेल भएको देखिएकै हो । झण्डै १० वर्ष भइसक्यो सफाइ अभियान, यो अभियानले न राजधानीका बासिन्दामा चेतनाको विकास गर्नसक्यो, न बागमती सभ्यता बचाउन नै सक्यो । बागमतीलाई राजधानीबासीले ढलमती बनाए, बागमती प्रचार र भ्रष्टाचारको उपनाम बन्यो ।
सरकारले २०७३ सालमा स्वीकृत गरेर अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गठन गरेको थियो । यो समिति जुन पार्टीको सरकार बन्छ, त्यही पार्टीका नेता कार्यकर्ता पाल्ने पञ्चदेवल बन्यो । जहाँ हण्डी बाँडिन्छ, हण्डी खुवाउनु गरिन्छ । यही कारण हो १२ खर्ब खर्च भइसक्दा पनि बागमती ढलमती बन्न अभिशप्त देखिन्छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा दर्जनौं पार्टीका नेतृत्व फेरिने क्रम जारी छ । कुनै पनि नेतृत्वले यति काम गरें, बागमती यति सफाइ भयो भनेर भन्न सक्ने अवस्था अहिले पनि देखिदैन ।
समितिको काम भ्रष्टाचार गर्नु र कार्यकर्ता पाल्नु हो । समितिले जे गरोस्, प्रत्येक शनिवार बागमती सफाइ अभियान गराइन्छ । एक दिन बागमती सफा गरेर यति र उति टन फोहर सफा गरियो भन्ने प्रचार हुन्छ, हप्ताको ६ दिन तिनीहरूमध्येकै कतिपयले फोहर बागमतीमा फालिरहेकै हुन्छन् ।
प्रश्न छ– सरकार, सुरक्षा निकाय, कूटनीटिज्ञ, नागरिक समाज, स्कूले बालबालिका, कलेजका विद्यार्थी, एनजीओ, आइएनजीओलगायतका समाजका हरेक तह र तप्काका जो यही राजधानीमा बस्छन्, तिनले १० वर्षमा पनि बागमती सफाइ गर्न सकेनन् । आज पनि बागमतीमा दिशा पिसावको कालो झोल बग्छ । बागमती निवासीले ढल बागमतीमै मिसाउँछन् । यो असफलताको जिम्मेवारी कसले लिने ? जवाफदेहीता पन्छाउने बानीले बागमती सफा भएन । बागमती ढलमती बन्यो ।
राजधानीमा चेत बढी हुनुपर्ने हो, अचेतन बढी देखियो । राजधानीमा भ्रष्टाचार, अपराधतन्त्र ब्याप्त छ । चेतनाको यही स्तरले हो राजधानी सिनो गनाएझैं गनाउँछ ।
यही हो हाम्रो बागमती । अझै अक्सिजनविहीन मृत्यु बगिरहेको छ । कुकुर विरालाको लाशदेखि फोहर फाल्ने कन्टेनर बनेको छ बागमती । चिहानमा बाँचिरहेको बागमतीवासीको मन मुटुमा बागमतीको यो दुर्दशा अलिकति पनि दुख्दैन ।
दुई वर्ष अघि शंखमूलमा दीपप्रज्ज्वलन गरियो । १८ हजार टन फोहर झिकिएको फूइँकी लगाइयो । अहिले हेरौं बागमती सफा भएन, उस्तै छ । दुर्गन्धित छ बागमती । बागमती होइन, यहाँका बासिन्दा दुर्गन्धित भएका हुन् । सचेत बर्गले सुरू गवरेको सफाइ अभियानमा १ हजार ८ सय संघसंस्था सफाइमा जुटेका छन् । श्रमदानको मेहनत र सरकारको बजेट बालुवामा पानीहाले सरह भयो । सरकारी बजेटको दुरूपयोगको छानबिन हुनुपर्ने हो, कसले गर्ने ?
अभियन्ताहरू भन्छन्– सरकारले बागमतीमा मिसिने ढल व्यवस्थापन, सुकुम्बासी समस्या समाधान, वातावरण र नदीलाई प्राथमिकतामा नराखेसम्म बागमती पूर्ण रूपले सफा हुन सक्दैन । हामीले प्रतिकात्मक रूपमा काम गरिरहेका छौं, राजधानीमा बस्ने ५० लाखले गरेको फोहोर केही सय मानिसको सहभागीताले पूर्ण सफा गर्न सम्भव हुँदैन, त्यसका लागि सरकारी तत्परता आवश्यक हुन्छ । सरकारले काम गरेको बताउँछ । सरकारको मुख्य प्राथमिकता बाग्मतीलाई ढल मुक्त बनाउनु हो । ढल मुक्त गराउने सरकारको टाइम किटान गरिएको योजना किन आउन सकेन । बागमतीमारा कामले बागमती सभ्यता बच्ने देखिदैन ।